Advertisement

कोरोना रोकथामको कुनै तयारी छैन महोत्तरीमा

0 167

Advertisement

०४ माघ, जलेश्वर । महोत्तरीमा हालसम्म कोरोना सङ्क्रमण रोकथामको कुनै तयारी गरिएको छैन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसितको सीमामा सर्वसाधारण बिना रोकटोक आउजाउ गरिरहेका छन् ।

कोरोना सङ्क्रमणको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको जिल्लामा भारत प्रवेश गर्ने १३ नाका रहेका छन् भने ३८ किलोमिटर खुला सिमाना रहेको छ । सीमा नाकामा आवतजावत अव्यवस्थित हुँदा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिँदै गएको छ । सङ्क्रमितलाई नाकामा छुट्टै राख्ने व्यवस्था नहुँदा उनीहरू बस चढेर सिधैँ आ–आफ्ना गन्तव्यतर्फ लाग्ने गरेका छन् ।

जिल्लामा गतवर्ष कोरोनाबाट ९१ जनाको मृत्यु भएको थियो भने २० हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका थिए । गतवर्ष जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थाले समयमै कोरोना रोकथामको प्रयास नगर्दा धेरै मानवीय क्षति भएको थियो । जलेश्वर नगरपालिका–१ का रमन चौधरी नाकामा हालसम्म ‘होल्डिङ सेन्टर’ नबन्दा समस्या भएको बताउनुहुन्छ ।

यस्तै जलेश्वर नगरपालिका–२ का शिवचन्द्र चौधरी भारतसँग जोडिएको भिठामोड, मटिहानी, सम्सी, रघुनाथपुरलगायत नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले मास्क लगाए÷नलगाएको मात्र हेर्ने गरेको बताउनुहुन्छ । “दैनिक सयौं व्यक्ति ओहोरदोहोर गर्ने गरेका छन्, नाकामा भद्रगोल छ”, उहाँले भन्नुभयो । भीडभाडमा कोही पनि मास्क नलगाइकन खुलेआम हिँडडुल गरिरहँदा स्थानीय तहले उनीहरूलाई लक्षित गर्दै सूचनासमेत जारी गरेका छैनन् ।

पछिल्लो समय गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेका छन् । नियमित औषधिकै भरमा उनीहरू घरमै बसिरहेको पाइएको छ । जिल्लाका १५ स्थानीय तहले गतवर्ष नै आइसोलेशन निर्माण गरे पनि यसवर्षको कोरोना लहरमा हालसम्म कसैले सञ्चालन नगर्दा सङ्क्रमित कहाँ बस्ने अन्योल छ ।

जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोडमा अस्थायी रुपमा हेल्थ डेस्क सञ्चालन गर्दै आउनुभएका स्वास्थ्यकर्मी मोहम्मद इजाजुद्दिनका अनुसार अहिले सयौँको सङ्ख्यामा भारतीय पर्यटक खोप कार्डका आधारमा नेपाल भित्रिने गरेका छन् । नेपालीको हकमा भने सोधपुछ र लामो समय भारतमा बसेर आएको खण्डमा खोपकार्ड भए पनि एन्टिजेन परीक्षण गर्ने गरिएको छ । कोरोना पोजेटिभ नतिजा आएका नागरिक पनि सोझै घर जान थालेका छन् । उनीहरूलाई राख्न ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छैन ।

जिल्लाका स्थानीय तहलाई आइसोलेशन सेन्टर सञ्चालन गर्न र नाकाबाट आउनेलाई जाँच गरेर मात्र प्रवेश गर्न दिन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.