Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल नेतृत्वमा एमाले समाजवादी

0 335

०३ भाद्र, काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले विभाजित भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) गठन गरेपछि औपचारिक रुपमा एमाले विभाजित भएको हो। निर्वाचन आयोगमा दल दर्ता गराएपछि नेपालले केपी शर्मा ओलीले सडकमा फालेपछि बाध्य भएर नयाँ दल बनाएको बताएका छन्। उनले एमालेको लिगेसी आफूहरूसँग भएकै कारण एमाले छाड्न नसकेको र आफूले नेतृत्व गरेको दल क्रान्तिकारी धारको हुने दाबी गरेका छन्। ‘यो हाम्रो रहर होइन, बाध्यता हो। ओलीले सडकमा फालिदिएपछि यसै बस्ने कुरा भएन। नयाँ दल बनाउनु प¥यो’, अध्यक्ष नेपालले भने। एमाले समाजवादीको अध्यक्षमा नेपाल आफैं छन् भने वरिष्ठ नेता झलनाथ खनाल रहेका छन्।

नेपालले नयाँ पार्टी खोल्न ओलीले अंगीकार गरेको नीति, सिद्धान्त र विचारले बाध्य बनाएको बताएका छन्। बुधबार साँझ पार्टीका तर्फबाट नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यति बेला हाम्रो पार्टी नेकपा एमाले गम्भीर संकटबाट गुज्रिरहेको छ। यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहार हो। उहाँ पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौं महाधिवेशनबाट पारित गरिएका निर्णयअनुसार नचल्नु हो।’

नेपालले एमालेलाई नै पुनर्गठन गरेको दाबी पनि गरेका छन्। ‘नेकपा एमालेले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौं। त्यसका निम्ति नेकपा एमालेलाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ। नेकपा एमाले पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा एमालेबाट वैधानिक रुपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छाैँ’, विज्ञप्तिमा उल्लेख छ, ‘कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्नुहुन र सहयोग पुर्‍याउनुहुन सबैमा हार्दिक अपिल गर्दछौं।’

लामो समयदेखि नेपाललाई साथ दिएका केही नेताले नयाँ पार्टी दर्ता गर्ने क्रममा साथ छाडेका छन्। दोस्रो पुस्ताका नेताले साथ छाडेपछि निकै अप्ठेरोमा परेका नेपाललाई तेस्रो पुस्ताका नेताहरूले साथ दिएका छन्। देशभरबाट नयाँ र पुराना गरी ९५ जना नेताको हस्ताक्षरसहित नेता नेपाल आफैं निर्वाचन आयोग पुगेका थिए। नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपाल निकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ दिएनन्। दल दर्तामा उनीहरूको हस्ताक्षर रहेको छैन। 

केपी ओलीसँग जति असहमति र संघर्ष गरे पनि पार्टी विभाजन गर्न हुँदैन भन्नेमा स्थायी कमिटीका नेताहरू लगभग एकमत देखिएका थिए। त्यसपछि कतिपय नेता मोबाइल अफ गरेर बसेका थिए। उनीहरूको साथ नपाउने विषयमा मंगलबार नै जानकारी पाएका नेपालले साथ लिने कोसिस पनि गरेनन्। एमाले स्थायी कमिटीमा नेपाल पक्षका उनीसहित झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा छन्।  

तीमध्ये भुसाल र न्यौपाने मात्रै नेपालको साथमा देखिए। खनाल भने दिल्लीमा उपचाररत छन्।  वामदेव गौतमले पनि नेपाललाई साथ दिएका छैनन्।उनले पार्टी विभाजन भए नेपाललाई साथ दिने बताउँदै आएका थिए। तर उनी पनि बुधबार दिनभर चुपचाप रहे। बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाललगायतका नेताले निर्वाचन आयोगमा जाने केन्द्रीय सदस्यहरूको नाम प्रमाणीकरण सुरु गरेका थिए। यसअघि एमालेमा नेपाल समूह ८४ केन्द्रीय सदस्य रहेकोमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुग्दा ५७ जनामात्रै थिए।

पाँच दशकको सम्बन्धमा विभाजन

समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ। एमाले अध्यक्ष ओलीले नेपाललाई मंगलबार सांसद पदबाट हटाएपछि बुधबार उनी नयाँ दल दर्ता गर्न पुगे। यसपछि उनीहरूबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ। राजनीतिमा असम्भव भन्ने केही नभए पनि दुई वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यबाटै निलम्बन गर्ने तहसम्म पुगे भने नेता नेपालले पनि ओलीलाई गाली गर्नसम्म गरे। अब भने एमाले समाजवादीको अध्यक्ष र एमालेको अध्यक्षका रुपमा मात्रै उनीहरूको भेटघाट हुने भयो।

झापा आन्दोलन हुँदै कोअर्डिनेसन केन्द्रमा जोडिन आएका ओली र कोअर्डिनेसन केन्द्रबाटै पार्टी एकीकरण अभियान थालेका नेपालबीच करिब ४८ वर्ष लामो सम्बन्ध भए पनि एकै ठाउँ बस्न नसक्ने अवस्था पुगे। यसअघि कहिलेकाहीं मनमुटाब भइहाले पनि चाँडै मिलिहाल्थे। तर पछिल्लो खटपटले भने यी दुई नेतालाई अलग्याइदिएको मात्रै होइन, एमाले नै चोइटिन पुग्यो। नेकपा हुँदा ओलीलाई गरिएको कारबाही र एमाले ब्युँतिएपछि नेपालमाथि चलाइएको कारबाहीले ओली–नेपालको सम्बन्ध जटिल बन्न पुगेको थियो।

दुई वर्षअघि अर्थात् २०७६ भदौ ५ गते प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने क्रममा नेता नेपालले स्वास्थ्यलाभको कामना गरेका थिए। त्यसक्रममा तत्कालीन नेकपा सचिवालय बैठकमै उनीहरूबीच भनाभन भएको थियो। ओलीले आफू मरोस् भन्ने चाहेको जस्तो गम्भीर आरोप नेपालमाथि लगाएपछि विवादले चर्को रूप लिएको थियो। त्यति बेला बैठक आरम्भ गर्दा प्रधानमन्त्री ओलीले आफू सिंगापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा आफूसँग सहमति लिएर पार्टीले निर्णय लिन सक्ने बताएपछि नेपालले सबै समान तहका नेता भएकाले सहमति लिनुपर्ने आवश्यकता नरहेको प्रतिक्रिया दिँदा भनाभन भएको थियो। त्यसपछि उत्पन्न विवादले त्यति खेर अस्तित्वमा रहेको नेकपाभित्र दुई वर्षसम्मै किचलो भइरह्यो। जसले एमाले विभाजनको तहमा पुर्‍यायो।

ओली र नेपाल फरकफरक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। राजनीतिमा आउनुअघि केही समय बंैकका जागिरे नेपाल वाणिज्यशास्त्रमा स्नातक हुन्। उनी कुशल संगठक मानिन्छन्। उनी पार्टीमा तल्ला कमिटीदेखि नै जिम्मेवारी लिँदै सर्वोच्च पदमा आइपुगेका हुन्। ओली भने २०४४ सालमा १४ वर्षे जेलजीवनपछि सीधै केन्द्रीय कमिटीमा आइपुगेका थिए। भूगोलको जिम्मेवारी लिएर काम गरेको अनुभव ओलीको तुलनामा नेपालमा कैयौं गुणा बढी छ। हाल यी दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफूअनुकूल केन्द्रीकरण गर्न चाहने नेताहरू हुन्। ओली पहिलेदेखि नै संगठन गर्नेभन्दा पनि आफूलाई केन्द्रमा राखेर कुरा गर्न सक्ने खुबी भएका नेता हुन्। ओलीमा वाक्पटुता छ। उनी आफ्नो विचार र अडानमा स्पष्ट छन्। नेता–कार्यकर्तालाई उखान–टुक्का मिसिएको भाषण सुनाउन माहिर छन्। तर नेपालमा ओलीमा जस्तो वाक्पटुता छैन। नेपालमा सबैलाई मिलाएर लैजाने क्षमता भने छ। 

नेपालको राजनीतिमा उनले इमानदार नेताको छवि बनाएका छन्। २०६४ सालमा पार्टीले निर्वाचनमा पराजय भोगेपछि उनले पार्टी महासचिवबाट राजीनामा दिएका थिए। त्यस्तै २०६८ सालमा आफूविरुद्ध केन्द्रीय सदस्यहरूले सरकारबाट फिर्ता गर्न बैठक राख्ने जनाएपछि उनले प्रधानमन्त्रीबाट पनि राजीनामा दिएका थिए। करिब १४ वर्ष महासचिवका रूपमा पार्टीको नेतृत्व गर्दा नेपालको प्रतिस्पर्धा ओलीसँगै चल्यो। २०५६ सालको संसदीय चुनाव र सातौं महाधिवेशनका बेलामा पनि ओली–नेपालबीच नै अन्तरविरोध देखा परेको थियो। 

त्यस बेला नेपाल महासचिव थिए भने ओली संसदीय दलको नेता बन्न चाहेका थिए तर नेपालले दिएनन्। त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेका हुन्। २०७० सालको संसदीय दलको चुनावपछि पनि यी दुई नेताका बीच तिक्तता देखियो। पार्टीको आठौं महाधिवेशनमा ओलीलाई काँध थापेका नेपाल संसदीय दलको चुनावमा तत्कालीन अध्यक्ष खनालका पक्षमा थिए तर बाजी ओलीले मारे। ‘नेतृत्व हस्तान्तरण, उमेर पुगेका नेताहरूको अवकाश र नयाँ पुस्तालाई अवसर’ भन्ने नारा लिएर ओली दलको चुनावमा खनालसँग भिड्न पुगेका थिए।

२०४८ यता पार्टी नेतृत्वमा रहेका व्यक्ति नै संसदीय दलको नेता बन्ने परम्परा एमालेमा थियो। त्यो ओलीले भंग गरिदिए। पार्टी अध्यक्ष खनाललाई ओलीले संसदीय दलको चुनावमा पराजित गरे। ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा सत्ता सहयात्री तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरायो। त्यस बेला नेपालले ओलीको बचाउ गर्नुको सट्टा संसद्मा कार्यशैलीगत कमजोरीको प्रश्नमात्रै उठाइदिए। त्यसपछि त झन् ओली–नेपाल द्वन्द्व अस्वाभाविक रूपमा चुलियो।

नेपालले ओलीलाई सहयोग गरेका उदाहरण पनि छन्। २०६२/६३ सालको जनआन्दोलनपछि १५ वैशाखमा तत्कालीन एमालेको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकमा ओलीमाथि गणतन्त्रविरोधी भएको आरोप लागेको थियो। त्यति बेला धेरै नेताले सरकारमा जाने रहर गरेका थिए। रहर गर्नेमा ओली, झलनाथ खनाल, ईश्वर पोखरेल, अमृत बोहोरालगायत थिए। त्यति बेला नेपालले ओलीको नाम प्रस्ताव गरे। ओलीको नेतृत्वमा एमाले सरकारमा सहभागी बन्यो। दोस्रोपटक प्रधानमन्त्री बन्ने बेला पनि ओलीलाई नेपालले सहयोग गरेका थिए। नेपालकै प्रस्तावमा ओली प्रधानमन्त्री भएका हुन्। यद्यपि २०७१ सालमा एमालेको नवौं महाधिवेशनमा नेपाल ओलीसँग पराजित भए। करिब ४३ मतले मात्रै पराजित भएका नेपाललाई ओलीले भित्तामै पुग्नेगरी पेलेपछि एमालेभित्र अलगअलग भेला, सम्मेलन र कार्यक्रम गर्नेसम्मको अवस्था आइपुगेको थियो, जसले अन्ततः विभाजनमै पुर्‍यायो।

यी हुन् ९५ जना केन्द्रीय सदस्य

१. माधवकुमार नेपाल

२. झलनाथ खनाल

३. मुकुन्द न्यौपाने

४. प्रदीप नेपाल

५. बेदुराम भुसाल

६. प्रमेशकुमार हमाल

७. राजेन्द्रप्रसाद पाण्डे

८. विजयकुमार पौडेल

९. गंगालाल तुलाधर

१०. प्रकाश ज्वाला

११. नागेन्द्रप्रसाद चौधरी

१२. जयन्ती राई

१३. तुलबहादुर गुरुङ

१४. जगन्नाथ खतिवडा

१५. प्रतापलाल श्रेष्ठ

१६. जीवनराम श्रेष्ठ

१७. धर्मनाथप्रसाद साह

१८. रामप्रित पासवान

१९. रामचन्द्र यादव

२०. यदुवंश झा

२१. रत्नेश्वर गोइत यादव

२२. श्रीप्रसाद साह

२३. रविन्द्र बैठा धोवी

२४. लक्ष्मण पौडेल

२५. मदनकुमारी शाह (गरिमा)

२६. देवशंकर पौडेल

२७. विरोध खतिवडा

२८. मेटमणि चौधरी

२९. विश्वनाथ प्याकुरेल

३०. प्रेमलकुमार खनाल

३१. विजय गुरुङ

३२. सावित्रा भुसाल

३३. रामकुमारी झाँक्री

३४. गौरा प्रसाईं कोइराला

३५. रामकुमार ज्ञवाली

३६. खगेन्द्र चुडाल

३७. सरलाकुमारी यादव

३८. सुधिरप्रसाद साह

३९. कल्याणीकुमारी खड्का

४०. शत्रुधन महतो

४१. रामचन्द्र साह

४२. दिनेशकुमार राई

४३. हंशबहादुर शाही

४४. शेरबहादुर केसी

४५. निरादेवी जैरु

४६. प्रेमबहादुर आले

४७. भागवत नेपाली

४८. चुडामणि विक जंगली

४९. घनेन्द्र बस्नेत

५०. राजेन्द्रकुमार राई

५१. बलदेव चौधरी

५२. देउमान सम्बाहाम्फे

५३. भाष्कर काफ्ले

५४. कृष्णप्रसाद खनाल

५५. रविन कोइराला

५६. महम्मद महफुज अन्सारी

५७. केशवलाल श्रेष्ठ

५८. नरेश खरेल

५९. भानुभक्त जैसी

६०. चन्द्रबहादुर शाही

६१. दिलकुमारी पन्त

६२. बलराम बास्कोटा

६३. वसन्तप्रसाद मानन्धर

६४. महेश रेग्मी (मोरङ)

६५. श्रीनाथ बराल

६६. शारदाप्रसाद सुवेदी

६७. गोविन्द कोइराला (बाँके)

६८. सुरेश कार्की (उदयपुर)

६९. पुरुषोत्तम पौडेल (बारा)

७०. उर्वादत्त पन्त (कञ्चनपुर)

७१. दलबहादुर सुनार (बाँके)

७२. गणेश काङमाङ (पाँचथर)

७३. प्रभा बज्राचार्य (काठमाडौं)

७४. मुनु सिग्देल (मकवानपुर)

७५. उषा पोखरेल (सप्तरी)

७६. रमा आले मगर (काठमाडौँ)

७७. रिता रावल (जाजरकोट)

७८. माया भट्ट (वैतडी)

७९. पूर्णा जोशी (डोटी)

८०. कृष्णा राई

८१. विद्या चामलिङ (मोरङ)

८२. रेखा थापा बस्याल (तनहुँ)

८३. शर्मीलादेवी पौडेल क्षेत्री (स्याङ्जा)

८४. राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)

८५. अनारकली मिया (दाङ)

८६. देवी ओली (रुकुम)

८७. नन्दा शर्मा चपाईं (सुर्खेत)

८८. दुर्गा परियार (उदयपुर)

८९. कौशिला सिंह (बर्दिया)

९०. यमुना भुसाल (अर्घाखाँची)

९१. उदया शर्मा (काठमाडौं)

९२. आशा यादव (सिराहा)

९३. गोमा विष्ट (मकवानपुर)

९४. सीता बस्याल (चितवन)

९५. विभा कार्की (पर्सा)

नागरिबाट



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.