उत्कृष्ट ‘दी ओडिसी’

१५ साउन, काठमाडौँ । युद्ध एउटा विनाशकारी अनुभव हो, जसमा विजयी हुनेले पनि अन्त्यमा केही न केही गुमाउनै पर्छ । चाहे ती कलिङ युद्ध जितेर वास्तवमा ‘हार्ने’ सम्राट अशोक हुन् वा ग्रीक पौराणिक कथाको सबैभन्दा चर्चित द्वन्द्व मानिने ट्रोजन युद्धका नायक ‘ओडिसियस’ ।

थाकाका राजा ओडिसियस एक बुद्धिमान् र साहसी योद्धा थिए, जसले ट्रोयका अभेद्य पर्खाल तोड्न आफ्नो चतुरताको प्रयोग गरे । एउटा विशाल काठको घोडाभित्र आफ्ना सैनिकलाई लुकाएर उनी किल्लाभित्र प्रवेश गर्न र विजयको अविस्मरणीय गाथा कोर्न सफल भएका थिए । दशकौँ लामो युद्धमा विजय हासिल गरेपछि पनि ओडिसियसले घर फर्कने यात्रा तय गर्न बाँकी नै थियो । ग्रीक लेखक होमरले आफ्नो महाकाव्य ओडिसीमा विस्तृत वर्णन गर्नुभएको छ । निर्माता व्रिmस्टोफर नोलनले यो कालजयी कथालाई ठुलो पर्दामा उतार्नुभएको छ । ‘ओडिसी’ जस्तो अमर कथालाई चलचित्रको माध्यमबाट न्याय गर्नु नोलन जस्ता प्रतिभाशाली व्यक्तिले मात्र गर्न सक्ने काम हो भन्दा फरक नपर्ला ।

ट्रोजन युद्ध समाप्त भइसकेको छ । इथाकाका राजा ओडिसियस (म्याट डेमन) अब घर फर्कन चाहन्छन्, तर उनको यात्रा सहज छैन । समुद्रमा आउने आँधीबेहरीले उनको बाटो छेक्छ र समुद्रका देवता पोसिडन पनि उनीविरुद्ध छन् । हरेक पाइलामा नयाँ नयाँ खतराले उनको प्रतीक्षा गरिरहेका छन् । आफ्नो यात्राका क्रममा उनको भेट पोलिफेमस नामक एउटा मात्र आँखा भएको साइक्लोप्ससँग हुन्छ । उनलाई जादुगर सिर्सीले पनि रोक्ने प्रयास गर्छिन् । अनेकन् किसिमका बाजाका रहस्यमय आवाजले उनलाई मृत्युको मुखतर्फ डो¥याउँछ । निम्फ क्यालिप्सोले उनलाई केही वर्षसम्म आफ्नो टापुमा रोकेर राख्छिन् । सबै कठिनाइका माझ ओडिसियसले आफ्ना सहयात्रीलाई पनि गुमाउँछन् । तैपनि उनी हार मान्दैनन्, जस्तोसुकै परिस्थितिमा पनि घर पुग्ने कुरामा मात्र उनको दृढता कायम छ ।

यता इथाकामा उनकी श्रीमती पेनेलोप (एन ह्याथवे) बर्सौंदेखि ओडिसियसको प्रतीक्षा गरिरहेकी छिन् । धेरै पुरुष उनीसँग विवाह गरेर राजा बन्न चाहन्छन्, तर पेनेलोपले अस्वीकार गर्छिन् । उनका छोरा टेलिमाक्स (टम हल्यान्ड) पनि हुर्किसकेका छन् र आफ्ना बुवाको खोजीमा निस्कन्छन् । धेरै वर्षपछि आफ्नो राज्यमा फर्किंदा ओडिसियसलाई कसैले चिन्दैनन् । उनी एक वृद्ध भिखारीको भेषमा दरबारभित्र प्रवेश गर्छन् । त्यहाँबाट कथाले नयाँ मोड लिन्छ । आफ्ना छोरा र केही साथीको सहयोगमा उनी आफ्नो गुमेको राज्य पुनः प्राप्त गर्ने प्रयास गर्छन् । अन्ततः उनी सफल हुन्छन् वा हुँदैनन् भन्ने नै चलचित्र ‘दी ओडिसी’ को रोचक पक्ष हो ।

चलचित्रको मुख्य आकर्षण भनेकै म्याट डेमन हुनुहुन्छ । उहाँले सङ्घर्ष, थकान र घर फर्कन चाहनालाई उत्कृष्ट ढङ्गले चलचित्रमा प्रस्तुत गर्नुभएको छ । कतिपय अवस्थामा त उहाँका अनुहारका हाउभाउले नै धेरै कुरा व्यक्त गर्छन् । साथै उहाँले चलचित्रको सम्पूर्ण भावनात्मक भारलाई कुशलतापूर्वक समाल्नुभएको छ । एन ह्याथवेलाई पर्दामा धेरै समय दिइएको छैन, तथापि उहाँको अभिनय तारिफयोग्य छ । उहाँ र म्याट डेमनबिचका दृश्यले चलचित्रलाई भावनात्मक गहिराइतर्फ मोड्ने काम गर्छ । टम हल्यान्डबाट अभिनय भने अपेक्षाभन्दा कम छ ।

ओडिसियसको रोमाञ्चक यात्राको तुलनामा टेलिमाक्सको कथा फिक्का लाग्छ । टमले आफ्नो तर्फबाट पूर्ण प्रयास गर्नुभएको छ तर पात्रको लेखनले उहाँलाई वास्तवमै उत्कृष्ट छाप छोड्ने अवसर दिएको छैन । रोबर्ट प्याटिन्सनलाई नकारात्मक भूमिका सुहाएको छ । एथेनाको भूमिकामा जेन्डाया पनि उत्कृष्ट देखिनुभएको छ । चार्लिज थेरोन, लुपिता न्योङओ र जोन बर्नथलले पनि आआफ्ना भूमिकामा न्याय गर्नुभएको छ । निर्देशक व्रिmस्टोफर नोलनको विशेषता भनेको कथालाई सुसङ्गत रूपमा अघि बढाउन सक्नु नै हो । जुन चलचित्रभित्र स्पष्ट झल्कन्छ । चलचित्र बुझ्नका लागि होमरको पुस्तक पढिरहनु आवश्यक छैन । यदि दर्शकले यसअघि दी ओडिसीका बारेमा सुन्नुभएको छैन भने पनि यसको कथा बुझ्न सजिलो छ । निर्देशक नोलनले यसलाई सरल र स्पष्ट ढङ्गले प्रस्तुत गर्नुभएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours