अल्पाइन क्लब अफ पाकिस्तानले घटनाको निरन्तर निगरानी गरिरहेको र थप जानकारी प्राप्त हुनेबित्तिकै सार्वजनिक गर्ने जनाएको छ।
१५ साउन, काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार हिमपहिरो गएपछि प्रसिद्ध नेपाली पर्वतारोही निम्स दाई (निर्मल पुर्जा)सहित करिब १० जना आरोहीसँग सम्पर्क विच्छेद भएको छ। उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।
जियो न्युज पाकिस्तान र पाकिस्तान टुडेकाअनुसार, पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानले प्राप्त प्रारम्भिक विवरणअनुसार स्थानीय समयअनुसार विहिबार दिउँसो हिमपहिरो खसेपछि अभियानमा सहभागी सम्पूर्ण टोलीसँग सम्पर्क टुटेको हो। क्लबले घटनालाई अत्यन्त गम्भीर भन्दै टोलीका सबै सदस्यसँग सम्पर्क हुन नसकेको जनाएको छ।
सम्पर्कविहीन टोलीमा निम्स दाईको नेतृत्वमा रहेका पाँच नेपाली आरोही, पाकिस्तानको हुन्जाका सोहेल साखी, ओमानकी आरोही नधिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चिनियाँ आरोही मिस्टर वाङ तथा अर्का एक विदेशी आरोही रहेका छन्।
पाकिस्तान टुडेका अनुसार, हिमपहिरोपछि खोज तथा उद्धार अभियानको तयारी सुरु गरिएको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका अन्य वरिष्ठ पदाधिकारीहरू सरकारी निकाय र सम्बन्धित एजेन्सीसँग समन्वय गरी तत्काल उद्धार अभियान सञ्चालन गर्ने प्रयासमा जुटेका छन्।
अल्पाइन क्लबले जारी गरेको विज्ञप्तिमा मौसम र सञ्चालन अवस्थाले अनुमति दिएलगत्तै हेलिकप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्न हरसम्भव प्रयास भइरहेको उल्लेख गरिएको छ।
दुवै सञ्चारमाध्यमका अनुसार, ब्रड पिक बेस क्याम्पमा रहेका सदस्यहरूले पनि आरोहीहरूसँग धेरै घण्टादेखि सम्पर्क हुन नसकेपछि तत्काल हेलिकप्टरमार्फत उद्धार अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।
अल्पाइन क्लब अफ पाकिस्तानले घटनाको निरन्तर निगरानी गरिरहेको र थप जानकारी प्राप्त हुनेबित्तिकै सार्वजनिक गर्ने जनाएको छ।
ब्रड पिक विश्वको १२औँ अग्लो हिमाल हो। पाकिस्तानको उत्तरी काराकोरम क्षेत्रमा अवस्थित यो ८,०४७ मिटर अग्लो हिमाल उच्च हिमाली आरोहणका लागि सबैभन्दा कठिन र चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ।


+ There are no comments
Add yours