१२ कार्तिक, काठमाडौँ । दसैँको रौनक छाएको असोजमा समेत वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा वृद्धि भएको छ । देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा चाडबाडको प्रवाह नगरी रोजगारीको खोजीमा बिदेसिनेको सङ्ख्या बढेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । यो सङ्ख्या चालु आवको पहिलो तीन महिना (साउन, भदौ र असोज) मध्येकै सबैभन्दा उच्च हो ।
यसअघि साउन महिनामा ७० हजार ४४१ जना र भदौ महिनामा ६० हजार ४२ जना वैदेशिक रोजगारीमा गएका थिए । चालु आवको प्रथम त्रैमासिक अवधिमा कुल दुई लाख चार हजार २४८ युवाले श्रम स्वीकृति लिएर देश छाडेका छन् ।

विभागका महानिर्देशक नवराज ढकालले देशमा रोजगारी नभएपछि मुखमा आएको दसैँको समेत प्रवाह नै नगरी परिवार छोडेर रोजगारीको खोजीका लागि विदेश जाने व्रmम नरोकिएको पछिल्लो श्रम स्वीकृतिको तथ्याङ्कले पुष्टि गरेको बताउनुभयो । चाडपर्वभन्दा रोजगारीलाई पहिलो प्राथमिकता दिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।
विभागका अनुसार असोजमा वैदेशिक रोजगारीमा जानेमा पुरुषको सङ्ख्या ६३ हजार ८४२ र महिलाको सङ्ख्या नौ हजार ९२३ रहेको छ । यसै गरी कुल प्रस्थान गरेका मध्ये ३९ हजार २४८ जनाले नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन् भने ३४ हजार ५१७ जनाले पुनः श्रम स्वीकृति (नवीकरण) मार्फत वैदेशिक रोजगारीमा फर्किएका छन् ।
नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पहिलो स्थानमा देखिएको छ । असोज महिनामा मात्रै युएईमा २३ हजार ८९९ जना नेपाली रोजगारीका लागि पुगेका छन् । दोस्रो स्थानमा रहेको कतारमा ११ हजार ४९७ जना, तेस्रो स्थानमा रहेको मलेसियामा नौ हजार ६५३ जना र चौथो स्थानमा रहेको साउदी अरबमा आठ हजार ३६६ जना नेपाली युवा पुगेका छन् । नेपाली मुख्यतया निर्माण, सेवा, उत्पादन तथा यातायात क्षेत्रमा साधारण श्रमिक, सुरक्षागार्ड, क्लिनर र चालकका रूपमा कार्यरत हुन जाने गरेको विभागको विवरणमा उल्लेख छ ।
जिल्लागत विवरण अनुसार असोज महिनामा सबैभन्दा बढी झापा जिल्लाबाट तीन हजार ४९० युवा वैदेशिक रोजगारीमा गएका छन् । यस्तै दोस्रो स्थानमा रहेको धनुषाबाट तीन हजार ३२६ युवा र तेस्रो स्थानमा रहेको मोरङ जिल्लाबाट तीन हजार १७७ युवा वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिएका छन् ।
चाडबाडको समयमा आफ्नो परिवार र जन्मभूमि छाडेर रोजगारीका लागि खाडी मुलुक तथा मलेसियातर्फ लाग्नुपर्ने बाध्यताले देशभित्र दिगो रोजगारी सिर्जनामा अझै चुनौती थपिएको छ ।


+ There are no comments
Add yours