१२ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज हुने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे उनीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार, १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथमा बोलाइएको छ ।
दशैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका सभापतिमा निर्वाचित गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यलाई शपथग्रहण गराउनेछन् । सभापति थापाले दशैँको फूलपातीका दिन अर्थात् असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए ।
शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ ।
निर्वाचन समितिले गत सोमबार नै सूचना प्रकाशित गरेर १५ औं महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोह उपस्थित हुन भनेको थियो ।
१८–२३ असोजमा सम्पन्न कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ ।
बाँकी सदस्य मनोनीत गर्न आजै केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।


+ There are no comments
Add yours