Advertisement

एपिएफलाई हराउँदै पुलिस मेयर कप च्याम्पियन!

0 409

Advertisement

२९ फागुन, काठमाडौं । विभागीय प्रतिद्वन्दी एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पुलिसका बलर चम्किएपछि एपीएफमाथि सहजै जित हात पारेको हो ।

युवा फास्ट बलर गुल्सन झा र सागर ढकाले ४-४ विकेट लिएपछि एपीएफले १०५ रनमै अलआउट भएको थियो । जवाफमा पुलिसले २४.१ ओभर खेल्दै २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पुलिसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । दिपेन्द्र सिंह ऐरीले २५औं ओभरको पहिलो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै जित निश्चित गरेका थिए ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो संस्करणको मेयर्स कप जित्दै पुलिसले नगद ५ लाख रुपैयाँ हात पार्‍यो । उपविजेता एपीएफले ३ लाख पायो । पुलिसले फाइनल जित्दै लिग चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

पुलिसले गत वर्ष तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेयता पहिलो पटक ५० ओभरको क्रिकेटको उपाधि जितेको हो । उता एपीएफले भने लगातार दुईवटा एकदिवसीय क्रिकेटमा उपविजेतामै चित्त बुझाउनुपर्‍यो । माघमा भएको प्रधानमन्त्री कपको फाइनलमा एपीएफ त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।

एपीएफको दिएको समान लक्ष्य पछ्याएको पुलिसका लागि सुनिल धमला र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरेका थिए । कुशल ११औं ओभरमा भुवन कार्कीको बलमा बोल्ड भए । कुशलले १५ रन जोडे ।

यस्तै दोस्रो विकेटका लागि सुनिल र अनिल शाहले ३५ रनको साझेदारी गरे । अनिल १५ रन बनाएर आउट भए । ओपनर सुनिलले अविजित रहँदै ५९ रन बनाए । उनले ८२ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

एपीएफका लागि भुवन कार्की र अभिनाश बोहराले १-१ विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो ।

एपीएफका लागि वसन्त रेग्मीले बनाएको २२ रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । यस्तै सन्दीप जोरा र अमर राउटेलाले १८-१८, भुवन कार्कीले १४ र अभिनाश बोहराले १२ बनाए । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले सुरुवाती तीन ओभरमा लगातार विकेट गुमायो । पहिलो ओभरमा शंकर राना ४ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरको तेस्रो बलमा आउट भए । तेस्रो ओभरमा कप्तान शरद भेषावकर पनि खाता नखोली आउट भएपछि एपीएफले १० रन हुँदा ३ विकेट गुमायो ।

त्यसपछि भुवन कार्की र सन्दीप जोराले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर ३२ रनको साझेदारीपछि भुवन कार्की नवौं ओभरमा आउट भए । भुवनलाई गुल्झन झाले विकेटकिपर दिलिप नाथबाट क्याचआउट गराए ।

१३औं ओभरको पहिलो बलमै ललित राजवंशीले सन्दीपलाई एलबीडब्लु गरेपछि एपीएफले ४७ रनमा ५ विकेट गुमायो ।

एपीएफको विकेट जाने सिलसिला रोकिएन । २०औं ओभरमा सुमित महर्जन ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । त्यसपछि सातौं विकेटका लागि अमर राउटेला र वसन्त रेग्मीले ३० रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए । तर २८औं ओभरमा अमर १८ रन बनाए रसागर ढकालको बलमा बोल्ड हुँदा एपीएफले सातौं विकेट गुमायो । वसन्त रेग्मी पनि त्यही ओभरमा एलबीडब्लु धरापमा परे ।

वसन्त आउट हुँदा एपीएफको अवस्था ९२-८ थियो । लगत्तै अर्को ओभरमा स्कोर ९२ रन नै हुँदा कमल ऐरी गुल्सन झाको बलमा अनिल शाहद्वरा क्याचआउट भएपछि एपीएफले नवौ विकेट गुमायो ।

अर्को ओभरमा अभिनाश बोहरा १२ रन बनाएर सागर ढकालको बलमा गुल्सन झाद्वारा क्याचआउट भए ।

एपीएफलाई सामान्य स्कोरमा अलआउट गर्न पुलिसका सागर ढकाल र गुल्सन झाले समान ४ विकेट लिए । सागरले ७.४ ओभर बलिङ गर्दै २८ रन मात्र खर्चिए । ७ ओभर नै बलिङ गरेका गुल्सनले ३६ रन खर्चिए । यस्तै पवन सर्राफ र ललति राजवंशीले किफायती बलिङ गर्दै समान १ विकेट लिए । पवनले ७ ओभरमा मेडन राख्दै २० रन खर्चिए भने ललितले ५ ओभरमा २ मेडन राख्दै जम्मा १० रन खर्चिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.