मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन २८१ जनाको आवेदन
०६ साउन, सिन्धुपाल्चोक । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन २८१ जनाको आवेदन परेको छ । कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र अन्य स्थानियका लागि यस अघि विक्री स्थगित गरेको आईपीओ पुनः विक्रीमा ल्याएको हो ।
पहिलो दिन आयोजना प्रभावित ३७ जना स्थानियबाट रू. १० लाख ५६ हजार बराबरको १० हजार ५६० कित्ताका लागि र अन्य २४४ जिल्ला वासिन्दाहरुबाट रू. ५९ लाख ७० हजार बराबरको ५९ हजार ७०० कित्ताका लागि आवेदन परेको हो । यसरी हेर्दा पहिलो दिनमै कम्पनीको आईपीओ खरिदका लागि कुल २८१ जना आवेदकहरुबाट रू. ७० लाख २६ हजार बराबरको आवेदन परेको छ ।
कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै यस आईपीओ खरिदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।
साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । यस अघि बैशाख २१ गतेदेखि २३ गतेसम्म आवेदन दिएका आवेदकहरुले भने पुनः आवेदन दिनुनपर्ने समेत कम्पनीको भनाई छ ।
यो आईपीओ छिटोमा साउन १७ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ३२ गतेसम्म विक्रीमा रहने कम्पनीको भनाई छ । आईपीओ खरिदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ ।