पूर्वमन्त्री बस्नेतले लिए आत्मदाह गरेका आचार्यका छोरीहरूलाई पढाइदिने जिम्मा
१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाह गरेका स्व प्रेमप्रसाद आचार्यका छोराहरूलाई पढाइदिने घोषणा गरेका छन्।
कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका बस्नेतले शनिबार स्व आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै दुई छोरीको पठनपाठनको जिम्मा आफूले लिने बताएका हुन्।
भेटमा पूर्वमन्त्री बस्नेतले स्व आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए। “स्व आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ”, पूर्वमन्त्री बस्नेतले भने।
आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीलेसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा ११ गते बिहान मृत्यु भएको थियो।