बडा दशैंको मुख्य दिन आज ः कता फर्केर लगाउने टिका ? यस्तो छ शुभ साइत र टिका विधि

०४ कार्तिक, काठमाडौँ। बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिनेछ। उत्तम साइत खोज्नेहरूका लागि समितिले बिहान १० बजेर २६ मिनेटको समय निर्धारण गरेको छ।

समितिका अनुसार दशैंको टीका लगाइदिने व्यक्ति पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्नेछ। पितृकर्मका बेला दक्षिण फर्किने चलन रहे पनि दशैँको टीका लगाउँदा दक्षिण फर्किने परम्परा छैन।

कलशको जल र जमराको विशेष महत्व

धार्मिक मान्यताअनुसार देवी विसर्जनपछि कलशमा राखिएको जल पवित्र मानिन्छ। उक्त जलले अभिषेक गरी इष्टदेवता र कुलदेवताको स्मरण गर्दै जमरा काट्ने तथा घरको मूल ढोकामाथि टीका लगाउने परम्परा छ।

त्यसपछि गुरुपुरोहितबाट वा गुरुपुरोहित नभए घरका मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन छ। सुरुमा कुलदेवता र पितृदेवतालाई टीका चढाउने तथा त्यसपछि परिवारका सदस्यले मान्यजनबाट टीका लगाउने परम्परा रहेको छ।

साइतपछि पनि टीका लगाउन सकिने

टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेट तोकिए पनि उक्त समयपछि टीका लगाउन नहुने भन्ने छैन। टाढा जानुपर्ने वा अन्य बाध्यताका कारण निर्धारित साइतमा टीका लगाउन नसक्नेले बिहान घाम झुल्केपछि पनि विधिपूर्वक टीका ग्रहण गर्न सक्नेछन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार दशैंको दिन मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न साइतकै समय पर्खनु अनिवार्य छैन। ढिलो गरी नेपाल आइपुग्ने वा अन्य कारणले उत्तम साइत छुट्ने व्यक्तिले पनि आफूलाई अनुकूल समयमा मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्न सक्नेछन्।

बडादशैंमा रातो टीका, जमरा र मान्यजनको आशीर्वाद ग्रहण गर्दै परिवार तथा आफन्तसँग खुसी साटासाट गर्ने परम्परा छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours