१० असाेज, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको साधारण बहस अन्तर्गत उच्चस्तरीय सत्रमा शुक्रबार गर्नुभएको सम्बोधन विश्वभर सुनिएको छ । विश्वका चर्चित सञ्चार माध्यमले प्रधानमन्त्री शाहको सम्बोधनलाई विशेष स्थान दिँदै आममानिसबिच पुर्याएका छन् ।
प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा उठाउनुभएको नेपालको विपत्को पीडा, जलवायु न्याय र विश्वमा भावी पुस्ताको भविष्यको मुद्दाका विषयले सबैको मन छोयो । जुन कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बलियोसँग आफ्नो प्रस्तुतिमा समेटेको देखिएको छ ।
सबभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा महासभालाई सम्बोधन गर्दै उहाँले उठान गर्नुभएको मुद्दालाई विश्वका सबभन्दा ठुला न्युज एजेन्सी एपी, एएफपी, रोयटर्सलगायतले स्थान दिएका छन् । त्यस्तै विश्वका सबैभन्दा ठुला सञ्चार माध्यम बेलायतको बिबिसी, अमेरिकाको सिएनएन, कतारको अलजजिरा, भारतको टाइम्स अफ इन्डियालगायतले शाहको सम्बोधनलाई महìवपूर्ण स्थान दिएका छन् ।
सिएनएनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि पीडादायक विपत् सहनु पर्दाको मुद्दा शाहले जलवायु न्यायका रूपमा माग गर्नु सान्दर्भिक रहेको औँल्याएको थियो । जलवायु परिवर्तनको असरको प्रमाण वैज्ञानिक आधारले पुष्टि गरेको छ तर कार्बन बढी उत्सर्जन गर्नेको राजनीतिक इच्छाशक्तिको कमीले नेपाल जस्ता कमजोर देशले त्यसको नतिजा सहनु परेको शाहको कुरालाई जोड दिइएको छ ।
भारतका एनडिटिभी, इन्डिया टुडेलगायत धेरै सञ्चार माध्यमले उहाँको पूर्ण सम्बोधन लाइभ प्रसारण गरेका थिए । प्रधानमन्त्री बनेपछि ठुलो वैश्विक मञ्चमा उहाँको पहिलो सम्बोधन थियो ।
न्युयोर्क टाइम्सले पहिलो विदेश भ्रमणमा युवा प्रधानमन्त्री भए पनि देशले भोगिरहेको विषयलाई सिलसिलेवार प्रस्तुति निकै रोचक रहेको उल्लेख गरेको छ । भोटेकोशीलाई जलवायु न्यायको मुद्दा बनाइएकोमा उसले राम्रो स्थान दिएको छ । न्युयोर्क टाइम्सले बालेन शाहले कालो चस्मा किन लगाउनुभयो भन्ने अर्को टिप्पणी पनि लेखेको छ । चस्माबिना कमै देखिने शाहले राष्ट्रसङ्घमा पनि निरन्तरता दिएको औँल्याइएको छ ।
अमेरिकाका अन्य स्थानीय मिडियाले पनि उहाँको सम्बोधनका मुद्दालाई प्राथमिकता दिएका छन् । प्रधानमन्त्री शाहको सम्बोधनमा नेपालको राष्ट्रिय हितको मुद्दालाई बलियो ढङ्गले विश्लेषण गरिएकाले पनि अन्तर्राष्ट्रिय मिडियाले रुचाएको हुन सक्ने मिडिया विश्लेषक विनोद ढुङ्गेल औँल्याउनुहुन्छ ।
ढुङ्गेलले भन्नुभयो, “उहाँको सम्बोधन समय सान्दर्भिक र मिडिया कन्टेन्टमैत्री छ, देशको पीडासँगै विश्वको चरित्र झल्किएको छ, जसले अन्तर्राष्ट्रिय मिडियाको ध्यान तानेको हो ।” जलवायु न्याय, बाढीको विपत्सँगै नेपाल जस्ता मुलुकले विश्वमा चर्किरहेको युद्ध र द्वन्द्वबाट खेपिरहेको मारको मुद्दाले अरू देशलाई पनि समेटेको छ । गत फागुनको आमनिर्वाचनपछि चुनावी जितको चर्चा विश्वमा त्यसै पनि चुलिएको छ ।
त्यसयता राष्ट्रिय राजनीतिमा होमिएका उहाँ सार्वजनिक भाषण र समारोह त्यति नरुचाउने र कमै मात्र बोल्नुहुन्छ । ढुङ्गेलले थप्नुभयो, “त्यसैले उहाँ विश्व राजनीतिमा युवाले खोजिरहेको धारमा अघि बढेको फ्रेस सेलिब्रेटी अनुहार हुनुहुन्छ, जहाँ हरेक देशका युवाले आफ्नो छवि खोज्न खोज्छन् ।” चर्चित नयाँ राजनीतिक अनुहारलाई हरेक मिडियाले लिन खोज्नु जायज रहेको उहाँको विश्लेषण छ ।
संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये ७३ जना राष्ट्र प्रमुख र ४५ जना सरकार प्रमुखसहित १३० जना उच्च नेतृत्वले यस पटकको महासभामा सहभागिता जनाउनुभएको छ । उहाँहरूबाहेक सरकार उपप्रमुख, विभागीय मन्त्रीहरू पनि सहभागी रहेको राष्ट्रसङ्घले जनाएको छ । गत सेप्टेम्बर २२ देखि सुरु भएको महासभाको साताव्यापी उच्चस्तरीय सत्रमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसहित ९९ देशका प्रतिनिधिले आआफ्ना धारणा राखिसक्नुभएको छ ।


+ There are no comments
Add yours