नेपालको विपत् विश्वकै लागि चेतावनी

१० असाेज, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हिमबाढीको विपत् नेपालको मात्र नभएर भविष्यका लागि विश्वकै ठुलो जलवायु चेतावनी भएको उद्घोष गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालको भोटेकोशी–त्रिशूली हिमबाढीको कहर सुन्न विश्व नेतृत्वलाई आह्वान गर्नुभएको हो ।

भदौ १० गते लामटाङ लिरुङ हिमाल चोइटिएर झर्दा भोटेकोशी हुँदै आएको हिमबाढीले नेपालमा अकल्पनीय जनधनको क्षति पुर्‍याएको थियो । प्रधानमन्त्री शाहले विश्व नेतृत्वलाई भन्नुभयो, “भोटेकोशी–त्रिशूलीको विपत् कुनै स्थानीय त्रासदी मात्र थिएन, त्यो विश्वकै लागि चेतावनी थियो, आज म तपाईंहरूलाई सोध्न चाहन्छु, के हामीले त्यो चेतावनीलाई साँच्चै सुनेका छौँ ?” उहाँले धेरै परिवार आफ्ना प्रियजनको प्रतीक्षामा रहेको उल्लेख गर्दै थप्नुभयो, “जो हिलो, ढुङ्गा र बाढीको भेलभित्र कहिल्यै फेला नपर्न सक्ने आफन्तका शव खोतल्दै छन् । कैयौँ पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधन केही मिनेटमै बगेर नष्ट भए ।” प्रधानमन्त्रीले यसबाट दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको यात्रामा गम्भीर अवरोध पुगेको प्रस्ट्याउनुभयो ।

सीमाहीन चुनौती

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले सिर्जना गरिरहेको विपत्ले कुनै देशको सिमाना नचिन्ने तथ्य राख्नुभयो । “पग्लिँदै गएको स्थायी हिउँको तहले हिमनदीभित्रका पहाड चिरा पारिरहेको छ,” उहाँले भन्नुभयो, “जसले गर्दा बरफ र चट्टान खस्ने हिमपहिरो, बाढीपहिरो तथा अन्य शृङ्खलाबद्ध विपत्को जोखिम बढेको छ । यसले हामीलाई एउटा सत्य सम्झाउँछ, जलवायु परिवर्तनले सिमाना चिन्दैन, हिमनदी र बाढी भिसा वा राहदानी बोकेर यात्रा गर्दैनन् ।”

सहयोगको अपिल

महासभामा विपत्पछिको अवस्थामा नेपाललाई सहयोगसहितको साथका लागि प्रधानमन्त्री शाहले अपिल गर्नुभयो । उहाँले तत्कालीन राहत तथा उद्धारमा नेपाललाई सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायलाई नेपाली जनताका तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले अपिल गर्नुभयो, “२०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा जस्तै हामी फेरि पनि तपाईंहरूको ऐक्यबद्धता र सहयोगको अपेक्षा गर्दछौँ ।” प्रधानमन्त्री शाहले जलवायु न्यायलाई साझा जिम्मेवारीका रूपमा सबैले बोध गर्नुपर्ने सुझाउनुभयो । उहाँले भन्नुभयो, “जलवायु न्याय संयुक्त राष्ट्रसङ्घका दस्ताबेजमा सीमित सुन्दर पदावली मात्र बन्नु हुँदैन, हाम्रा जनताले बारम्बार विगतका भग्नावशेष पुनर्निर्माण मात्र गरिरहने होइन, आफ्नो भविष्य निर्माण गर्ने अवसर पाउनु पर्छ ।”

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि अनुसार अन्तर्राष्ट्रिय समुदायले साझा जिम्मेवारीको सिद्धान्तलाई स्वीकार गरेको उल्लेख गर्दै उहाँले जोसँग ठुलो क्षमता छ, उनीहरूले बढी जिम्मेवारीबोध गर्न सुझाव दिनुभयो ।

प्रधानमन्त्रीले नेपालको सिमानाभन्दा परका जनसङ्ख्यालाई पानी, पारिस्थितिकीय प्रणाली, कृषि र जीविकोपार्जनको आधार संरक्षण गर्न नेपाल, भारत र चीनको नेतृत्वमा संयुक्त संयन्त्र स्थापनाको प्रस्ताव पनि गर्नुभयो । नेपाल, भारत र चीनलगायतका देशभित्र पर्ने हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको साझा घर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अत्यावश्यक कदमका रूपमा, हामी नेपाल, भारत र चीनको नेतृत्वमा एउटा ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिजम’ अर्थात् हिमाली जलवायु अनुकूलन–पुनरुत्थान संयन्त्र स्थापना गर्न प्रस्ताव गर्दछौँ ।” संयन्त्रमार्फत भूउपग्रहका तथ्याङ्क र आपसी विज्ञता आदानप्रदान गरिने छ । जोखिमयुक्त हिमतालको अनुगमन गर्ने, संयुक्त पूर्वसूचना प्रणालीलाई मजबुत बनाउने र विपत् आउँदा सीमापार समन्वय गर्दै तत्काल सहायता उपलब्ध गराउन पनि संयन्त्रले भूमिका खेल्ने छ ।

प्रधानमन्त्री शाहले जलवायु वित्त प्रशासनिक भुलभुलैया बन्न नहुने बताउनुभयो । क्षति तथा नोक्सानी कोष, विश्वव्यापी वातावरण सुविधा र अन्य वित्तीय सहयोग अपर्याप्ततासँगै झन्झटयुक्त प्रक्रिया रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री शाहले थप्नुभयो, “जलवायु वित्त अर्को यस्तो प्रशासनिक भुलभुलैया बन्नु हुँदैन, जहाँ जोखिममा रहेका देशहरूले सहयोग पाउनै बर्सौं बिताउनु परोस् ।” उहाँले घरमा आगो लागेको उदाहरण दिँदै ती परिवारलाई ५० वटा फाराम भर्न नलगाई तुरुन्त राहतको कदम चाल्नुपर्ने सुनाउनुभयो ।

न्यायपूर्ण विश्व व्यवस्था

प्रधानमन्त्री शाहले न्यायपूर्ण विश्वव्यापी व्यवस्थाको खाँचो औँल्याउनुभयो । विश्वमा अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल र गोलाबारुदले समयमै सिमाना पार गरे जस्तै नेपालको एक किसानले आवश्यक परेका बेला मल र इन्धन पाउनुपर्ने अवस्था सिर्जना हुनुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री शाहले भन्नुभयो, “बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान वा श्रीलङ्का र यस क्षेत्रका जुनसुकै देशलाई सोध्नुहोस्, हामीले नतताएको जलवायुको मार पनि हामीले नै खेपेका छौँ र हामीले सुरु नगरेका युद्धको मार पनि हामीले नै भोगिरहेका छौँ ।”

विश्वव्यापी जागरणको हिस्सा

प्रधानमन्त्री शाहले नेपालको राजनीतिक पुस्तान्तरण विश्वव्यापी जागरणको हिस्सा रहेको प्रस्ट पार्नुभयो । नवीन लोकतान्त्रिक जनादेशसाथ नेपालका युवापुस्ताले निष्ठा र जवाफदेही राजनीति माग गरेको प्रधानमन्त्री शाहले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यो पुस्तान्तरण कुनै एउटा राष्ट्रको मात्र कथा होइन; यो द्वन्द्व, असमानता र अवसरको अभावविरुद्धको विश्वव्यापी जागरणको हिस्सा हो ।”

You May Also Like

More From Author

+ There are no comments

Add yours