०३ कार्तिक, काठमाडौँ । दशैँमा आवतजावत गर्ने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि सुनसरीको बराहक्षेत्रसम्म पुनः जेटबोट (जलयात्रा) सेवा सञ्चालनमा आएको छ।
वर्षायाममा नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिम सातादेखि बन्द रहेको जलयात्रा आइतबारदेखि पुनः सुरु भएको हो। अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा सास्ती खेप्दै आएका दक्षिणी भोजपुरका बासिन्दाका लागि जेटबोट सञ्चालनले ठूलो राहत पुर्याएको छ।
स्थानीय व्यवसायी मिलन राईका अनुसार कोप्चेबाट बराहक्षेत्रसम्मको भाडा रु ५०० तोकिएको छ। यसअघि ३–४ घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले करिब १९ किलोमिटरको दूरी जेटबोटमार्फत २० देखि २५ मिनेटमै पार गर्न सकिन्छ। स्थानीय बासिन्दाहरू जेटबोटमार्फत धरान, इटहरी र विराटनगरजस्ता सहरहरूमा सहजै आवतजावत गर्ने गरेका छन्।
हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जलयात्राले तराई र पहाडबीचको दूरी घटाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।


+ There are no comments
Add yours