रिज लाइन इनर्जीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

१५ माघ, काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ करोड ७ लाख रुपैयाँको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ७१ हजार १०० कित्ता शेयर सुरक्षित राखी बाँकी ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

सर्वसाधारणले उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते बन्द हुने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आसब्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सि–आसब्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कस्तो छ कम्पनी ?

रिज लाइन इनर्जीले गोरखा र लमजुङ जिल्लामा अवस्थित ९.०५ मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै ३० वर्ष ११ महिना बाँकी रहेको छ। आयोजनामा गरिएको साधारण लगानी ७ वर्ष ४ महिनामा र डिस्काउण्ट आधारमा १० वर्ष ९ महिनामा फिर्ता हुने अनुमान गरिएको छ। कम्पनीले २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री गर्दै आएको छ।

रिज लाइन इनर्जी लिमिटेडका अध्यक्ष डा. बसन्त गिरी रहेका छन्। कम्पनीको सञ्चालक समितिमा प्रदीप राज गिरी, नारायण कँडेल, दीपेन्द्र हमाल, प्रतिमा तिवारी र अशोककुमार खड्का सदस्य रहेका छन् भने डा. विनोद पोखरेल स्वतन्त्र सञ्चालक छन्। साथै कम्पनीमा सोपान मल्टिपल र मुक्तिनाथ क्यापिटलको समेत उल्लेख्य लगानी रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours