१७ फागुन, काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिका–इरानबीचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो ।
आफूमाथि भएको आक्रमणको प्रत्याक्रमणस्वरूप इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । इरानको जवाफी आक्रमणपछि मध्यपूर्वका अधिकांश हवाई उडान प्रभावित भएको एपीले जनाएको छ ।
कतारस्थित अल जजिरा टेलिभिजनका अनुसार इजरायलले प्रहार गरेको क्षेप्यास्त्र दक्षिण इरानका दुई विद्यालयमा विस्फोट हुँदा ५१ जना विद्यार्थीको मृत्यु भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ठुलो सैन्य कारबाही सुरु गरिएको बताउँदै त्यहाँको अतिवादी सत्ता परिवर्तनका लागि इरानी नागरिकलाई आह्वान गर्नुभएको छ ।
अमेरिकी समाचार संस्था एपीले दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानमा भएको आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको जनाएको छ ।
गत वर्ष जुलाईमा इजरायल र इरानबीच युद्ध हुँदा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । त्यसबेला इरानका तीन प्रमुख आणविक केन्द्रमा शक्तिशाली जिबियु–५७ बम खसालिएको थियो ।
अमेरिकाले ध्वस्त बनाइएको दाबी गरिएका ती केन्द्रहरूमा परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको विवरण सार्वजनिक भएपछि वासिङ्टनले इरानलाई कार्यक्रम रोक्न दबाब दिँदै आएको थियो ।
ओमान र जेनेभामा पटक–पटक वार्ता भए पनि सहमति नजुटेपछि अमेरिकाले मध्यपूर्वका विभिन्न क्षेत्रमा अत्याधुनिक युद्धपोतसहित सैन्य शक्ति तैनाथ गरेको छ ।
अमेरिकी टेलिभिजन सिएनएनले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेको जनाएको छ ।
तेहरानमा प्रत्यक्षदर्शीहरूले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय नजिक पहिलो विस्फोटको आवाज सुनेको बताएका छन् । सहरको केन्द्रबाट बाक्लो धुवाँ उठेको देखिएको छ ।
८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए वा थिएनन् भन्ने विषयमा तत्काल स्पष्ट हुन सकेको छैन । अमेरिकासँग बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिनुभएको थिएन ।
इरानी सरकारी टेलिभिजनले पनि विस्फोट भएको पुष्टि गरेको छ, तर क्षतिको विवरण सार्वजनिक गरेको छैन । आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।
इरानले यसअघि कुनै पनि आक्रमण भए मध्यपूर्वमा रहेका अमेरिकी सैनिक र सैन्य अखडालाई निसाना बनाइने चेतावनी दिएको थियो ।
जवाफी कारबाहीस्वरूप इरानले इजरायलतर्फ पनि क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिरहेको जनाएको छ ।
इरानमा हमला गरेलगत्तै इजरायलले देशव्यापी आपत्काल घोषणा गरेको छ । साथै, हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय पारिएको छ । आईडीएफले नागरिकलाई सेनाको निर्देशन पालना गर्न आग्रह गरेको छ । “रक्षा प्रणाली पूर्ण रूपमा अभेद्य हुँदैनन्, त्यसैले सर्वसाधारणले सुरक्षासम्बन्धी निर्देशनको पालना गर्नु आवश्यक छ,” वक्तव्यमा भनिएको छ ।
इजरायली सञ्चार माध्यमले इरानबाट प्रहार गरिएका ठूलो सङ्ख्याका क्षेप्यास्त्र इजरायलको आकाशमा देखिएको जनाएका छन् । उक्त आक्रमणलाई इजरायलले ‘अपरेसन रोअर लायन’ नाम दिएको छ ।
राष्ट्रपति ट्रम्पले पछिल्ला दिनमा इरानको आणविक कार्यक्रम नियन्त्रणका लागि सम्झौता चाहेको बताउँदै आएका थिए । इरान भने युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार कायम राख्न चाहन्छ । साथै, लामो दूरीका क्षेप्यास्त्र कार्यक्रम र हमास तथा हेजबुल्लाहजस्ता समूहलाई दिँदै आएको समर्थनबारे थप वार्ता गर्न इच्छुक देखिएको छैन ।
यसैबीच, नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरान भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार ट्राभल एड्भाइजरी जारी गर्दै दुवै देशको स्थिति सामान्य नभएसम्म भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयले सम्बन्धित देशका आधिकारिक निकायले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन पूर्ण रूपमा पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सावधानी अपनाउन र स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।
साथै, इजरायल र इरानका आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्न, काठमाडौँस्थित परराष्ट्र मन्त्रालय तथा तेल अभिभ र दोहास्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ । मध्यपूर्वका अन्य देशमा बसोबास तथा कार्यरत नेपालीलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न आग्रह गरिएको छ ।


+ There are no comments
Add yours