Advertisement

तपाईकाे २०८१ वार्षिक राशिफल – Yearly Horoscope

0 7

Advertisement

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशिलाई वि.सं २०८१ साल उत्साहवर्धक र शुभफलदायी रहनेछ। बृहस्पति, शनि र केतुको अनुकूल प्रभावले सामान्य परिस्थितिबाट सफलताको उचाइ प्राप्त गर्न सफल भइनेछ। विद्या–बुद्धिका स्वामी देवगुरु बृहस्पति वैशाख १७ गतेदेखि धन तथा वाणीभावमा रहने हुँदा वर्षभरि विद्या र धन आर्जनमा सफलता मिल्नेछ। आर्थिक लगानी र लगनशीलताले, अध्ययन र विद्याको उपयोगले, उत्कृष्ट लेखन र बोलीको प्रभावले विशेष फाइदा उठाउने समय छ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ, लेखनकलामा निखारता आउनेछ र बौद्धिक स्तरका प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। घरमा मंगलमय कृत्य सम्पादन हुनेछन्। भाग्यले घर–जग्गा अथवा असल जीवनसाथी जुराउने हुँदा घरगृहस्थी सुखद् रहनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानप्राप्ति हुने समय छ। आफ्नो विज्ञताअनुसार तारिफयोग्य काम सम्पादन गर्दै असल शिक्षक, कुशल प्रशासक र लोकप्रिय समाजसेवीका रूपमा स्थापित भइनेछ। आयभावमा रहने शनिको प्रभावले वर्षभरि पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। नयाँ उद्योगधन्दा शुभारम्भ गर्न सकिनेछ। राजनीति र नोकरीमा राम्रै पकड जमाउने समय छ। सुख–सुविधाका विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित कर्मफल प्राप्त हुनेछ भने लगानी तथा सेयरबाट पनि प्रशस्त लाभ हुनेछ। कृषितर्फ नयाँ प्रविधि भित्र्याउन सकिनेछ। पशुहरूको संख्या बढ्नेछ र उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ। रोग तथा प्रतिस्पर्धा स्थानमा रहने केतुको प्रभावले रोग, शत्रु र प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। पहिलेका उल्झन र अवरोध हट्नेछन्। संघर्ष र दुःखका दिन समाप्त हुनेछन्। रोकिएका काम सजिलै बन्नेछन् र नयाँ काम थालनी गर्न सकिनेछ। खर्चभाव तथा बृहस्पतिको वेधस्थानमा राहुको उपस्थितिले आर्जित तथा सञ्चित धन हराउने, लुटिने वा चोरी हुने सम्भावना छ। यन्त्र–उपकरणमा खर्च बढ्ने, वैदेशिक यात्रामा उल्झन र समस्या आउने, पाउमा चोटपटक लाग्ने जस्ता समस्या पनि आउन सक्छन्। अरूले आफ्नो वचन, बौद्धिक सम्पत्ति र उपकरणहरूको दुरुपयोग गर्न सक्छन्। राहुको प्रभाव नै कुपात्रको दबाब हो। दुःखले आर्जन गरेको धन, मान, ज्ञान, सीप र वचनबाट अवसरवादीहरूले लाभ उठाउने चेष्टा गरिरहनेछन्। आर्जित उपलब्धिको संरक्षणमा वर्षभरि नै विशेष ध्यान पुर्याउनुहोला। राहुको दुष्प्रभावबाट बच्न र आफना उपलब्धि जोगाउन वटुकभैरव, छिन्नमस्ता भगवती र इष्ट देवी–देवताको पूजा–आराधना गर्नुहोला। सूर्यराशिका आधारमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

वृष राशिलाई वि.सं. २०८१ साल आसलाग्दो र उपलब्धिमूलक रहनेछ। राहुको अनुकूल प्रभावले आयस्रोत सबल बन्नुका साथै आर्थिक समस्या समाधान हुनेछ। बृहस्पति, केतु र शनिका प्रभावले अध्ययन, स्वास्थ्य र कर्ममा केही उतारचढाव आउनेछन्। विद्या र बुद्धिका स्वामी देवगुरु बृहस्पति वैशाख १७ गतेदेखि मन–मस्तिष्क भावमा प्रवेश गर्ने हुँदा मनमा नैतिकता र कर्तव्यभाव उत्पन्न हुनेछ। तर व्यवहारमा विपरीत परिस्थितिसँग जुध्नुपर्ने अवस्था आउन सक्छ। परिस्थितिले सुप्त अवस्थामा रहेको अहंकारभाव जगाउने हुँदा बृहस्पतिको धैर्यपूर्वक कार्य सम्पादन गर्ने गुण कुण्ठित हुनेछ भने स्वाभिमानी विचार र तर्कपूर्ण अडानले मन परिचालित हुनेछ। यसले समस्याको सहज अवतरण भन्दा जोखिमपूर्ण चुनौती रोज्ने अवस्थामा पुर्याउनेछ र व्यवहारमा दुःख पाइनेछ। भनिन्छ, त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामले देवगुरु बृहस्पति नामराशिमा आएका बखतमा वनवास जानुपरेको थियो। शास्त्रहरूमा नामराशिका बृहस्पतिले बुद्धि भ्रमित हुने, व्यर्थैमा निकटजनसँग सम्बन्ध बिग्रने, गर्दै गरेको काम र बसिरहेको ठाउँप्रति वितृष्णा उत्पन्न हुने जस्ता समस्या आउँछन् भनिएको छ। तर सत्कर्मले यस्ता समस्या सुल्झनेछन्। जन्मकुण्डलीमा बृहस्पति सबल हुनेहरूलाई तर्कशक्ति बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले नयाँ पेसा–व्यवसाय जुराउनेछ। सन्तान, सहयोगी र शुभचिन्तकका माध्यमबाट कार्यसिद्धि हुनेछ। कर्मभावका शनिले कर्मक्षेत्रमा सक्रिय प्रभाव जमाउन बाधा पर्नेछ। उधारो व्यापार, नोकरीमा बाधा, व्यवसायमा उल्झन, आर्थिक मन्दी जस्ता समस्या बेलाबखत आइरहनेछन्। आयभावमा रहने राहुको प्रभावले आर्थिक उन्नतिको बाटो खुल्नेछ। पेसा–व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। रोकिएका कामले गति लिनेछन्। नोकरीमा प्रवेश, पदोन्नति र अनुकूल स्थान प्राप्त हुने समय छ। कृषि, पेसा–व्यवसाय, उद्योग, ठेक्कापट्टा, सेयर आदिमा प्रशस्त लाभ हुनेछ। रोजगारीका निम्ति विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। केतुको प्रभावले अध्ययनमा बाधा, सन्तानलाई कष्ट र स्वास्थ्यमा पेटसम्बन्धी समस्या आउन सक्छ। जन्मकुण्डलीमा केतु कमजोर हुनेहरूलाई स्वास्थ्य चिन्ताले सताउनेछ। साझेदारीमा विवाद, कृषि उत्पादन र पशुधनमा क्षय, सवारीसाधनमा नोक्सानी जस्ता समस्या आउन सक्छन्। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन ग्रहशान्ति जप, अनुष्ठान गर्न सकिन्छ। वर्षको प्रारम्भमा अनिष्ट ग्रहको शान्ति र वर्षभरि आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा लाभ हुनेछ। देवगुरुका प्रतिकूल प्रभावलाई अनुकूल बनाउन शिवजीको पूजा–आराधना, रुद्रभिषेक आदि गर्नुहोला। बगलामुखी भगवती, वटुक भैरव र हनुमानजीको नियमित पूजा–आराधना गर्दा ग्रहदोषमा कमी आई फाइदा हुनेछ। सूर्यराशिका आधारमा वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष लाभ हुने देखिन्छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

मिथुन राशिलाई वि.सं. २०८१ सालको वर्षारम्भ आसलाग्दो देखिए पनि बृहस्पति, शनि र केतुको प्रभावले लक्ष्यको उचाइ प्राप्त गर्न संघर्ष गर्नुपर्ने देखिन्छ। कार्यक्षेत्रमा केही चुनौती र उतारचढाव आइरहनेछन्। मध्यान्तरपछि कर्मयोगले गति लिनेछ र वर्षको अन्त्यतिर आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। देवगुरु बृहस्पति वैशाख १७ गतेदेखि खर्चभावमा जाने हुँदा यो वर्ष विद्या र धन आर्जनमा सन्तोषजनक उपलब्धि नहुन सक्छ। केही फजुल खर्च, आर्थिक मन्दी र व्यावहारिक उतारचढाव देखापर्ने छन्। अध्ययनमा ध्यान केन्द्रित नहुनाले सोचेको उपलब्धि नहुन सक्छ। धेरैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि सद्विचारले प्रेरित हुनेहरूलाई त्याग र समर्पणको भावना जागृत हुनेछ। सादगी व्यवहार र असल कर्ममा मन रमाउनेछ भने परोपकार तथा सत्कर्ममा धन उपयोग हुनेछ। बृहस्पतिको प्रभावले धर्मकर्म, समाजसेवा र परोपकारी काममा धन खर्च गराउनेछन्। खर्च लागे पनि विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। वर्षभरि भाग्य एवं धर्मस्थानमा रहने हुँदा शनिको प्रभावले केही प्रतिकूल परिस्थिति सामना गर्नुपर्ने हुन सक्छ। अवसर प्राप्त भए पनि नोकरीतर्फ संघर्षका दिन आउनेछन्। कर्मक्षेत्रमा बाटो बिराउनाले सामाजिक लोकप्रिय छविमा प्रश्न उठ्न सक्छ। अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा मन्दी र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान समेत आउन सक्छन्। यो वर्ष गृहभावमा केतु रहने हुँदा घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला। केतुको प्रभावले मन अशान्त रहनेछ भने सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइनेछ। कर्मस्थानका राहुको प्रभावले परिस्थिति अनुकूल बनाउन साम, दाम, दण्ड, भेद जस्ता नीति अवलम्बन गर्न सकिनेछ। समय लागे पनि आँटले काम लिँदा सफलता हातपार्न सकिनेछ। साउनदेखि मंगलको प्रतिकूलताले धनहानि, भौतिक साधनमा क्षति, पाउमा चोटपटक, आर्थिक संकट, वैदेशिक रोजगारीमा समस्या आदि निम्त्याउने सम्भावना छ। आफ्ना इष्टदेवताको आराधनाका साथै प्रतिकूल ग्रहहरूको शान्तिकर्म गर्नाले अप्ठ्यारो समयमा पनि फाइदा हुनेछ। मंगल र बृहस्पतिका प्रतिकूल प्रभावबाट सुरक्षित रहन र शुभफल प्राप्त गर्न क्रमशः गणेश र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा–आराधना गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। केतुको दुष्प्रभाव कम गर्न वटुकभैरवको दर्शन—पूजा गर्नुहोला। सूर्यराशिका आधारमा जेठ, असार, असोज र माघ महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने वैशाख, भाद्र, मंसिर र चैत्र महिनामा अधिक लाभ हुनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कर्कट राशिलाई २०८१ सालमा बृहस्पति र केतुको अनुकूल प्रभावले आर्थिक उन्नतिको बाटो खुल्नेछ। पेसा–व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। रोकिएका कामले गति लिनेछन्। नोकरीमा प्रवेश, पदोन्नति र अनुकूल स्थान प्राप्त हुने समय छ। सामाजिक प्रभाव बढ्नेछ। वैशाख १७ गतेदेखि आयभावमा जाने बृहस्पतिको प्रभावले शुभकर्म गर्न प्रेरणा प्राप्त भइरहनेछ। विद्यार्थीहरूमा लगनशीलता बढ्नेछ र अध्ययनले उचाइको बाटो समाउनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। विदेश ताक्नेहरूलाई यात्राको अवसर प्राप्त हुनेछ भने स्वदेश फर्किनेहरूलाई पनि नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। भाग्यले मनमिल्ने प्रेमपात्र जुराउन सक्छ। एक्लो जीवनले वैवाहिक मार्ग अवलम्बन गर्नुका साथै सन्तानसुख प्राप्त हुने बलियो सम्भावना छ। भनिन्छ, बृहस्पति मात्र शुभस्थानमा रहँदा सबै प्रकृतिका अशुभफल समाप्त हुन्छन्। तापनि यो वर्ष शनि र राहु प्रतिकूल हुनाले स्वास्थ्यबाधा, फजुल खर्च, आर्थिक मन्दी र व्यावहारिक उतारचढाव देखापर्न सक्छन्। शनिको अढैया प्रभावले धनहानि, भौतिक साधनमा क्षति, चोटपटक, स्वास्थ्यबाधा, वैदेशिक रोजगारीमा समस्या आदि निम्त्याउने सम्भावना छ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। धर्मभावमा जेठ २२ गतेसम्म रहने राहु–मंगलको युतिसम्बन्धले आचरणमाथि प्रश्न उठ्ने प्रकृतिका कर्मदोष निम्त्याउने हुँदा व्यवहारमा सदैव सजग रहनुहोला। जेठ २२ पछि भदौ १४ गतेसम्म मंगलको अनुकूलताले महत्त्वाकांक्षी काम गर्न सकिनेछ। उद्योग र व्यापारमा मनग्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा पुराना समस्या सुल्झनेछन्। अग्रजहरूको सहयोग जुट्नाले सवारी, घरजग्गा र अन्य चल–अचल सम्पत्ति जोड्न सकिनेछ। तर पछिल्लो समयमा मंगल प्रतिकूल बन्नाले पहिलेका उपलब्धि हातबाट बाहिरिन सक्छन्। यात्रा कष्टपूर्ण बन्नेछ। सवारी, मेसिन र पुर्जा बिग्रनाले उद्योग—व्यवसायमा समस्या पर्न सक्छ। अनिष्ट ग्रहहरूको प्रतिकूल प्रभावबाट मुक्त रही शुभफल प्राप्त गर्न सम्बद्ध ग्रहको विशेष साधना र पूजा, जप, अनुष्ठान गर्नुहोला। सदैव मंगलदायक गणेशजीको पूजा गर्दा मंगलदोष शान्त हुनेछ। शिवजी र बगलामुखीको पूजा–आराधनाले बृहस्पतिको शुभफलमा वृद्धि हुनेछ। वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नाले राहु र केतुको ग्रहदोष शान्त भई शुभफल प्राप्त हुनेछ। शनिको प्रतिकूल प्रभावबाट मुक्त हुन आफ्ना इष्टदेवता, हनुमानजी, महांकाल र काली भगवतीको उपासना गर्नुहोला। शनिवार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ। सूर्यराशिका आधारमा असार, साउन, कार्तिक र फागुन महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने वैशाख, जेठ, असोज र पुस महिना अधिक शुभफलदायी रहनेछन्।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह राशिलाई २०८१ सालको प्रारम्भ आसलाग्दो देखिए पनि बीचमा केही कठिनाइ र उतारचढाव देखापर्ने छन् भने वर्षको अन्त्यमा कर्मयोगले उचाइ लिनेछ र महत्त्वपूर्ण उपलब्धि हातपार्न सफल भइनेछ। वर्षभरि बृहस्पति र केतुको प्रभावले मध्यम फल प्राप्त हुनेछ भने राहु र शनि प्रतिकूल रहनेछन्। प्रारम्भमा धर्मभावका देवगुरुले भाग्योदयको अवसर प्रदान गर्नेछन्। आर्थिक र भौतिक क्षेत्रमा उत्साहजनक उपलब्धि प्राप्त हुनेछ। अध्ययन तथा रोजगारीका सिलसिलामा देश–विदेश जाने अवसर जुर्न सक्छ। वैशाख १७ गते देवगुरु कर्मभावमा प्रवेश गरेपछि महत्त्वाकांक्षी काम प्रारम्भ हनेछ। घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। पछिका लागि लगानीको अवसर पनि जुट्नेछ। जेहेन्दार विद्यार्थीका लागि विशेष उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। तर स्वाभिमानका लागि सामाजिक संघर्षमा होमिनुपर्ने हुन सक्छ। अवसर प्राप्त भए पनि नोकरीतर्फ संघर्षका दिन आउनेछन्। अयोग्यहरूको स्वामित्व स्वीकार गर्न नसक्दा दुःख पाइनेछ। दाम्पत्यभावमा शनिको प्रतिकूल प्रभावले पतिपत्नीमा असमझदारी, स्वास्थ्यमा प्रतिकूलता र अर्थहानि जस्ता समस्या आउन सक्छन्। पेसा–व्यवसायमा समेत केही उल्झन र कम प्रतिफल प्राप्त हुने सम्भावना छ। सेयर तथा अन्य लगानीको मूल्य कमजोर बन्ने समय छ। धेरै लाभको आशा नगरी निर्वाहमूलक व्यवसाय गर्नु श्रेयष्कर हुनेछ। राहु कष्टभावमा रहनाले शरीरमा चोटपटक, रोग, अर्थहानि, अवरोध, मानसिक चिन्ता जस्ता विघ्नबाधा आउन सक्छन्। वैशाखको दोस्रो सातापछि जेठको तेस्रो सातासम्म कष्टभावमा मंगल–राहुको संयोगले दुर्घटना, चोटपटक आदि निम्त्याउने सम्भावना रहन्छ, सजग रहनुहोला। मंगल असार महिनाभरि शनिको दृष्टिपथमा र कार्तिकदेखि पुससम्म खर्चभावमा रहने हुँदा समस्या दोहोरिन सक्छन्। साउन, भदौ, असोज, माघ र फागुन महिनामा भने मंगलको अनुकूलताले व्यापार, उद्योग, भूमि र साहसिक कर्मबाट लाभ मिल्नेछ। केतु वर्षभरि धनभावमा रहने हुँदा अर्थलाभ भए पनि सञ्चय गर्न मुश्किल पर्ने देखिन्छ। केतुमाथि बृहस्पतिको दृष्टिबल प्राप्त हुनाले अध्ययन र लेखनकलामा आंशिक उपलब्धि प्राप्त गर्न सकिनेछ। प्रतिकूल गोचरीय ग्रहहरू जन्मकुण्डलीमा कमजोर हुनेहरूले सम्बद्ध ग्रहको विधिपूर्वक शान्ति र पूजाआराधना गर्नुहोला। शनिको प्रतिकूल समयमा शनिवार पीपलमा जल चढाउनुका साथै नियमित काली भगवतीको पूजा–आराधना गर्नाले फाइदा हुनेछ। वटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नाले राहु र केतुको प्रतिकूल प्रभाव कम भई लाभ मिल्नेछ। मंगलदायक गणेशजीको पूजा गर्दा मंगलदोष शान्त हुनेछ। सूर्यराशिका आधारमा साउन, भदौ, मंसिर र चैत महिना प्रतिकूल रहनेछन् भने जेठ, असार, कार्तिक र माघ महिनामा उपलब्धि हासिल गर्न सकिनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कन्या राशिलाई वि.सं. २०८१ साल सुखद र उत्साहवर्धक रहनेछ। मिहिनेतीहरूलाई भाग्यले साथ दिने हुँदा उद्देश्य प्राप्त गर्न सफल भइनेछ। वैशाख १७ गते भाग्यभावमा जाने बृहस्पति र शत्रुभावका शनि अनुकूल हुनाले वर्षभरि आर्थिक र भौतिक क्षेत्रमा उत्साहजनक सफलता प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ। उच्च शिक्षा तथा रोजगारीका सिलसिलामा देश–विदेश जाने अवसर जुर्न सक्छ। सानै प्रयत्नले नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थान प्राप्त हुने समय छ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धनआर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउने हुँदा अविवाहितहरूको लगनगाँठो कसिने बलियो सम्भावना छ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। मस्तिष्कभावमा केतुको प्रभाव रहने हुँदा यदाकदा अपरिपक्व निर्णयहरू हुन सक्छन्। यसले नेतृत्व लिने क्षमताप्रति प्रश्न उठ्न सक्छ। वर्षभरि दाम्पत्यभावमा राहुको उपस्थितिले प्रेमिल सम्बन्धमा टकराव आउनुका साथै घर–गृहस्थीको जग कमजोर बन्नेछ। सुमधुर सम्बन्धमा फाटो ल्याउनेहरू सक्रिय हुनेछन्। वैशाख १४ देखि जेठ २२ गतेसम्म दाम्पत्यभावमा हुने मंगल–राहुको संयोगले घरमा अशान्ति, रोग र कलह निम्त्याउन सक्छ। जेठ २२ पछि असारसम्म कष्टभावमा रहने मंगलको प्रभावले स्वास्थ्यबाधा, धनहानि र चोटपटकजस्ता समस्या निम्त्याउने सम्भावना छ। नियमित इष्टदेवको पूजा तथा सदाचार र अनुशासनको मर्यादा पालना गर्नेहरूलाई प्रतिकूल समयमा पनि भाग्यले साथ दिनेछ। देवगु? र शनिको अनुकूल प्रभावले समस्या समाधानका उपायहरू फेला पर्नेछन्। आँटले काम लिँदा फाइदा हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। नियमित कामधन्दा फस्टाउनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र मुद्दामामिलामा विजय हातलागी हुनेछ। रोकिएको सेवा–सुविधा पनि फुकुवा हुनेछ। भदौको मध्यान्तरदेखि मंगलको अनुकूल प्रभावले अधुरा काम सम्पादन हुनेछन् भने पेसा–व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। भूमि, आवश्यक भौतिक साधन तथा उपकरण जुटाउन सकिनेछ। मिहिनेतले उत्तम नोकरी तथा पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने समय छ। नयाँ उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला। मंगल, राह् र केतुको प्रतिकूल प्रभावबाट जोगिन क्रमशः श्रीगणेश, छिन्नमस्ता भगवती र वटुकभैरवको पूजा–आराधना गर्नुहोला। आफ्ना इष्टदेव–देवीको पूजा–आराधना गर्नाले पनि प्रतिकूल ग्रहदोष शान्त हुनेछ। सूर्यका आधारमा वैशाख, भदौ, असोज र पुस महिना प्रतिकूल हुनेछन् भने असार, साउन, मंसिर र फागुन महिना लाभदायक रहनेछन्।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

तुला राशिलाई वि.सं. २०८१ साल मध्यम फलदायी रहनेछ। केही अवसर र चुनौतीका शृंखला देखापर्ने हुँदा उपलब्धिका लागि संघर्ष गर्नुपर्नेछ। वैशाख १७ गतेदेखि कष्टभावमा जाने बृहस्प्ति, विद्याभावका शनि र खर्चभावका केतु प्रतिकूल हुनाले आलस्य र उदासीन प्रवृत्ति बढ्नेछ। खासगरी वर्षको पूर्वार्धमा न्यून उपलब्धि प्राप्त हुनेछ। स्वास्थ्य र धनको चिन्ताले सताउनेछ। अध्ययनमा समय दिन नसकिने, ध्यान नजाने र सोचेको उपलब्धि हासिल गर्न नसकिने समस्या आउनेछ। कतिपय योजनाहरू अलपत्र बन्नेछन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ। व्यापार घट्नाले आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। साझेदारसँग असमझदारी बढ्नेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन अशान्त हुनेछ। केतुको प्रभावले एउटा काममा छुट्याएको रकम अर्कै काममा खर्च हुनेछ। विदेश ताक्नेहरूलाई यात्रामा बाधा हुने र आफ्नो रकम अरूले दुरुपयोग गर्ने सम्भावना छ, सजग रहनुहोला। जेठ २२ देखि भदौको मध्यसम्म मंगलको प्रतिकूलताले पारिवारिक माहोल अशान्त बन्न सक्छ। शारीरिक अस्वस्थता, पतिपत्नीमा मतभेद, पारिवारिक कलह, व्यापारमा नोक्सानी, अपजस र अर्थहानि जस्ता समस्या देखापर्नेछन्। नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुनाले धेरैको विरोधसमेत सामना गर्नुपर्ला। भदौ १५ देखि परिस्थिति साम्य बन्नेछ र अवस्थामा पनि सुधार आउनेछ। शत्रुभावमा रहने राहुको अनुकूल प्रभावले समस्या समाधानका उपायहरू पनि फेला पर्नेछन्। प्रारम्भको संघर्षले अन्त्यमा उपलब्धि प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् र मुद्दामामिलामा विजय हातलागी हुनेछ। अधुरा काम बन्न थाल्नेछन्। आँटले काम लिँदा फाइदा हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। पुरानो कामधन्दा फस्टाउनेछ। रोकिएको सेवा–सुविधा फुकुवा हुनेछ। विशेष उपलब्धिमूलक कार्य सम्पादन गर्न नसकिए पनि नियमित काम बन्नाले व्यवहार निर्वाह हुनेछ। जन्मसमयमा बृहस्पति, मंगल, शनि र केतु प्रतिकूल हुनेहरूले सम्बद्ध ग्रहदेवताको आराधना र अनुष्ठान गर्दा शुभफल प्राप्त हुनेछ। बृहस्पतिका लागि शिवजी र बगलामुखी भगवतीको दर्शन, पूजा गर्नुहोला। श्रीगणेश र भुवनेश्वरी भगवतीको पूजा–आराधना गर्दा मंगलदोष निवारण हुनेछ। श्रीहनुमानजीको सेवा र हनुमानचालीसा दैनिक पाठ गर्नाले, काली भगवतीको दर्शन–पूजा गर्नाले पनि शनिदोष निवारण हुनेछ। केतुको मन्त्रजप र बटुक भैरवको दर्शन–पूजा गर्दा केतुका प्रतिकूल प्रभाव कम भई ग्रह र देवताहरूको आशीर्वाद प्राप्त हुनेछ। सूर्यराशिका आधारमा साउन, भदौ, पुस र चैत महिनामा आर्थिक र सामाजिक प्रभाव बढ्नेछ। जेठ, असोज र माघ महिना अलि प्रतिकूल रहनेछन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

वृश्चिक राशिलाई अवसर र चुनौतीका शृंखला देखापरे पनि वि.सं. २०८१ साल उपलब्धिमूलक र उत्साहवर्धक रहनेछ। वैशाख १७ गतेदेखि दाम्पत्यभावमा जाने देवगुरु बृहस्पति र वर्षभरि लाभस्थानमा रहने केतु विशेष शुभफलदायी रहनेछन्। बृहस्पतिको अनुकूल प्रभावले यो वर्ष विभिन्न अवसर प्राप्त हुनेछन्। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। काममा साथीभाइको सहयोग र सद्भाव प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन्। घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। समाजसेवा एवं परोपकारी काममा प्रवृत्त भइनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। आयभावमा केतुको उपस्थितिले वर्षभरि आम्दानीका स्रोतहरू जुट्नेछन् र आइपरेका समस्या सजिलै समाधान गर्न सकिनेछ। श्रम र सीपलाई सजिलै रकममा रूपान्तरण गर्न सकिनेछ। पेसा–व्यवसायमा राम्रो लाभ हुनेछ। गरिएका कामको राम्रो प्रतिफल प्राप्त हुनेछ। शनि र राहु भने यो वर्ष प्रतिकूल रहनेछन्। वर्षभरि गृहसुखमा रहने शनिको अढैया प्रभावले मन अशान्त भइरहनेछ। परिवारमा द्वन्द्व, झूटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता समस्या आउनेछन्। आफ्नैले विश्वासघात गरी लोकमा अपकीर्ति फैलाउने चेष्टा गर्नेछन्। अनीति र अन्यायको सिकार भइनेछ। प्रेमको बन्धन कमजोर हुनेछ। काममा आलस्य गर्ने प्रवृत्तिले समय र लागत बढ्नेछ भने उपलब्धि कमजोर हुने देखिन्छ। पुत्रभावमा राहुको उपस्थितिले सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ। वर्षभरि पेटको समस्याले सताउन सक्छ। विद्यार्थीहरूको अध्ययनमा व्यवधान हुनाले राम्रो नतिजा ल्याउन मुस्किल पर्नेछ। जेठ २२ गतेसम्म हुने मंगल–राहुको संयोगले विवादास्पद कर्मको भागीदार बनाउन सक्छ। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या देखा पर्नेछन्। भदौ १४ गतेदेखि मंगलको प्रतिकूलताले घरमा अशान्ति, कलह, रोग र चोटपटक जस्ता व्यवधान सामना गर्नुपर्ने हुन सक्छ। ग्रहहरूको प्रतिकूल प्रभावबाट मुक्त रही शुभफल प्राप्त गर्न ग्रहहरूको विशेष साधना र अनुष्ठान गर्नुहोला। सदैव मंगलदायक गणेशजीको पूजा गर्दा मंगलदोष शान्त हुनेछ। वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नाले राहुको दोष शान्त हुनेछ। शनिको प्रतिकूल प्रभावबाट मुक्त हुन आफ्ना इष्टदेवता, हनुमानजी, महांकाल र काली भगवतीको उपासना गर्नुहोला। शनिवार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ। सूर्यगति अनुसार वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने असार, कार्तिक, मंसिर र फागुन महिनामा अलि कमजोर भइनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धनु राशिलाई वि.सं. २०८१ साल आर्थिक दृष्टिले शुभफलदायी रहनेछ। तर पारिवारिक समस्या उपस्थित हुनाले वर्ष केही संघर्षमय रहने देखिन्छ। वर्षभरि उद्योग तथा पराक्रमभावमा रहने शनिदेवको प्रभावले नयाँनयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। भौतिक स्रोत–साधन जुट्नेछन् र दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। कृषि, पशुपालन, उद्योग र व्यवसायमा फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। शत्रु परास्त हुनुका साथै गुमेको अवसर पुनः प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ उद्योगधन्दा स्थापना गर्न सकिनेछ। देश–विदेशमा नोकरी तथा श्रम गर्नेहरूलाई विशेष फाइदा हुने समय छ। कर्मले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ, वर्षभरि मिहिनेत गर्नुहोला। वैशाख १७ गतेदेखि बृहस्पति शत्रु तथा रोगभावमा रहने हुँदा पहिलेका उपलब्धिहरू जोगाउन मुस्किल पर्ने देखिन्छ। अध्ययनमा प्रगतिको मार्ग अवरुद्ध हुन सक्छ। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन खिन्न रहनेछ। व्यापार घट्नाले आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। साझेदारसँग असमझदारी बढ्नेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। ईर्ष्या गर्नेहरूले शत्रुवत् व्यवहार गर्न थाल्नेछन्। स्वास्थ्य र घर–परिवार सम्बन्धी चिन्ताले सताइरहनेछ। गृहसुखमा रहने राहुको प्रभावले पारिवारिक माहोल अशान्त रहनेछ। हिस्सेदारसँगको विवादले महत्त्वपूर्ण काम अड्किन सक्छ। मातापिताको स्वास्थ्य कमजोर हुनाले त्यसप्रति चिन्ता बढ्नेछ। कृषि तथा पशु–चौपायामा हानि, घरजग्गामा किचलो र आफन्तजनमा वैरभाव जस्ता समस्या आउन सक्छन्। भदौपछि मंगलसमेत प्रतिकूल हुनाले चलअचल सम्पत्तिको कारोबार गर्दा हानि–नोक्सानी हुन सक्छ। आफ्ना कमजोरीमाथि खेल्नेहरू सक्रिय हुने हुँदा व्यवहारमा सजग रहनुहोला। कर्मभावमा केतुको उपस्थितिले थालेको काम पूरा गर्न बाधा पर्नेछ। बीचमा समस्या आउने हुँदा सुल्झाउन निकै प्रयत्न गर्नुपर्नेछ। तापनि सामुदायिक कार्यका लागि धन खर्च गरिनेछ। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। प्रविधितर्फको शिक्षाले स्वरोजगार बन्न सफल भइनेछ। प्रतिकूल ग्रहहरूको दुष्प्रभाव कम गरी अवसरको लाभ उठाउन अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्नुहोला। राहु र केतुको प्रतिकूल प्रभावबाट जोगिन वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा– आराधना गर्नुहोला। श्रीगणेश र बगलामुखी भगवतीको पूजा–आराधना गर्नाले मंगल र बृहस्पतिका प्रतिकूल प्रभाव कम हुनुका साथै शुभफल प्राप्त हुनेछ। श्रीहनुमान् र काली भगवतीको दर्शन–पूजा गर्नाले शरीरमा तागत बढ्नेछ र कामका चुनौती पार लगाउने आँट जाग्नेछ। सूर्यगतिका आधारमा जेठ, असोज, कार्तिक र फागुन महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने साउन, मंसिर, पुस र चैत महिना अलि प्रतिकूल रहनेछन्।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मकर राशिलाई वि.सं. २०८१ सालमा उत्साहजनक उपलब्धि हातपार्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। देवगुरु बृहस्पति र राहु अनुकूल हुनाले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। वैशाख १७ गते सन्तानगृह तथा विद्याभावमा प्रवेश गर्ने देवगुरुको प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। सुरुको मिहिनेतले वर्षभरि लाभ उठाउन सकिनेछ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। बौद्धिक क्षमता पनि बढ्नेछ। अध्ययन तथा रोजगारीका सन्दर्भमा देश–विदेश जाने साइत जुर्न सक्छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने समय छ। सन्तानसुखको भागीदार भइनेछ। घरमा मंगलमय कृत्यहरू सम्पादन हुनेछन्। विभिन्न तीर्थस्थलको यात्रा गर्ने अवसर जुट्ने समय छ। वर्षभरि भाग्य तथा धर्मभावमा देवगुरुको दृष्टिपथमा रहने केतुको प्रभावले समेत धार्मिक क्षेत्रको भ्रमण हुनेछ। सेवा, साधना र सत्संगतका माध्यमबाट लाभ उठाउन सकिनेछ। पराक्रमभावमा राहुको उपस्थितिले जोसजाँगर बढ्नुका साथै कर्मयोगले सदैव लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। राहुको अनुकूल प्रभावले रोग, शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन्। विभिन्न भौतिक स्रोत–साधन जुटाउन सफल भइनेछ। यन्त्र–उपकरण र प्रविधिमा काम गर्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले उत्तम नोकरी तथा पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। जेठ २२ देखि असारसम्म र कार्तिक १० देखि माघ १० सम्म मंगलको प्रतिकूलताले घरायसी समस्या, प्रियजनसँग मतभेद र वादविवाद निम्त्याउने सम्भावना देखिएकाले सजग रहनुहोला। धन तथा वाणीभावमा रहने शनिको अन्त्य साढेसाती दशा रहेकाले वर्षभरि वभिन्न व्यवधानसँग संघर्ष पनि भइरहनेछ। बेलाबेला आयस्रोत कमजोर हुनेछ भने समयसमयमा खर्च बढ्नेछ र आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। समयमा आलस्य र काममा ढिलासुस्ती गर्ने प्रवृत्तिले व्यवहारमा दुःख पाइनेछ। जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, अर्थ अभाव, मानहानि जस्ता समस्या आइरहनेछन्। मंगल र शनिका प्रतिकूल प्रभावबाट मुक्ति तथा शुभफल अभिवृद्धिका लागि ग्रहहरूको मन्त्रजप, अनुष्ठान तथा होमादि कार्य गर्नुहोला। मंगलवार श्रीगणेश र भुवनेश्वरी भगवतीको दर्शन, पूजा अथवा नियमित आराधना गर्नाले मंगलको दोष शान्त हुनेछ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। सूर्यगतिका आधारमा असार, कार्तिक, मंसिर र चैत महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ, पुस र माघ महिना अलि प्रतिकूल रहनेछन्।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

कुम्भ राशिलाई वि.सं. २०८१ साल आसलाग्दो देखिए पनि व्यावहारिक समस्या र आर्थिक मन्दीले दैनिकीलाई संघर्षको मैदानमा अवतरण गराउन सक्छ। वर्षारम्भदेखि नै चुनौतीपूर्ण जिम्मेवारी अँगाल्दै लक्ष्यतर्फ अग्रसर भइनेछ र सुरुको संक्रमण पार गर्दै केही उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वैशाख १७ गतेदेखि गृहसुखमा रहने बृहस्पतिको स्वाभिमानी प्रवृत्तिले आफन्तमा मतभेद उत्पन्न गराउनेछ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। घर–परिवार र समाजका विसंगति विरुद्ध उभिनुपर्दा संघर्ष भइरहनेछ। सत्यका पक्षमा लाग्दा लामै समय दुःख पाइनेछ। साझेदारीमा बाँडफाँट र सगोलको सम्पत्तिमा भागबन्डा लाग्ने सम्भावना छ। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। आफ्नो क्षेत्राधिकारमा अरूले राज गर्ने चेष्टा गर्नेछन्। शीर्षभावमा शनिको उपस्थितिले आलस्य जाग्ने, थकान महसुस हुने, कामधन्दा र पढाइलेखाइमा मन नलाग्ने जस्ता समस्या देखा पर्नेछन्। शनिदेवको मध्य साढेसातीले अस्वस्थता, धनहानि, रोग, झुटा आरोप, बाधा, बन्धन, आर्थिक मन्दी जस्ता समस्या आउनेछन्। धनभावमा रहने राहुको प्रतिकूल प्रभावले वाणी तथा लेखनद्वारा व्यक्त विषय विवादमा आउनेछ। राहुको प्रभावले व्यावहारिक उल्झन, झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइलाग्नेछन्। आलोचक बढ्ने हुँदा काममा अवरोध आउन सक्छ। उच्च अधिकारीसँगको विवादले नोकरीमा समेत समस्या आउन सक्छ। कष्टभावमा रहने केतुको प्रभावले कब्जियत, शूल र चोटपटक जस्ता बाधा निम्त्याउने देखिन्छ। असार, कार्तिक, मंसिर र पुस बाहेक अन्य महिनामा मंगलसमेत प्रतिकूल देखिएकाले मनमा विद्रोही भावनाको विकास हुनेछ। जन्मकुण्डलीमा मंगल, राहु, केतु र शनि प्रतिकूल हुनेहरूमा काम, क्रोध आदि प्रवृत्तिले प्रश्रय पाउने हुँदा बोली, व्यवहारमा अत्यन्तै संयम रहनुपर्ने समय छ। मंगल, राहु जस्ता ग्रहले आँट, बल, तेज, पराक्रम प्रदान गर्ने हुँदा साहसिला काम, उद्योगधन्दा, कृषि आदि कर्ममा सफलता मिल्नेछ। तर जोखिमपूर्ण कामहरूमा अघि नसर्नुहोला। यो वर्ष विदेश ताक्नेहरूलाई यात्रा सुखद नहुन सक्छ। वैदेशिक रोजगारीमा हुनेहरूलाई पनि वर्ष अलि संघर्षमय रहनेछ। अप्ठ्यारो समयमा प्रतिकूल ग्रहहरूको शान्तिकर्म– जप, अनुष्ठान, रुद्राभिषेक आदि गर्नाले स्थितिमा सुधार आउनेछ। मंगलका लागि गणेशपूजा, बृहस्पतिका लागि शिवपूजा तथा शनिका लागि काली भगवती र राहु–केतुका लागि वटुकभैरवको पूजा तथा नियमित हनुमानचालीसा पाठ गर्नाले फाइदा हुनेछ। शनिवार बिहान पीपलको पूजा गरी जल चढाउनाले विशेष लाभ हुनेछ। सूर्यगतिका आधारमा वैशाख, साउन, मंसिर र पुस महिना विशेष फलदायी हुनेछन् भने भने जेठ, असोज र माघ अलि प्रतिकूल रहनेछन्।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मीन राशिलाई वि.सं. २०८१ साल सुरुमा आसलाग्दो देखिए पनि प्रतिकूल ग्रहहरूको प्रभावले संघर्षका दिन प्रारम्भ हुनेछन्। सही मार्ग पहिचान गर्न नसक्दा धन र शक्ति क्षय हुने सम्भावना देखिन्छ। शीर्षभावमा राहुको उपस्थितिले अहंकार तथा तामस प्रवृत्ति बढाउनेछ। काम, क्रोध, लोभ, मोह जस्ता भावले प्रश्रय पाउनेछन्। वैशाख १४ देखि जेठ २२ गतेसम्म हुने मंगल–राहुको युतिसम्बन्धले मनोविकार एवं विद्रोही भावना जागृत हुने देखिन्छ। जन्मकुण्डलीमा राहु र मंगल प्रतिकूल हुनेहरूलाई परिस्थितिले विवादास्पद भूमिकामा अवतरण गराउन सक्छ। उक्त समयमा बोली र व्यवहारमा संयम रहनुहोला। वर्षभरि खर्चभावमा रहने शनिको आद्य साढेसाती दशाले आर्थिक तथा भौतिक पक्षमा नोक्सान पुर्याउने देखिन्छ। आफन्त र साथीभाइ टाढा हुनेछन्। अधिक खर्च, नोकरीमा दुर्गम स्थानान्तरण, अपजस, आलोचना आदिले मन खिन्न हुनेछ। अवसरवादीहरूले साइनो गाँसी अनीतिको मार्गमा हिँड्न प्रेरित गर्नेछन्। परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। जन्मकुण्डलीमा शनि, राहु र मंगल प्रतिकूल हुनेहरूको समय प्रतिकूल रहनेछ। कमजोर समयमा आरोप, काममा विलम्ब, अर्थ अभाव, मानहानि, परिवारमा मतभेद जस्ता समस्या आउन सक्छन्। राहुको प्रभावले विवादास्पद काम गर्नुपर्ला। शनिको प्रभावले यात्रा कष्टपूर्ण बन्नेछ। जेठ २२ देखि असारसम्म मंगलको प्रभावले धन र वचनबाट प्रतिष्ठा जोगाउन समस्या पर्नेछ। वैशाख १७ गतेदेखि उद्योग तथा पराक्रममा बृहस्पतिको उपस्थितिले नयाँ जिम्मेवारी प्राप्त भए पनि कर्मक्षेत्रमा वादविवाद आउने सम्भावना देखिन्छ। तत्काल विरोध सामना गर्नुपरे पनि दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। केही भौतिक स्रोत–साधन जुटाउन पनि सफल भइनेछ। तर समाजसेवामा जुट्दा समेत चुनौती सामना गर्नुपर्ने देखिन्छ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्यमान स्थितिमा उतारचढाव, नोकरीमा सरुवा तथा बसाइसराइको परिस्थिति समेत सिर्जना हुन सक्छ। केतुको प्रभावले घर–गृहस्थीमा उतारचढाव आउनेछ। समग्रमा वर्ष केही संघर्षमय रहनेछ। संयम व्यवहार तथा सावधानीले मात्र उपलब्धि जोगाउन सकिनेछ। प्रतिकूल समयमा सम्बद्ध ग्रहको शान्तिकर्म र इष्ट देवी–देवताको पूजा–आराधना गर्नाले परिस्थिति अनुकूल भइरहनेछ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। मंगलदायक श्रीगणेशको पूजा–आराधना गर्नाले मंगलको प्रभावले हुने समस्या हट्नेछन्। समयमा विधिपूर्वक ग्रहदेवताको पूजा गरी रुद्राभिषेक गर्नाले सम्पूर्ण ग्रहबाधा शान्त हुने शास्त्रवचन रहेको छ।   सूर्यगतिका आधारमा जेठ, भदौ, पुस र माघ महिना लाभदायक रहनेछन् भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल रहन सक्छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.