Advertisement

न्युजिल्याण्डले गर्‍यो कामदार भिसामा कडाइ

0 21

Advertisement

२७ चैत, काठमाडौं । अस्थिर आप्रवासन रोक्न भन्दै न्युजिल्याण्डले कामदार भिसामा कडाइ गरेको छ । न्युजिल्याण्ड प्रवेश गर्ने आप्रवासीको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि आप्रवासन नीतिमा कडाइ गरेको न्युजिल्याण्डका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

कम दक्ष आवेदकहरूका लागि अब अंग्रेजी भाषा परीक्षाको मापदण्ड परिवर्तन गर्न लागिएको छ भने उनीहरूलाई पाँच वर्षको सट्टा तीन वर्षको प्रवेशाज्ञा दिने भएको छ।

यसअघि न्युजिल्याण्डले पाँच वर्षको प्रवेशाज्ञा जारी गर्दै आएको थियो । ‘सरकारी अर्थतन्त्र सबलीकरणका लागि व्यवस्थित आप्रवासन जरुरी छ,’ न्युजिल्याण्डका आप्रवासन मन्त्री इरिका स्ट्यानफोर्डले भनेकी छन्, ‘मुलुकको आवश्यकता अनुसार आप्रवासन नीति बनाउन अत्यावश्यक छ ।’

गत वर्षमात्रै न्युजिल्याण्डमा १ लाख ७३ हजार आप्रवासी कामदार भित्रिएका थिए । अहिले आप्रवासी कामदारका लागि नीति परिवर्तन गर्दै उनीहरूको कार्यअनुभव तथा दक्षता परीक्षणमा कडाइ गरिएको छ । अबदेखि रोजगारदाताहरूले कामदारलाई काम प्रस्ताव गर्नुअघि मापदण्डमा तोकिए बमोजिम सबे जाँचबुझ गर्नुपर्नेछ ।

यसअघि वेल्डिङ, सिलाई लगायतका ११ वटा कामका कामदार भित्र्याउने र उनीहरूलाई स्थायी बसोबास अनुमति दिने तयारी न्युजिल्याण्ड सरकारको थियो । आप्रवासी कामदाहरूमाथि शोषण नहोस् भन्नका लागि आप्रवासन नीतिमा परिमार्जन गरिएको मन्त्री स्ट्यानफोर्डको भनाइ छ ।

‘व्यवस्थित आप्रवासनको सुरुवात गरेर निकट भविष्यमा वृहत कार्यक्रमार्फत आप्रवासीहरूको हित सुनिश्चित गर्ने गरी सरकार अघि बढ्नेछ,’ उनले भनेकी छन् । ५.३ मिलियन जनसङ्ख्या रहेको न्युजिल्याण्डमा सन् २०२२ देखि उल्लेख्य सङ्ख्यामा आप्रवासी बढिरहेका छन् ।

अब सरकारले मुलुकमा अभाव रहेका कामदारको सूचीकरण गरी उनीहरूलाई मात्रै प्राथमिकता दिने भएको छ । यस्तै रोजगारमा पहिलो प्राथामिकता नागरिकलाई दिएर पदपूर्ति गर्ने र त्यसपछि आवश्यक परेका ठाउँमा आप्रवासी कामदारलाई अवसर दिने सरकारी नीति छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिष्टोफर लक्सनले गत वर्ष आप्रवासन दर दिगो प्रकृतिको नरहेको बताएका छन् । ‘कोभिडको समयमा न्युजिल्याण्डको आप्रवासन प्रणाली बन्द थियो । कामदारको रिक्तता पूर्तिका लागि कोभिडपछि खुला गर्दा आप्रवासीहरूको सङ्ख्या ह्वात्तै बढ्यो तर अर्थतन्त्र भने धिमा नै रह्यो,’ उनले भनेका भन् ।

अझै पनि आप्रवासन व्यवस्थित नगर्ने हो भने घरजग्गा तथा बसोबासको मूल्य ह्वात्तै बढ्ने नीति निर्माताहरूले चेतनावी दिंदै आएका छन् । यद्यपि रोजगारदाताहरूले भने आप्रवासी कामदार कटौती गर्ने हो भने उत्पादनमा समस्या आउनसक्ने बताएका छन् ।

‘हामी सही र दक्ष कामदार ल्याउनेतर्फ नै केन्द्रित छौं । उनीहरू शोषणमा नपरून् भन्नेमा हामी सचेत छौं’ रोजगारदता एलन डोनल्डले भनेका छन्, ‘कामदारलाई न्युजिल्याण्ड आउन निरुत्साहित गर्ने हो भने उनीहरू अन्यत्र जाने छन् र यसले मुलुकको अर्थतन्त्रलाई थप प्रभावित गर्नेछ ।’

अर्कोतर्फ न्युजिल्याण्डकै नागरिकहरू अन्यत्र गइरहेका छन् । गत वर्षमात्रै न्युजिल्याण्डका ४७ हजार नागरिक अन्य मुलुकमा बसाइँ सरेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.