Advertisement

जाजरकोट भूकम्प पीडितलाई विभिन्न निकायको सहयोग, कहाँबाट के आयाे ?

0 40

Advertisement

२१ कार्तिक, काठमाडौँ । जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् । काठमाडौँका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको राहत

कर्णाली : मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई रु १२ लाख बराबरको राहत सहयोग गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले साेमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु चार लाख ४० हजारको चेक हस्तान्तरण गरे । बाँकी दुई लाखको लत्ताकपडा, भाँडावर्तन र खाद्यान्नलगायत जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा सिंहले जानकारी दिए ।

त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्पपीडितलाई पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ । जसमा विश्वविद्यालय परिवारबाट सङ्कलित तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उनले बताए । उनका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायत आधारभूत सामग्री सहयोग गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर सङ्कलन गरिएको रकमबाट भूकम्प प्रभावितलाई राहत सहयोग गरिएको उनले जानकारी दिए ।

बाँकेको बैजनाथ गापको राहत सामाग्री हस्तान्त्तरण

कोहलपुर : भूकम्पमा परेका जाजरकोट र रुकुम (पश्चिम)का भूकम्पपीडितका लागि बाँकेको बैजनाथ गाउँपालिकाले तत्कालका लागि दुई लाख ५० हजार बराबरको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरेको छ ।

सो राहत सामग्रीहरुमा २५ थान ठूला त्रिपाल र एक सय थान ब्ल्याङ्केट रहेका छन् । विपद् व्यवस्थापन समितिका संयोजक जिल्ला प्रशासन कार्यालय  बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले हस्तान्तरण गरे ।

बाँकेको नेपालगञ्ज विमानस्थल परिसरमा स्थापना गरिएको अस्थायी गोदाम घरमा राहत सामग्री राखिएको छ । राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष शाहीले भूकम्पले जनताको ठूलो जनधनको क्षति भएकाले मानवीय धर्मअनुसार बैजनाथ गाउँपालिकाले तत्कालका लागि त्रिपाल र ब्ल्याङ्केट सहयोग गरेको बताए ।

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका दुई स्वास्थ्य टोली

काठमाडौँ : जाजरकोट जिल्लाको बारेकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी घाइते तथा अङ्गभङ्ग भएका नागरिकको उपचारका लागि सशस्त्र प्रहरी बल नेपालले दुईवटा स्वास्थ्य टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार डा रोशन पराजुली र डा निश्चल घिमिरेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको साेमबार जानकारी दिए । उनले पाँच सयभन्दा बढीको सुरक्षा फौजले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिएको र छुट्टै चिकित्सकको टोलीले स्वास्थ्य सेवा थालिसकेको जानकारी दिए ।

नेपाल एपिएफ अस्पताल बलम्बु काठमाडौँबाट डा रोशन पराजुलीको नेतृत्वमा नौ जना रुकुमपश्चिमका लागि र सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी वाहिनीका डा निश्चल घिमिरेको नेतृत्वको चार जनाको टोलीले जाजरकोटमा पुगेर सेवा थालेका छन् ।

डा रोशनको टोली रुकुमपश्चिमको मिसन अस्पताल चौरजहार र डा निश्चलको टोली जाजरकोट जिल्ला अस्पतालमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका पनि उनले बताए । यसअघि सशस्त्र प्रहरी बल नेपालको १० हजार टेन्टसहित पाँचवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको छ ।

डिएलएको आर्थिक सहयोग

डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गर्ने भएको छ ।

एसोसिएसनको आइतबार बसेको बैठकले भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक रुपमा क्षतिग्रस्त भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा एमाले

नेकपा (एमाले)ले आफ्ना जनवर्गीय सङ्गठनलाई भूकम्प प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा गई उद्धार र राहतमा वितरणमा खटाउन निर्णय गरेको सयन्त्रका संयोजक भानुभक्त ढकालले बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा सबै जनवर्गीय सङ्गठनलाई गई भूकम्पपछि फैलन सक्ने महामारीप्रति सचेत हुँदै काम अघि बढाउने निर्णय गरेको बताए ।

भूकम्पपीडितलाई कामपाको सहयोग

काठमाडौँ महानगरपालिकाले गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ ।

कामपाले साेमबार नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री पठाएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनका अनुसार भूकम्पका कारण पीडित भएकाहरुका लागि पहिलो प्याकेज आवश्यक सामग्री पठाइएको हो र थप आज पठाउने तयारी छ ।

पठाइएको सामग्रीमा ओढ्नका लागि कम्मल दुई हजार थान, त्यसैगरी दुई हजार थान खाद्य सामग्री र दुई हजार थान सरसफाइका सामग्री र केही  आधारभूत औषधी पठाइएको बताइएको छ । यससँगै थप इन्जिनियर तथा प्राविधिकको सहयोग चाहिएमा कामपालाई सम्बन्ध भएका निकायले सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

हलेसी तुवाचुङको एघार लाख ५१ हजार नगद

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक गरी सात सय चारजना व्यक्तिले नियमित पाउने दुई दिनको तलब भत्ता नगरपालिकाका तर्फबाट कटाएर ११ लाख ५१ हजार एक सय भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

भूकम्पपीडितका लागि राहतस्वरुप सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।  “यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने दुई दिनको तलब भत्ता कटाएर भूकम्पपीडितका लागि राहतस्वरुप ११ लाख ५१ हजार रकम उपलब्ध गराइएको छ”, नगरप्रमुख राईले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ  ।

एमालेले एक करोडको राहत सामग्री 
काठमाडौँ : नेकपा (एमाले)ले जाजरकोट–भूकम्पका कारण पीडितलाई एक करोड बराबरको राहत सामग्री पठाउने तयारी गरेको छ ।

सो पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि पार्टीका तर्फबाट खरिद गरेर राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडले जानकारी दिए । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्न आग्रह गरेकाले एमालले आवश्यक समन्वय गरी वितरण गर्ने जनाइएको छ ।

केन्द्रले भूकम्पपीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री तथा कम्बल र टेन्ट पनि वितरण गर्न लागेको छ । दुई चरणमा गरेर एमालले करिब रु एक करोड बराबरको राहत सामग्री पठाउने छ ।

भूकम्प पीडितलाई देवघाटको पाँच लाख

दमौली : जाजरकोट भूकम्पपीडितलाई तनहुँको देवघाट गाउँपालिकाले पाँच लाख सहयोग गर्ने भएको छ । गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले भूकम्प पीडितलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।

विपद् व्यवस्थापन कोषबाट भूकम्पपीडितको सहयोग र राहतका लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । गाउँपालिकाले भूकम्पपीडितका लागि थप सहयोग गर्न वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको संयोजकत्वमा राहत सङ्कलन समितिसमेत गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष थापाले भने, “सहयोग गर्न इच्छुकलाई सहयोगका लागि आह्वान गरेका छौँ । सबै वडाबाट स्वतस्फूर्त रुपमा सहयोग सङ्कलन गरिनेछ ।”

तुलसीपुर नगर जेसीजले न्यानो कपडा वितरण

दाङ : तुलसीपुर नगर जेसिजले भूकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प प्रभावितका लागि राहतस्वरुप सिरक तथा रेडिमेड फेन्सी कपडा आज हस्तान्तरण गरेको छ ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वलीले रुकुमस्थित आठबिसकोट नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख इन्द्रबहादुर विष्टलाई ६५ थान फाइबर सिरक, चार सय थान बढी फेन्सी कपडा लगायतका सामग्रीहरु हस्तान्तरण गरे ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख जुट्यो

काठमाडौं । गएको शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँका प्रभावितहरुको राहतको लागि रकम उठ्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औपचारिक रुपमा आव्हान गरेपछि सहयोग रकम उठ्न थालेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्ममा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको जनाइएको छ ।

सोमबार अपराह्नसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.