Advertisement

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

0 49

Advertisement

१७ कार्तिक, पोखरा । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ। पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो।

एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे। राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुन्।

भेटवार्ताका क्रममा राममूर्तिले एडीबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गरेको महानगर प्रमुख आचार्यले बताए। उनका अनुसार पूर्वाधार निर्माणसहित दिगो पर्यटन विकासका लागि सञ्चालित विभिन्न परियोजनामा एडीबीको सहयोग रहेको छ।

‘हाल सञ्चालित परियोजनाका बारेमा छलफल भयो। थप परियोजनामा समेत सहयोग गर्न एडीबी सकारात्मक छ,’ प्रमुख आचार्यले भने।

पोखरा पर्यटनको राजधानी सहरका रूपमा घोषणा हुने क्रममा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले दिगो पर्यटन विकास आवश्यक रहेको बताए। एडीबीको सहयोगमा हाल ठूलो परियोजनाका रूपमा पोखरा-मुग्लिन सडक विस्तार आयोजनाको काम भइरहेको छ। यसैगरी पोखराको दिगो पर्यटन विकासका सम्बन्धमा विभिन्न १५ परियोजनामा सम्झौता भई काम अघि बढिरहेको छ।

एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक र ढलको स्तरोन्नति गर्ने यसअघि नै सम्झौता भइसकेको छ। महानगरका अनुसार एडीबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ। त्यस्ता परियोजना छनोट भइसकेका छन्। जस अन्तर्गत शहीद-तीनकुने-राधाकृष्णमार्ग-एसओएस-घलेचोक-हरियो खर्क-पीआईए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ। यसका लागि पाँच दशमलव ३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्ट स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च हुनेछ। पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित बन क्षेत्र हो।

एडीबीकै सहयोगमा ‘लेक टु लेक’ साइकल ट्रयाक र फेवाताल सुधार परियोजना समेत सञ्चालनका क्रममा रहेको छ। परियोजना अनुसार ९ वटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्र्याक निर्माण हुनेछ।

फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ। यसमा तीन दशमवल पाँच मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ।

रानीबन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइटबाट रानीबनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तुप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीबनबाट इको ट्रेल विकास गर्ने योजना छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.