Advertisement

युद्धग्रस्त इजरायलमा ज्यान जोगाउन बंकरमा लुकेका छन् नेपाली विद्यार्थी

0 58

Advertisement

२१ असाेज, काठमाडौं । युद्धग्रस्त देश इजरायलमा रहेका नेपाली विद्यार्थीहरु जीवन जोगाउन बंकरमा लुकेर बसेका छन्। सुदूरपश्चिम प्रदेश घर भएका विद्यार्थीहरु ज्यान जाेगाउन बंकरमा लुकेर बसेको विवरण प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका एकजना सदस्यका अनुसार बंकरमा लुकेकाहरुले उद्धारका लागि गुहार मागेका छन्। उनीहरुले अनलाइनमार्फत् सम्पर्क गरी आफूहरुको उद्धारको पहल गरिदिन आग्रह गरेको ती सदस्यको भनाइ छ।

शनिबार बिहानै उग्रवादी प्यालेस्टाइन संगठन हमासले इजरायलमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा ९ जना नेपाली घाइते भएका बताइएको छ । परराष्ट्र मन्त्रालयले शनिबार साँझ नै इजरायल आक्रमणमा ९ जना नेपाली घाइते भएका र २ जनाको अवस्था गम्भीर भएको विवरण सार्वजनिक गरेको थियो।

परराष्ट्र मन्त्रालय स्रोतले घाइते भएका ९ जनामध्ये ५ जना विद्यार्थी अस्पताल भर्ना भएको बताएको छ। २ जना भने बंकरमा रहेका बताइएको छ।

प्यालेस्टाइनको सीमासँग नजिक रहेको भनिएको किवुज अलुमिन क्षेत्रकाे एक कृषि फर्ममा रहेका नेपाली विद्यार्थीहरु आक्रमणमा परेका हुन्। उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थीहरु हुन्।

प्रयोगात्मक सिकाइका लागि ‘अर्न एन्ड लर्न प्रोग्राम’ अन्तर्गत उनीहरु गत भदौमा इजरायल गएका थिए। हमासको आक्रमणपछि विद्यार्थीहरु दुई समूहमा बाँडिएका थिए। एउटा समूहमा १७ जना थिए। १७ जनाको समूहमध्ये २ जनासँग सम्पर्क भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।

अर्को समूहका ११ जना भने अहिले बंकरमा छन्। उनीहरुले बंकरबाट बाहिर निस्किन चाहेको बताएका छन्। तर बाहिर आक्रमणकारीहरु रहेका कारण बाहिर निस्किने अवस्था नरहेको विद्यार्थीहरुले अनलाइनमार्फत् परराष्ट्र मन्त्रालयमा जानकारी दिएका छन्।

राजदूतसँग छलफल
यसैबीच परराष्ट्रमन्त्री साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्। २ जनाबीच आइतबार मन्त्रालयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।

साउद र गोडरबीच इजरायलमा हमासले गरेको आक्रमण पछिकाे अवस्थाबारे कुराकानी भएको हो। साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका थिए।

जवाफमा गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएका थिए। उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति नेपाल सरकारलाई धन्यवादसमेत दिएका छन्।

साथै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो लिएका छन्। उनले आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदुत ह्यानन गदरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका हुन्।

नेपाली राजदूत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भइरहेको बताएका छन्। त्यस्तै, इजरायली राजदूत गदरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.