Advertisement

चीन–इयू व्यापार असहमति बढ्दो, युरोपेली सङ्घका विदेश मामिला प्रमुखको भ्रमण रद्द

0 14

Advertisement

२४ असार, काठमाडाैं । चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो ।

चीनका लागि युरोपेली सङ्घका राजदूत राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न भोलि असार २५ गते बेइजिङमा अवतरण गर्ने कार्यक्रम रहेकामा त्यो अब रद्द भएको बताएका छन् ।

चिनियाँ र युरोपेली कूटनीतिज्ञ व्यापार, मानवअधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायत विषयमा छलफल गर्ने ‘एजेन्डा’ मा काम गरिरहेका थिए । चीनले बोरेलको भ्रमण रद्द गरेको युरोपेली सङ्घले औपचारिकरूपमा जनाएको छ तर भ्रमण रद्द गर्नुको कारण भने खुलाइएको छैन । चिनियाँ पक्षले नै भ्रमण रद्द हुनुको कारणबारे जानकारी नदिएको जनाइएको छ । नयाँ मितिमा बोरेलको भ्रमण हुने अपेक्षा गरिएको सङ्घका प्रवक्ता नबिला मस्रालीले बताएकी छन् ।

यसैबीच, चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले पनि इयुसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताउँदै दुवै पक्षलाई सहज हुने मितिमा उच्च प्रतिनिधि बोरेललाई चीनमा स्वागत गरिने स्पष्ट गरेका छन् । इयूसँग विभिन्न क्षेत्रमा र सबै तहमा भ्रमण आदानप्रदान गर्न चीन इच्छुक रहेको बताउँदै उनले ब्रसेल्ससँग बेइजिङ सम्पर्कमा रहिरहने स्पष्ट गरे ।

युरोपेली सङ्घका सदस्य राष्ट्रको शिखर सम्मेलनले चीन बाहेक अन्य स्रोतबाट महत्वपूर्ण सामग्री खरिद गर्ने रणनीतिप्रति समर्थन जनाएपछि बेइजिङ बिच्किएको अनुमान गरिएको छ । चिनियाँ व्यापार र आपूर्ति शृङ्खलामा निर्भरता कम गर्ने युरोपेली सङ्घको निर्णयप्रति पनि उसको विमति छ । जोसेप बोरेल युक्रेन द्वन्द्वमा चीनको अडानको विशेष आलोचक हुन् । इयुले ताइवान मामिलाप्रति बेइजिङको रवैयालाई लिएर असहमति जनाउँदै आएको छ ।

बेजिङले बल प्रयोग गरेर भएपनि ताइपेइलाई तह लगाउने धम्की दिँदै आएको छ । इयूले युक्रेनबाट तत्काल र बिनाशर्त आफ्ना सेना फिर्ता गर्न रुसलाई दबाब दिन चीनलाई आग्रह गर्दैआएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.