जलहरीमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गरौं : सांसद गौतम
१२ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले जलहरी निर्माण गर्दा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्दै पशुपतिनाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा राख्नुपर्ने बताएकी छिन्। उनले धर्मको नाममा नौटंकी बन्द गर्न आग्रह गरिन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आराध्यदेव पशुपतिनाथलाईसमेत जथाभावी विवादमा ल्याएर सारा हिन्दूहरुको भावनामा चोट पुग्ने काम भएको बताइन्।
‘पशुपतिमा अर्पित जलहरीमा ढिलै भए पनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा हो। तर उक्त जलहरीको परीक्षण गर्दा १३ जनाको नाम पार्वतीका अंगका रुपमा पुजिने जलहरीको सुवर्ण पिठिकामा कुँदेर लेख्ने मोह अति निन्दनीय मात्रै होइन, भर्त्सनायोग्य पनि छ’, उनले भनिन्।
गौतमले भगवानको गर्भगृहमा आफ्ना नाम लेखाउने बुद्धि कहाँबाट प्राप्त हुन्छ? भन्दै प्रश्न गरिन्। ‘हामीले भगवानको अंगको रुपमा पुज्ने पिठिकामा दैनिक तन्त्र र वैदिक विधिपूर्वक अर्चना हुन्छ। पशुपतिनाथकै मन्दिरमा बरु दानपेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरुको सत्यतथ्य जानकारी पनि यो सदनलाई दिनुपर्छ भन्ने मेरो आग्रह छ’, उनले भनिन्।