Advertisement

नीलगिरि जलविद्युत आयोजना अन्तिम चरणमा

0 27

Advertisement

१० जेठ, काठमाडाैं । म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन् । विस २०७६ देखि शुरु भएको दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी नीलगिरि हाइड्रोपावरले संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

नीलगिरि हाइड्रोपावरका ईन्जिनियर रत्न बमजन तामाङले सुरुङ, विद्युतगृह, बाँध र प्रशारण लाईन निर्माणलाई पूर्णता दिन धमाधम काम भइरहेको जानकारी दिए। “दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ,” उनले भने “भौतिक संरचनालाई अन्तिम रुप दिनेसँगै इलोक्ट्रोमेकानिकलको काममा केन्द्रित भएका छौँ ।”

नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ । पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिए ।

नीलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ ।

क्यासकेडको विद्युतगृह दोभानदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म अक्करे पहाड र विकट क्षेत्रमा दुई वर्ष लगाएर १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको थियो । आगामी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका ईञ्जिनियर केशव वाग्लेले बताए ।

‘‘हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठुलो चुनौती थियो,” उनले भने “हामीले सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पु¥याउन सफल भएका छौँ ।’’

आयोजनामा हाल पाँच सय जना प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छन् । यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन् । कठिन भीरपहरा छिचोलेर आयोजनाको निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ । भौगोलिक विकटता, हिउँद याममा हिमपात हुँदा काम गर्न नसक्नु र कोरोना महामारी यो आयोजना निर्माणमा देखिएका चुनौति हुन् ।

निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो म्याग्दी जिल्लाकै ठुलो आयोजना हो । पहाडको खोचमा आयोजनाका संरचना निर्माण भएका छन् । करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् ।

नीलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सब स्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ला हुँदै दाना सब–स्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटामध्य २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएकोे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.