Advertisement

सफला एकादशीको धार्मिक महत्व के छ त ?

0 164

Advertisement

०३ पुष, काठमाडाैं । मिति २०७९ साल पुस ४ गते सोमबार सफला एकादशी तिथि राती १० / २५ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी प्रारम्भ भएकोले पद्मपुराणमा पौष महिनाको कृष्णपक्षको एकादशीका विषयमा युधिष्ठिरले बताइदिन अनुरोध गरेपछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- ठूला-ठूला यज्ञबाट पनि मलाई त्यति सन्तोष हुदैन,जति एकादशी व्रतको अनुष्ठानबाट हुन्छ।त्यसैले एकादशी-व्रतको विधिवत पालना अवश्य गर्नुपर्छ।पौष महिनाको कृष्णपक्षमा सफला नामको एकादशी पर्छ।यस दिन भगवान नारायणको विधिपूर्वक पूजा गर्नुपर्छ।यो एकादशी कल्याणकारिणी एकादशी हो।जुनसुकै एकादशी समस्त व्रतहरू मध्ये श्रेष्ठ मानिन्छ।

सफला एकादशीका दिन विभिन्न नाम-मन्त्र उच्चारण गर्दै फलफूलद्वारा श्रीहरिको पूजा गर्नुपर्छ। धूप-दीपद्वारा देवदेवेश्वर श्रीहरिको अर्चना गर्नुपर्छ। सफला एकादशीका दिन दीप-दान गर्ने चलन छ।रातको समयमा वैष्णवहरूका साथमा नाम-संकीर्तन गर्दै जागरण गर्नु पर्दछ।एकादशीका दिन रात्रिमा जागरण गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो हजारौं वर्षसम्म तपस्या गर्दा पनि प्राप्त हुदैन। व्रत विधानका विषयमा भगवन श्रीकृष्ण बताउनु हुन्छ दशमी तिथिकै दिनदेखि शुद्ध र सात्विक आहार एक छाक मात्र ग्रहण गर्नुपर्छ।यस दिन आचरणमा पनि ख्याल राख्नुपर्छ र सात्विक व्यवहार गर्नु पर्छ।व्रत लिने व्यक्तिले भोग विलास एवं कामनाको भावनालाई त्यागेरा नारायणको छवि मनमा स्थापित गर्नका निम्ति राम्ररी प्रयत्न गर्नुपर्छ। एकादशी तिथिका दिन प्रात:स्नान गरेर शुद्ध वस्त्र धारण गरी निधारमा श्रीखण्ड चंदन अथवा गोपी चंदन लगाएर कमल अथवा वैजयन्ती फूल, फल, गङ्गाजल, पञ्चामृत, धूप, दीप सहित लक्ष्मी नारायणको पूजा एवं आरती गर्नुपर्छ।सन्ध्या कालमा इच्छा भए दीपदानपछि फलाहार गर्न सकिन्छ। द्वादशीका दिन भगवानको पूजापछि ब्राह्मणलाई भोजन प्रदान गरी जनै एवं दक्षिणा दिई विदा गरेपछि आफूले भोजन गर्नुपर्छ।जो भक्तले यसरी सफला एकादशीको व्रत गर्दछ र रात्रिमा जागरण एवं भजन कीर्तन गर्दछन, उसलाई श्रेष्ठ यज्ञ संपादन गर्नाले जुन पुण्य प्राप्त हुन्छ त्यसभन्दा पनि बढी फलप्राप्ति हुन्छ।भगवान श्रीकृष्णका यस्ता कुरा सुनेर महाराज युधिष्ठिरले पुनः प्रश्न गरे- हे जनार्दन ! पौष कृष्ण पक्षको एकादशीको नाम के हो? त्यस दिन कुन देवताको पूजन गरिन्छ र त्यसको उदाहरण कस्तो छ ? कृपया मलाई आज्ञा गर्नुहवस्।

भक्तवत्सल भगवान श्रीकृष्ण भन्न थाल्नुभयो- धर्मराज,मा तिम्रो स्नेहका कारण एउटा गोपनीय तत्त्व भन्दछु, सुन। एकादशी व्रतका अतिरिक्त म अधिकाधिक दक्षिणा प्राप्त हुने यज्ञबाट पनि प्रसन्न हुन्न। अत: एकादशीको व्रत अत्यन्त भक्ति र श्रद्धाले युक्त भई लिनुपर्छ। हे राजन ! द्वादशीयुक्त पौष कृष्ण एकादशीको माहात्म्य तिमी एकाग्रचित्त भएर सुन।यस एकादशीको नाम सफला एकादशी हो।यस एकादशीका देवता श्रीनारायण हुनुहुन्छ। विधिपूर्वक यस व्रतको पालना गर्नुपर्छ। जसरी नागहरूमध्ये शेषनाग, पक्षीहरूमध्ये गरुड, सबै ग्रहहरूमध्ये चंद्रमा, यज्ञहरूमध्ये अश्वमेध र देवताहरूमध्ये भगवान विष्णु श्रेष्ठ छन, त्यसरी नै सबै व्रतहरूमध्ये एकादशीको व्रत श्रेष्ठ छ।जो मनुष्य सदैव एकादशीको व्रत लिने गर्छन, ती मेरा निम्ति परम छन्।हे राजन! अब यस व्रतको कथा सुन।चम्पावती नगरीमा महिष्मान नाम गरेका राजा राज्य गर्दथे।उनका चार पुत्र थिए।ती सबैमा लुम्पक नामको जेठो छोरो महापापी थियो।त्यो पापी सदैव परस्त्री र वेश्यागमन तथा अन्यान्य नराम्रा काममा आफ्ना पिताको धन नष्ट गर्ने गर्थ्यो।सदैव देवता, बाह्मण, वैष्णव आदिको निंदा गर्थ्यो। जब राजाले आफ्नो जेठो छोरो बिग्रेको थाहा पाए उनलाई असाध्यै दुःख लाग्यो र त्यसलाई उनले आफ्नो राज्यबाट निकालिदिए। त्यसपछि लुम्पक विचार गर्न थाल्यो कहाँ जाऊँ? के गरूँ? आदि। अन्त्यमा उसले चोरी कर्मबाट जीविका चलाउने निर्णय गर्‍यो। दिउसो ऊ वनमा बस्थ्यो र रात्रिमा आफ्नो पिताको नगरीमा चोरी गर्थ्यो तथा प्रजालाई दुःख दिई दिई मार्ने कुकर्म पनि गर्थ्यो।केही समय पछि समस्त नगरवासी भयभीत भए।ऊ उता वनमा समेत पशु आदिलाई मारेर खान थाल्यो।नागरिक र राज्यका कर्मचारी उसलाई समात्दथे तर राजाका डरका कारणले छोडदथे।वनमा एउटा अति प्राचीन विशाल पीपलको वृक्ष थियो।मानिसहरू त्यस रुखलाई भगवानसरह पूजा गर्थे।त्यसै वृक्षमुनि त्यो महापापी लुम्पक बसोवास गर्थ्यो।यस वनलाई मानिसहरू देवताको क्रीडास्थली मान्दथे।केही समयपछि पौष कृष्ण पक्षको दशमीका दिन ऊ वस्त्रहीन भएका कारण शीतकालको त्यो संपूर्ण रात सुतन र निदाउन सकेन।त्यसका हातखुट्टा कक्रिए।सूर्‍योदय हुने बेलासम्म त ऊ मूर्छित भयो।अर्को दिन एकादशीका दिन मध्याह्नको समय सूर्यको तापले उसको मूर्छा हट्यो।लड्दैपड्दै ऊ भोजनको खोजीमा निस्क्यो।पशुलाई वध गर्न ऊ असक्त थियो अत: रुखमुनि झरेका फल उठाएर त्यसै पीपल वृक्षका मुनि आयो।त्यति बेलासम्म सूर्य अस्त भई सकेका थिए। वृक्षमुनि फल राखेर भन्नथाल्यो- हे भगवन! अब हजुरलाई नै अर्पण गर्दछु यी फल।हजुर नै तृप्त हुनुहवस्।त्यस दिन रात्रिको समयमा पनि दु:ख र कष्ट सहन नसकेर सुत्न र निदाउन पनि सकेन।त्यसको यस उपवास र जागरणले भगवान अत्यन्त प्रसन्न हुनुभयो र ओसका संपूर्ण नष्ट भए।अर्को दिन प्रात:कालमा एउटा अति सुन्दर घोडा अनेक सुन्दर वस्तुहरूद्वारा सजिएर उसका सामुन्ने आई उभियो र त्यसै समय आकाशवाणी भयो-हे राजपुत्र ! श्रीनारायणको कृपाले तेरा पाप नष्ट भए।अब तँ आफ्ना पिता समक्ष जा, आफूले गरेका कुकर्म प्रति क्षमा मागेर पश्चाताप गर र राज्य प्राप्त गर।यस्ता वाणी सुनेर ऊ अत्यन्त प्रसन्न भयो र दिव्य वस्त्र धारण गरी ‘भगवान हजुरको जय होस’ भनेर आफ्ना पिताको दरबारमा गयो।उसका पिताले प्रसन्न भई उसलाई समस्त राज्यको भार सुम्पिदिएर वनतर्फ वानप्रस्थ आश्रमतर्फ गए।अब लुम्पक शास्त्रानुसार राज्य गर्न थाल्यो।उसका स्त्री, पुत्र आदि सारा कुटुम्ब भगवान नारायणका परम भक्त भए।वृद्ध भएपछि ऊ पनि आफ्नो छोरालाई राज्यको भार सुम्पिदिएर वनमा तपस्या गर्न गयो र अन्त्य कालमा वैकुण्ठलोकमा गयो।अत: जो मनुष्यले यस परम पवित्र सफला एकादशीको व्रत गर्दछ उसलाई अन्त्यमा मुक्ति प्राप्त हुन्छ।जसले यस दिन व्रत लिदैनन तिनीहरू पुच्छर र सिङ्ग न भएका पशु हुन।यस सफला एकादशीको माहात्म्यलाई पढने अथवा श्रवण गर्ने मनुष्यले अश्वमेध यज्ञको फल प्राप्त गर्दछ।
पं बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.