Advertisement

शंकास्पद बिमा भुक्तानीमाथि सिआइबीको छानबिन

0 60

Advertisement

एक करोडभन्दा धेरै बिमा गरिएको व्यक्तिको लगत्तै मृत्यु भई भुक्तानी भएका फाइलमाथि सिआइबीले छानबिन गर्दै

बिमा रकमकै लागि हत्याका घटना हुन थालेपछि प्रहरीले ठूला जीवन बिमाको भुक्तानीमाथि छानबिन थालेको छ । बिमा रकम हत्याउनकै लागि नक्कली विवाह गराउनेदेखि दुर्घटनाका नाममा हत्या गर्नेसम्मको अपराध भएको खुलेपछि प्रहरीले यस्ता घटना थप हुन सक्ने आशंकामा विस्तृत छानबिन थालेको हो ।

बिमा रकमकै लागि बाँके कोहलपुरका सर्जन विकको गत वर्ष हत्या गरिएको थियो । बसको ठक्करबाट हत्या गरी दुर्घटना भएको देखाएर उनको बिमाबापतको साढे दुई करोड निकालिएको थियो । बिमा गरेको एक महिनामै हत्या भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

‘यस्ता अन्य घटना पनि भएका हुन सक्छन् कि भन्ने आधारमा हामीले विस्तृत छानबिन थालेका छौँ,’ सिआइबीका निर्देशक एआइजी उत्तमराज सुवेदीले भने, ‘शंकास्पद किसिमका फाइलको अध्ययन भइरहेको छ ।’ एक करोडभन्दा धेरै बिमा गरिएको व्यक्तिको लगत्तै मृत्यु भई भुक्तानी भएका फाइलमाथि सिआइबीले छानबिन थालेको हो ।

कमजोर आर्थिक अवस्था भएका सर्जनको स्थानीय सपना मल्लसँग विवाह दर्ता गरी उनको योजनाबद्ध हत्या भएको थियो । बिमा रकम मल्लको नाममा ल्याउन नक्कली बिहे गरिएको थियो । कोहलपुरकै सञ्जीव अर्यालको योजनामा यस्तो जघन्य अपराध भएको थियो । सञ्जीव र सपनासहित सिआइबीले घटनामा सहयोग गर्ने सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बिमाको रकम उनीहरूले बाँडीचुँडी लिएका थिए । उनीहरूमाथि ठगीका साथै संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढाइएको सिआइबीका एसपी श्यामकुमार महतोले बताए ।

उनीहरूले २८ फागुन ०७७ मा रिलायन्स लाइफ इन्स्योरेन्समा सर्जनको जीवन बिमा र म्यादी जीवन बिमा गरेका थिए । त्यसको पाँच दिनपछि उनको सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । विवाह दर्ता भएको ठीक एक महिनामा उनको हत्या भएको थियो । चार महिनापछि कम्पनीले दुई करोड ५० लाख रुपैयाँ सपनालाई भुक्तानी गरेको थियो ।

यो घटनामा बिमा कम्पनीको समेत भूमिका शंकास्पद देखिएको छ । सामान्य मजदुरी गर्ने सर्जनको साढे दुई करोड रुपैयाँको बिमा नै नियमविपरीत थियो । वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बिमा गर्न सकिन्छ । सर्जनले वार्षिक दुई लाख आय रहेको भनेर फर्म भरेका थिए । तर, पहिलो बिमा शुल्क नै पाँच लाख ४० हजार रुपैयाँ तिरिएको थियो । त्यसैले रिलायन्स लाइफ इन्स्योरेन्स कोहलपुर शाखाका कर्मचारी पनि छानबिनमा छन् ।

अझ भुक्तानीको समयमा पनि विस्तृत छानबिन भएन । कम्पनीले बिमा समितिका अध्यक्ष सूर्य सिलवालको हातबाट सपना मल्ललाई साढे दुई करोड भुक्तानी गराएको थियो । पछि नेपाल पुनर्बिमा कम्पनीका कर्मचारीले फाइल हेर्दा शंका लागेपछि छानबिन सुरु भयो र एक वर्षपछि वास्तविकता बाहिर आएको हो ।

प्रहरी अनुसन्धानले जोगियो थप दुईजनाको ज्यान
प्रहरी स्रोतका अनुसार सञ्जीवले थप दुई व्यक्तिको विवाह दर्ता गरी बिमा गराउने प्रक्रिया अघि बढाइसकेका थिए । बिमा गराएपछि दुर्घटनाको नाममा हत्या गर्ने योजना बनिसकेको खुलेको छ । त्यसरी विवाह दर्ता गरेका दुई व्यक्ति सिआइबीको सम्पर्कमा पुगिसकेका छन् । प्रहरीले ठगीका साथै ज्यान मुद्दामा पनि छुट्टै छानबिन गरिरहेको छ । त्यतिवेला सामान्य दुर्घटनाका रूपमा मात्र अनुसन्धान भएको थियो । हत्याको योजनाले ठक्कर दिने बसचालक टोपबहादुर राना क्षेत्रीलाई ३० दिन मात्र कैद सजाय भएको थियो । जब कि यस्तो अपराधमा जन्मकैद सजायको व्यवस्था छ । घटनाका योजनाकार जोगिएकाले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान हुन लागेको हो ।

बिमाका लागि श्रीमती र छोरीको हत्या
बिमा रकमकै लागि यसअघि परिवारकै सदस्यको हत्या भएका घटना पनि छन् । १७ असार ०७६ मा रौतहटको मौलापुर नगरपालिका– ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले बिमा गरेको एक महिना नपुग्दै चार वर्षीया छोरी लक्ष्मीको हत्या गरेका थिए । बिमा रकमकै लागि उनले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । रामकिशोरले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा १९ जेठ ०७६ मा छोरीको नाममा २५ लाखको जीवन बिमा गराएका थिए । त्यसको २९औँ दिनमा घाँटी थिचेर हत्या गरी पोखरीमा शव फालेका थिए । डुबेर मृत्यु भएको देखाउन उनले शव पोखरीमा फालेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.