विवेकशील साझाका संयोजक पाण्डेमाथिको कारबाही फिर्ता हुने
११ जेठ, काठमाडाैँ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रको राजीनामासँगै संयोजक मिलन पाण्डेमाथिको कारबाही फिर्ता हुने भएको छ। अध्यक्षबाट राजीनामा दिँदै मिश्रले संयोजक पाण्डसहितका नेताहरुमाथि गरिएको कारबाही फिर्ता गर्न अनुरोध गरेका छन्।
मिश्रको ‘विचारभन्दा माथि देश’ दस्ताबेजमा असहमति जनाएका पाण्डे लगायतमाथि पार्टीको केन्द्रीय समितिले कारबाही गर्ने निर्णय गरेको थियो। मिश्रले भनेका छन्, ‘समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्यसम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु।’
मिश्रले आफ्नो उक्त दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिएकाहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गरेका छन्। पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्यसम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने उनले बताएका छन्।
उनले पार्टीको साख केन्द्रीय समितिका अन्य सदस्यहरुको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास समेत व्यक्त गरेका छन्।