Advertisement

बिग्रिन थाल्यो कोरोनाविरुद्धको खोप, मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ 

0 213

Advertisement

काठमाडौं स्वास्थ्य कार्यालयमा भण्डारण गरिएको मोडर्नाको तीन हजार डोज बिग्रियो

२८ चैत, काठमाडौं । आवश्यक तामक्रम मिलाइएको भण्डारणबाट निकालेको कोरोनाविरुद्धको खोप निश्चित अवधिभित्र प्रयोग गर्न नसक्दा बिग्रिन थालेको छ । काठमाडौं स्वास्थ्य कार्यालयमै मोडर्नाको तीन हजार डोज बिग्रिएको छ । मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । माइनस २० डिग्री सेल्सियसको भण्डारबाट निकालेपछि ३० दिनसम्म दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गरेर प्रयोग गर्न सकिन्छ । तर, ३१ दिनपछि उक्त खोपको आयु सकिन्छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले निश्चित अवधिभित्र खोप लगाउने मान्छे नपाउँदा दुई दिनअघि मात्रै मोडर्नाको तीन हजार डोज खोप खेर गएको बताए ।

‘मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियसमा सुरक्षित भण्डारण गर्न सकिन्छ । त्यहाँबाट निकालेपछि दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा ३० दिनसम्म सुरक्षित रहन्छ । यो अवधिमा प्रयोग गर्न नसक्दा हाम्रोमा दुई दिनअघि मात्रै तीन हजार डोज खेर गयो,’ उनले भने, ‘दुईदेखि आठ डिग्री सेल्सियसमा राखेको मोडर्ना ३१औँ दिनदेखि प्रयोग गर्नु म्याद गुज्रिएको अन्य औषधि प्रयोग गर्नुबराबर हो ।’ माइनस २० डिग्री तापक्रममा भण्डारण गर्ने व्यवस्था केन्द्रीय खोप भण्डारण स्टोर र पथलैया मेडिकल स्टोरमा मात्रै छ । तर, पथलैयामा मोडर्नाको खोप सेन्टर स्टोर भने छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर एक करोड २३ लाख डोज खोप मौज्दात रहेकोमा मोडर्नाको १६ लाख ५२ हजार पाँच सय १० डोज र फाइजरको १५ लाख तीन हजार ६ सय ९० डोज छ । माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने फाइजर अहिले केन्द्रीय भण्डारणमा मात्रै राखिएको छ । केन्द्रबाट प्रदेश र तहमा पठाइएका मोडर्नाका हजारौँ मात्रा खोप पनि बिग्रिएको आशंका स्वास्थ्य अधिकारीको छ । उनीहरूका अनुसार हाल माइनस २० डिग्री सेल्सियस तापक्रमबाहिर मोडर्नाको ६९ हजार सात सय १० डोज खोप छ, जुन महिना दिनअघि नै पठाइएका हुन् ।

स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले पनि मोडर्ना खोप खेर जाने अवस्थामा पुगेको स्विकारे । ‘माइनस २० डिग्री तापक्रमबाट निकालेर मोडर्नाका खोप प्रदेश र जिल्लाहरूमा पठाइएको छ । लगाउने मान्छे घट्दै जाँदा धेरै खोप प्रयोगमा आएका छैनन् । खेर गएका खोपको विषयमा जानकारी लिँदै छौँ,’ उनले भने, ‘दुईदेखि आठ डिग्री सेल्सियसमा राखेपछि ३० दिन कटेको मोडर्ना खोपलाई म्याद सकिएको मान्दा हुन्छ । त्यसको काम छैन ।’

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागका कर्मचारीले मागअनुसार मोडर्ना बाहिर पठाए पनि त्यसको अवधि उल्लेख नगर्दा कति खोप खेर गयो भन्ने यकिन प्रमाण जुटाउन सकेका छैनन् । अब केन्द्रीय स्टोरबाट निकालेको दिन र त्यसपछिको ३० दिन पुग्ने मितिसहितको स्टिकर टाँसेर मात्रै खोप वितरण गर्न लागिएको छ ।

वसन्त अधिकारी
प्रमुख, स्वास्थ्य कार्यालय, काठमाडौ

मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियसमा सुरक्षित भण्डारण गर्न सकिन्छ । त्यहाँबाट निकालेपछि दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा ३० दिनसम्म सुरक्षित रहन्छ । यो अवधिमा प्रयोग गर्न नसक्दा हाम्रोमा दुई दिनअघि मात्रै तीन हजार डोज खेर गयो । दुईदेखि आठ डिग्री सेल्सियसमा राखेको मोडर्ना ३१औँ दिनदेखि प्रयोग गर्नु म्याद गुज्रिएको अन्य औषधि प्रयोग गर्नुबराबर हो ।

सागर दाहाल
प्रमुख, परिवार कल्याण महाशाखाको खोप शाखा

माइनस २० डिग्री तापक्रमबाट निकालेर मोडर्नाका खोप प्रदेश र जिल्लाहरूमा पठाइएको छ । लगाउने मान्छे घट्दै जाँदा धेरै खोप प्रयोगमा आएका छैनन् ।
खेर गएका खोपको विषयमा जानकारी लिँदै छौँ । दुईदेखि आठ डिग्री सेल्सियसमा राखेपछि ३० दिन कटेको मोडर्ना खोपलाई म्याद सकिएको मान्दा हुन्छ । त्यसको काम छैन ।

नयाँ पत्रिकाबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.