Advertisement

वृद्धवृद्धाका लागि वरदान बन्दै स्वास्थ्य बीमा कार्यक्रम

0 713

Advertisement

०७ फागुन, गलेश्वर । म्याग्दीमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुँदै गएको छ । युवा तथा बालबालिकामा भन्दा पनि वृद्धवृद्धामा यसको प्रभावकारिता बढी देखिएको पाइएको हो ।

बिरामी हुँदा हजारौँ रुपैयाँ खर्च गर्दै आएका वृद्धवृद्धाहरु अहिले स्वास्थ्य बीमा गरेपछि अस्पतालमा आउनसाथ निःशुल्क औषधि पाउन थालेका छन् । यसले गर्दा उनीहरुमा खुसी छाएको छ । घरमै आएर कर्मचारीले निःशुल्क रुपमा बीमा गरिदिएपछि अहिले म्याग्दीका वृद्धवृद्धाले निःशुल्क औषधि पाउन थालेका हुन् ।

बेनी नगरपालिका–२ बगरफाँटकीे ८२ वर्षीया रणमाया थापाले घरमै आएका दर्ता सहयोगीमार्फत निःशुल्क स्वास्थ्य बीमा गराएपछि निःशुल्क रुपमा अस्पतालबाट सेवा लिइरहेको बताउनुभयो । सरकारको निःशुल्क बीमाको नीतिले ज्येष्ठ नागरिकका लागि ठूलो राहत दिएको उहाँको भनाइ छ ।

“पहिला त केही बिरामी भएर अस्पताल जाँदा धेरै खर्च हुने गथ्र्यो, अहिले अस्पतालमा पुगेपछि कुनै पैसा लाग्दैन, हामी जस्ता नियमित औषधि सेवन गर्ने ज्येष्ठ नागरिकलाई राम्रो भएको छ”, उहाँले भन्नुभयो, “घरमै बीमा गराउन आए, उनीहरुले दिएको परिचयपत्रका आधारमा अस्पतालमा गएपछि निःशुल्क सेवा पाउँदा हामी हर्षित भएका छौँ ।”

मालिका गाउँपालिका–३ रुमका ७६ वर्षीय जीतबहादुर विकले नियमित रुपमा सुगर र प्रेसरको औषधि निःशुल्क रुपमा सेवन गर्दै आउनुभएको छ । उहाँले तीन वर्षदेखि बीमा गर्दै आएकामा पछिल्लो दुई वर्षयता निःशुल्क बीमा गर्दै आउनुभएको छ ।

उहाँले पैसा तिरेर गर्दै आएको बीमाले सहज भइरहेको बेला सरकारले पुनः हामीजस्ता ज्येष्ठ नागरिकलाई बीमा गराएर उपचारमा सहजता प्रदान गरेको विकको भनाइ छ ।

म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन् । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुस १३ गतेदेखि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा सो सङ्ख्याले बीमा गरेको बताउनुभयो । सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीतिअनुसार सुरु भएको स्वास्थ्य बीमा

पछिल्लो समय प्रभावकारी हँुदै गएको उहाँले जानकारी दिनुभयो । परिवारको हेलामा परेर उपचार नपाएका ज्येष्ठ नागरिकलाई समेत निःशुल्क स्वास्थ्य बीमाले सहज गराएको र उपचारको पहुँचमा पु¥याउँदा ज्येष्ठ नागरिकहरु खुसी भएको शर्माको भनाइ छ ।

नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम म्याग्दी जिल्लामा विसं २०७३ असारदेखि पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको थियो । कोरोना भाइरस सङ्क्रमणका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएकाले स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा छ ।

सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने हेतुका साथ अगाडि सारेको यो कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्याक्रियालगायत उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झन्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य बीमाका लागि म्याग्दी जिल्लाका ३२ जना दर्ता सहयोगीले घरघरमा पुगेर बीमा दर्ता गर्दै आएका छन् । निःशुल्कबाहेकको हकमा पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवार सदस्य भएककाको हकमा प्रतिसदस्य रु ४५० का दरले शुल्क बुझाउनुपर्ने हुन्छ । यसरी बीमा गराएपछि परिवारका सदस्यले वार्षिक रूपमा एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

वृद्धवृद्धाबाहेक अन्य नागरिकमा पनि स्वास्थ्य बीमा प्रभावकारी बनेको छ । यसले यहाँका नागरिकलाई स्वास्थोपचारमा टेवा पुगेको पाइन्छ ।

म्याग्दीको तातोपानी र गलेश्वरमा स्तरीय होटेल निर्माण

पछिल्लो समय म्याग्दीको पर्यटकीयस्थल भुरुङतातोपानी र मुक्तिनाथ प्रवेशद्वारका रुपमा मानिएको गलेश्वरमा करोडौँ रुपैयाँको लगानीमा पर्यटक लक्षित स्तरीय होटेल निर्माण हुन थालेको छ ।

उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङतातोपानीमा रु २५ करोडको लगानीमा धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो होटेल निर्माण भएको छ भने गलेश्वरमा रु सात करोडको लगानीमा होटेल ताजमहल सञ्चालनमा आएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटेल नेचुरल स्प्रिङ प्रालि’ निर्माण गर्नुभएको हो ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउण्ड अन्नपूर्णको आकर्षक पर्यटकीय गन्तव्य स्थल हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरेर तीन स्तरका सुविधासहितको कोठाहरुको व्यवस्था रहेका हमालले बताउनुभयो । उहाँका अनुसार अहिले होटलको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ ।

करिब आठ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको छ । होटेल आगामी भदौदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ । होटेलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्टसमेत सञ्चालनमा आउनेछन् ।

होटेल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिनुभयो । रु २२ करोड लागत अनुमान गरिएको भए पनि कोरोना महामारीका कारण निर्माण सामग्रीको अभाव, निर्माण कार्यमा भएको प्रभाव र सामान ढुवानीमा भएको असुविधाले लागत बढ्ने भएको उहाँले बताउनुभयो ।

“क्षमताको हिसाबले धौलागिरि क्षेत्रकै ठूलो हुन्छ, सुविधामा समेत स्टार होटेलका सुविधा उपलब्ध गराउँछौँ, सुविधायुक्त होटेलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सघाउने अपेक्षा हामीले गरेका छौं”, उहाँले भन्नुभयो ।

पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एकमात्रै बेनी–जोमसोम–कोरला सडकमा होटेल सञ्चालनमा आएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्ब्याउन टेवा पु¥याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताउनुभयो । तातोपानीमा अहिले ठूला सात र साना १५ गरि जम्मा २२ वटा होटेल सञ्चालनमा छन् ।

ती होटेलमा ४०० जनासम्म पर्यटकहरु बस्न सक्ने क्षमता छन् । अन्नपूर्ण राउन्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकखण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यस होटेलले पर्यटकलाई आरामदायी बसोबासको प्रबन्ध मिलाउन र पर्यटन प्रवद्र्धनमा सघाउने स्थानीयवासीको भनाइ छ ।

गलेश्वरमा रु सात करोडको लगानीमा बन्यो होटल

‘ताज महल’ आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्दै गएपछि मुस्ताङको प्रवेशद्वार मानिने पर्यटकीय जिल्ला म्याग्दीमा करोडौँको लगानीमा स्तरीय होटेल सञ्चालन हुने क्रम बढ्दै गएको छ ।

यसै क्रममा हालसालै म्याग्दीको गलेश्वरमा रु सात करोडको लगानीमा ‘ताज महल’ होटेल सञ्चालनमा आएका छन् । २५ वर्षअघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टङ्कलाल श्रेष्ठले पर्यटक लक्षित सो स्तरीय होटेल सञ्चालनमा ल्याउनुभएको हो । बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटेल ताजमहल लज एन्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएको श्रेष्ठले बताउनुभयो ।

चालिस वर्षीय श्रेष्ठले मिहिनेतको कमाई र सीपलाई होटेल क्षेत्रमा अघि बढाएका हुन् । गलेश्वरमा जग्गासहित करिब सात करोड लगानीमा १३ आना क्षेत्रफलमा पार्किङसहितको होटेल स्थापना गरेका छन् । सुविधा सम्पन्न होटेलमा सयजना पाहुनाहरु बस्न सक्छन्, सुविधाअनुसारको रु एक हजारदेखि तीन हजारसम्मको ३६ वटा कोठा छन् ।

चार कोठामा बाथटप, सबै कोठामा तातोपानी स्नान र इन्टरनेट सुविधासहितको पूर्वाधार रहेकोे होटेलमा मौलिक थकाली, इन्डियन, नेपाली खाजा र खानाको परिकारसहितको सेवाहरु रहेको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

विगतमा म्याग्दी मुस्ताङ आउने पर्यटकलाई होटेल सुविधा नहँुदा बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्थाको अन्त्यका लागि भएपनि कोभिड–१९ को उच्च जोखिमका बीच पनि ठूलो लगानीमा होटेल निर्माण गरेको उहाँको भनाइ छ । होटेलमा काम गर्दाको अनुभव र कमाई प्रयोग गरेर होटेल सुरु गरेको श्रेष्ठले भन्नुभयो ।

पछिल्लो समय म्याग्दीमा स्तरीय होटेल निर्माणको क्रम बढ्दै गएपछि पर्यटकलाई निकै सुविधा पुगेको छ । कोरोना सङ्क्रमणका कारण विगत दुई वर्षदेखि होटेल व्यवसाय फस्टाउन सकेको थिएन । अहिले भविष्यलाई लक्षित गरेर यहाँ स्तरीय होटेलहरु धमाधम निर्माण भइरहेका छन् । म्याग्दीमा होटेल र रेष्टुरेन्टमा मात्रै रु पाँच अर्बभन्दा बढी लगानी रहेको बताइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.