Advertisement

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

0 462

Advertisement

२२ पुस, चितवन । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । उहाँको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम उक्त महानगरपालिकाले मात्र गरेको छ ।

यी कार्य अन्य पालिकाका लागि सिको गर्ने कार्य भएको उहाँको भनाइ छ । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ । प्रमुख दाहालले भन्नुभयो, “हामीले शिक्षामा दिएको प्राथमिकताका कारण नतिजा पाउन सकेका छौँ ।” अन्य पालिकाले गर्न नसकेका काम भरतपुरले गर्न सकेको उहाँको भनाइ छ । महानगरपालिकाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेका लागि वार्षिक रु १० हजार छात्रवृत्ति उपलब्ध गराउन सुरु गरेको छ ।

सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गर्ने उद्देश्यले महाननगरपालिकाले स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट रु ६५ लाख अनुदान रकम विनियोजन गरेको छ । शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले ३० युवा स्वयंसेवक शिक्षक परिचालन गरिने बताउनुभयो । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन सो कार्यक्रम राखिएको उहाँको भनाइ छ ।

यससँगै सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब छ हजार वृद्धि भएको उहाँले बताउनुभयो । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि विसं २०७५ मा ५६ दशमलव ४७ प्रतिशत रहेकामा शैक्षिक सत्र विसं २०७७ मा पाँच दशमलव ५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको पौडेलको भनाइ छ । कूल साक्षरता दर गुणस्तरमा ९८ दशमलव पाँच प्रतिशत रहेको छ । विभिन्न स्थानमा नमूना विद्यालय स्थापना भएको उहाँले बताउनुभयो ।

शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न आइसिटी तालिम सञ्चालन गरिएको छ । सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको उहाँले बताउनुभयो । शिक्षकको पेसागत दक्षता विकासका कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत चार वर्ष छ महिनामा ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ ।” शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमूना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । संस्थागत विद्यालयको साझेदारीमा कक्षा ११ का २३९ विद्यार्थीलाई मेरिट बेसमा आधारित पूर्ण छात्रवृत्ति प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नेपालमा नै पहिलो कार्य हो ।”

लैङ्गिक हिंसारहित विद्यालय बनाउन सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक महिला शिक्षिकालाई लैङ्गिक सम्पर्क शिक्षक तोकिएको उहाँको भनाइ छ । उनीहरुलाई लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरणसमेत दिइसकिएको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ । सामुदायिक विद्यालयमा पाँच बस उपलब्ध गराइएको र अहिले पनि त्यो कार्यक्रम सञ्चालन गरिने छ ।

महानगरपालिकाभित्र सामुदायिक १२३ र संस्थागत विद्यालय ९७ रहेका छन्् । ती विद्यालयमा ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरपालिकाभित्र कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, दुई मेडिकल कलेजसहित अन्य प्राविधिक कलेजसँगै विभिन्न विश्वविद्यालयका आंगिक क्याम्पस, सामुदायिक क्याम्पस र निजी क्याम्पस रहेका छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँका स्कुल र कलेजमा विद्यार्थी पढ्न आउने गर्दछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.