Advertisement

कोरोना महामारीबाट जोगियो सन्थाल समुदाय

0 313

Advertisement

०७ पुस, झापा । यहाँ बसोबास गर्दै आएको आदिवासी सन्थाल समुदाय कोभिड-१९ को महामारीको प्रभावबाट अन्य समुदायका तुलनामा जोगिन सफल भएको पाइएको छ ।

जिल्लामा कोभिड-१९ बाट सङ्क्रमित भएकाको विगत डेढ वर्षको तथ्याङ्क अध्ययन गर्दा ती समुदायमा न्यून प्रभाव परेको र मानवीय क्षति एकदमै थोरै रहेको देखिन्छ ।

ती समुदाय आर्थिकरुपले जति विपन्न छन्, स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै पहुँचविहीन छन् । स्थायी रोजगारी र पर्याप्त स्रोतको अभावमा उनीहरु भोक, रोग र दैनिक जीवनका कठिनाइको बोझले थिचिएका हुन्छन् ।

यति हुँदाहुँदै पनि कोरोना भाइरसको सङ्क्रमणबाट यो समुदाय जोगिन कसरी सफल भयो ? यसका कारणबारे ठोस अध्ययन अनुसन्धान भएको छैन । दशकौँअघि झापालगायत तराईका जिल्लामा फैलिएको औलो (मलेरिया) रोगको महामारीमा समेत यो समुदाय सुरक्षित थियो ।

विसं २०२० अघिसम्म मलेरियाको महामारीग्रस्त जिल्ला मानिन्थ्यो । यसको कडा प्रभावबाट अरु समुदायका मानिसको अनगिन्ति मृत्यु भएको मेची बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक चिन्तामणि दाहाल बताउनुहुन्छ । तत्कालीन समयमा पनि जिल्लामा बसोबास गरिरहेका ती समुदाय भने पुरै सुरक्षित थियो ।

उहाँले सन्थाल समुदायमा कोरोना भाइरस प्रतिरोध गर्नसक्ने क्षमता ज्यादामात्रामा रहेको हुनसक्ने विषयमा अनुसन्धानको खाँचो आँैल्याउनुभयो । “यसरी उनीहरुले मलेरिया पचाउनसके, त्यसरी नै कोरोना भाइरस पचाएको हो कि होइन भन्ने विषयमा वैज्ञानिक अनुसन्धान जरुरी छ”, उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार नेपालमा कोरोना महामारीको पहिलो लहर चलेको अवधि विसं २०७७ वैशाख १ देखि विसं २०७८ चैत ३१ गतेसम्ममा १२९ जनाले कोरोना सङ्क्रमणका कारण मृत्युवरण गरेका छन् ।

उक्त एक वर्षका अवधिमा ती समुदायका दुई महिनाका एक जना शिशुको मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यसबाहेक पहिलो लहरमा सो समुदायका कसैको पनि मृत्यु भएको पाइँदैन ।

कोरोना महामारीको दोस्रो लहर चलेका बेला विसं २०७८ वैशाख १ देखि विसं २०७८ असोज मसान्तसम्मको तथ्याङ्क अध्ययन गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा ती समुदायका ६० वर्षीया एक वृद्धाको सङ्क्रमणबाट मृत्यु भएको पाइयो । जबकि, दोस्रो लहरमा जिल्लामा कोरोना सङ्क्रमणबाट ४०३ जनाको मृत्यु भएको थियो ।

यी दुई जनाको बाहेक सन्थाल समुदायमा कोरोना सङ्क्रमणबाट कसैको मृत्यु भएको रेकर्ड देखिँदैन । जिल्लामा लगभग ४० हजार आदिवासी सन्थालको बसोबास रहेको अनुमान छ । ती समुदाय शहरिया र आधुनिक जीवनचर्याबाट अझै पनि टाढा छ । केहीको पक्की घर र सुविधाजनक बसोबास भए तापनि अधिकांश सन्थाल ग्रामीण भेगमा कच्ची घरमा बस्छन् र उनीहरुको रहनसहन परम्परागत शैलीको छ ।

सन्थाल समुदायका अगुवा युवा जिसु मुर्मुले शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँचबाट बाहिर रहेका सन्थाली बिरामी हुँदा ठूला अस्पताल पुग्न सक्दैनन् । धाँमीझाँक्री र जङ्गली जडीबुटी लगाएर चित्त बुझाउँछन् । जाडो र गर्मी दुवै सहनसक्ने बानी विकास भइसकेका उनीहरुको खानपान सामान्य नै हुन्छ ।

खोलाखोल्सीमा माछा, गँगटा मारेर खाने उनीहरु उसिनेको चामलको भात रुचाउँछन् । जङ्गलमा पाइने निगुरो, पिपला, च्याउ आदि खोजेर ल्याउँछन् । मुसा, खरायो आदि शिकार गर्ने उनीहरुको खान्कीमा माछामासु र सागपात हुने गर्दछ ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठले सन्थाल बस्ती बाहिरी समुदायबाट जहिल्यै आइसोलेसनमा जस्तै हुने बताउनुभयो । सन्थालको बस्ती अरु समुदायको बस्तीभन्दा केही टाढा र झुरुप्प एकैठाउँमा हुने गर्दछ । उहाँका अनुसार दिनभरि खेती र चिया मजदुरी गरेर जीविका चलाउनुपर्ने भएकाले यो समुदायको कामदार जनशक्ति बजार र भीडभाडतिर हिँड्नै भ्याउँदैन । त्यस्तै पाका र बालबालिका उमेरका मानिस आफ्नै घरगाउँ छाडेर बाहिर जाँदैनन् ।

कोरोनाबाट बच्नका लागि विश्वस्वास्थ्य सङ्गठनले दिएको निर्देशनमा पहिलो नम्बरमा भीडभाडमा नजानु र जानै परेमा मास्क अनिवार्य लगाउनुपर्ने भन्ने थियो । सन्थाल समुदाय आर्थिक अभावका कारण मास्क लगाएर हिँड्दैनन । भीडभाडमा नजाने भएकाले सन्थाल समुदाय सुरक्षित रहेको हुनसक्ने उहाँको अनुमान छ ।

लामो समय बन्दाबन्दी हुँदा सन्थाल समुदायले रोजगारी गुमाएसँगै हातमुख जोर्न मुस्किल हुने समस्या भोगे । चिया बगान र खेतीमा काम गर्ने मजदुर रहेका सन्थाल कतिले नियमित काम पाए । तर, अधिकांशले घरै बस्नुपर्दा भोकमारीको सामना गर्नुपर्‍यो । सरकारी निकाय, सामाजिक संस्था र दाताले दिएको राहतका भरमा उनीहरुले लामो बन्दाबन्दी गुजारेका थिए । घर गाउँ छाडेर बाहिर त्यति नहिँड्ने भएका कारण उनीहरु कोरोना सङ्क्रमणबाट जोगिएको हुनसक्छ भन्ने तर्क पनि बलियो छ ।

खोपको विकास नभइसकेको अवस्थामा भारत, अमेरिका, फ्रान्सलगायतका विभिन्न मुलुकमा मलेरियाको उपचारमा प्रयोग हुने ‘क्लोरिक्विन’ नामक औषधि नै कोरोना सङ्क्रमितको उपचारमा प्रयोग भएको थियो । मलेरियाको यो औषधि कोरोनाका बिरामीमा प्रयोग गर्दा साइड इफेक्ट देखिएको बताइए पनि विभिन्न देशले आपत्कालीन प्रयोगको अनुमति दिएका थिए । मलेरिया नलाग्ने भएका कारणले सन्थाल समुदायमा रोग प्रतिरोधी क्षमता बंशानुगतरुपमा ज्यादा हुन्छ भन्ने अनुमानलाई बल पुगेको छ ।

सन्थाल समुदायको बसोबास झापा र मोरङमा मात्र पाइन्छ । आदिकालदेखि जङ्गल फँडानी गरेर बसोबास गरेका उनीहरु पाँच दशकअघिसम्म आधा वर्ष वन्यजन्तु सिकार गर्ने र कन्दमूल खोजेर खाने गर्थे । आधा वर्ष भने खेती किसानी गर्थे । बाहै्रमहिना माछा मार्ने उनीहरुको बानी थियो । उनीहरु खानेकुरा पछिका लागि भनेर भण्डारण गरेर राख्दैनन् । माछा र मासु जस्ता खाना खाइरहने उनीहरुको शरीरमा प्रोटिनको अभाव हुँदैन । यसलेसमेत रोग प्रतिरोधी क्षमता बढाएको हुनसक्छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरका कोभिड उपचार विभागका प्रमुख डा मनिष सुवेदीले सन्थाल वा कुनै जाति विशेषलाई कोभिड- १९ को सङ्क्रमण नहुने भन्ने मान्न नसकिने बताउनुभयो । तर सन्थालमा कोरोनाको प्रभाव न्यून देखिनु र मानवीय क्षति ज्यादै कम हुनु वैज्ञानिक अनुसन्धानको विषय हुनसक्ने उहाँको धारणा छ ।

“सन्थाल समुदायमा सङ्क्रमितको सङ्ख्या कति धेरै छ भन्ने कुराले पनि मृत्युदरलाई प्रभावित पारिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “जहाँसम्म मलेरियाको औषधिको सन्दर्भ छ, नेपालमा पनि सुरुका दिनतिर कोरोनाका बिरामीमा त्यस्तो औषधि प्रयोग गरिएको थियो । पछि प्रयोग बन्द गरियो । हामीकहाँ सन्थाल र उराउलगायतका समुदायका बिरामीको पनि उपचार भएको छ ।”

अरु समुदायको तुलनामा सन्थाल समुदाय आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका क्षेत्रमा ज्यादै पछाडि छ । एउटै परिवारमा एकले अर्कोको उपचारमा प्रत्यक्ष सघाउन नसक्ने, छिमेकीलाई सहयोग पुर्‍याउन नसक्ने, भेटघाट र आवागमन ठप्प पारेर कोठामा बन्दी जस्तो बस्नुपर्ने अवस्था व्यहोर्नु परेको कोरानाकालमा सन्थाल समुदाय उच्च जोखिममा रहेको अनुमान गरिएको थियो ।

अवस्था नाजुक भए तापनि सन्थाल समुदायले महामारीको सहजै सामना गरेको पाइएको छ । आदिवासीकै राजबंशी, मेचे, धिमाललगायत समुदायमा सङ्क्रमणको उच्च प्रभाव परेको र मृत्युदर पनि निकै धेरै भएको पाइएको थियो । यद्यपि सन्थाल समुदाय यसबाट धेरै हदसम्म जोगिन सक्यो । यसका कारण पत्ता लगाउन वैज्ञानिक अनुसन्धानको खाँचो सबै क्षेत्रले औँल्याएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.