Advertisement

सहरी सडक निर्माणले गति लिन सकेन

0 452

Advertisement

१० मंसिर, गोदावरी । कैलाली र कञ्चनपरका स्थानीय तहमा निर्माणाधीन आधुनिक सहरी सडकको निर्माणले गति लिन सकेको छैन । स्थानीय तहले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो सोअन्तर्गतका योजना कार्यान्वयन भए पनि निर्माणले गति लिन नसकेको हो ।

ती दुई जिल्लामा योजना कार्यान्वयनको एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कैलालीले जनाएको छ । चौबीस महिनामा निर्माणसम्पन्न गरिसक्ने गरी २०७७ असारमा ती योजनाको सम्झौता गरिएको थियो । काम सुरु भएका ती योजनाको भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशतमात्रै रहेको जनाइएको छ ।

कैलालीका दुई र कञ्चनपुरका दुई स्थानीय तहमा रु ११ अर्ब बजेटमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको छ । आयोजनाका अनुसार धनगढी उपमहानगरपालिकामा पहिलो चरणमा निर्माण गर्न थालिएको सडकको भौतिक प्रगति २० र वित्तीय प्रगति १७, गोदावरी नगरपालिकामा भौतिक प्रगति १८ र वित्तीय प्रगति १५, शुक्लाफाँटा नगरपालिकामा भौतिक प्रगति ३४ र वित्तीय प्रगति ३० तथा भीमदत्त नगरपालिकामा भौतिक प्रगति २१ र वित्तीय प्रगति १० प्रतिशत भएको छ ।

धनगढी उपमहानगरपालिकामा कालिका कन्ट्रक्शनले सातवटा सडकको जम्मा १०.२४ किलोमिटर खण्ड रु ७६ करोड छ लाखमा काम गरिरहेको छ । सात सडकमध्ये चार सडकमा मात्रै काम सुरु भएको आयोजनाले जनाएको छ । तीन दशमलव ६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ०.७ किलोमिटरको क्याम्पस रोड–जाखोरताल, ०.८७ किलोमिटरको डिभोटी–पिपलचौतारा र १.१५ किलोमिटरको हसनपुर रोड बनिरहेको छ भने २.७ किलोमिटरको गुल्म–चर्च रोड, १.३८ किलोमिटरको चौराहा–कैलालीनाला (चार लेन) ०.४३ किलोमिटरको मालपोत रोडमा काम सुरु भएको छैन ।

कैलालीको गोदावरी नगरपालिकामा पनि कालिका कन्ट्रक्शनले छ वटा सडकको १६ किलोमिटर खण्ड रु ४८ करोड १७ लाखमा निर्माण गर्ने सम्झौता गरेको छ । गेटा आँखा अस्पतालबाट जोनापुर, जोनापुरबाट कत्था उद्योग, गेटा आँखा अस्पतालबाट लालपुर, लालपुरबाट गौरी, सिर्जनानगरबाट चौकीडाँडा र चौकीडाँडाबाट चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख प्रविन शाहले बताउनुभयो ।

यसैगरी शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाखमा ४.७७ किलोमिटरका तीन सडक निर्माण गरिरहेको छ । झलारीबाट फुलेली, शुक्लाफाँटा नगरपालिका र पिपलाडीसम्मको तीनवटै सडकमा काम भइरहेको छ । भीमदत्त नगरपालिकामा जेडआइइसी लामा कन्ट्रक्शनले ८७ करोडमा १४ किलोमिटरका १९ सडक निर्माण गरिरहेको छ । तीमध्ये दुई सडक मदनचोक–दशरथ चोकर ट्राफिक चोक–बिपी चोक सडक चार लेनको बन्ने आयोजना प्रमुख शाहको भनाइ छ ।

कोरोना महामारी र अन्य कारणले निर्माण कम्पनीहरुले समयमा काम गर्न नपाएको हुनाले समयमा निर्माणले गति लिन नसकेको उहाँको भनाइ छ । आयोजनाअन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना छ । पहिलो चरणको निर्माण सम्पन्न गरिसकेपछि दोस्रो चरणको निर्माण सुरु गरिने एकाइका इञ्जीनियर पुजन न्यौपानेले जानकारी दिनुभयो ।

सन् २०१५ मा रु ११ अर्बको लागतमा आधुनिक सडक र प्रत्येक स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण अनुदानमा आयोजना लागू भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.