Advertisement

तरकारी व्यवसायमा जमेको सामन्त जोडी

0 606

Advertisement

१४ कात्तिक, दार्चुला । महाकाली नगरपालिका–९ थाप्लाका ५२ वर्षीया जानकीदेवी सामन्त र ५२ वर्षीय विक्रमसिंह सामन्तको दैनिकी डेढ दशकयता तरकारी खेती गोडमेलमा बितेको छ ।

बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी लगाउने र बेर्ना छर्ने काममा व्यस्त हुन्छन्, जहिल्यै यो जोडी । विसं २०४२ देखि सानो तरकारी बारी सुरु गरेका जानकीका श्रीमान् विक्रमले २०६२ सालदेखि व्यावसायिक रुपमा तकारी खेतीमा आबद्व भएका हुन् । उहाँले आफूमात्र नभई घरका श्रीमती जानकी, आमा, बुबा, बुहारी सबैलाई तरकारी खेतीको काममा लगाएका छन् ।

तत्कालीन कृषि विकास कार्यालय र कृषि क्षेत्रमा काम गर्ने सहभागी नामक संस्थाले तरकारी खेती उत्पादन सिकाएपछि विक्रमको दिनचर्या मात्र नभई पूरै परिवारको दिनचर्या तरकारीमा बित्न थालेको हो । जानकीका परिवारले १०८ रोपनी व्यक्तिगत र एक सय रोपनी जमिन भाडामा लिएर बीउ उत्पादन र तरकारी उत्पादन गर्ने काम सुरु गर्नुभएको छ । तरकारीमा भविष्य देखेका उहाँले पूरै घरपरिवारलाई तरकारी खेतीमा नै लगाएका हुन् ।

तरकारीको बजार खोज्ने, ढुवानी प्रबन्ध गर्ने र बजारीकरण गर्ने जिम्मा श्रीमान् विक्रमको हो । घरमा बीउ लगाउने, तरकारीको हेरचाहदेखि उत्पादन र टिपेर बजारसम्म लैजाने काममा घरमा आफूसँगै बुहारी पार्वत र माधवीले साथ दिएका छन् । “तरकारी खेती गर्न घरपरिवारले मात्रै सम्भव नभएपछि मौसमअनुसार गाउँका ४० देखि ५० जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छौँ”, उहाँले भन्नुभयो, “कुन तरकारी लगाउने, कुन समयमा बेर्ना लगाउने, मल हाल्ने सिकाउने काम श्रीमान्ले गर्छन् ।” घरको मूलीका रुपमा विक्रमले तरकारी खेती लगाउनमा भूमिका खेल्ने गर्नुहुन्छ ।

महाकाली लोकमार्गबाट झण्डै तीन घण्टा उकालो हिँडेपछि सामन्तको तरकारी खेतमा पुग्न सकिन्छ । उहाँले उत्पादन गरेको तरकारी गाउँमा मात्र नभई भारत उत्तराखण्डको जोलजीवी, बालुवाकोट धार्चुला र दार्चुला सदरमुकाम खलङ्गालगायत क्षेत्रमा बिक्री हुन्छ । उहाँलाई सबैले ‘तरकारीवाला’ भनेर गाउँमा चिन्ने गर्छन् । उहाँले एक मौसममा झण्डै चार हजार क्विन्टल तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको बताउनुभयो । “तरकारी र बीउ बेर्ना बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु १० लाख बचत हुने गरेको छ”, विक्रमले भन्नुभयो, “यो वर्ष कोरोनाका कारण धेरै तरकारी र बेर्ना उत्पादन गरेनौँ । तर पनि अहिलेसम्म रु तीन लाख मूल्य बराबरको प्याजको बेर्ना र रु एक लाख मूल्य बराबरको तरकारी बजारमा पठाएका छौँ ।”

उहाँले विसं ०६२ अघिसम्म तरकारी थोरै मात्र उत्पादन गर्ने गरेका थियौँ । खेतमा अन्नबाली लगाउने गरिएको थियो । त्यसयता भने अन्न उत्पादन छोडेर तरकारीमा पूरै परिवारमात्र नभई गाउँलेलाई समेत रोजगारी दिलाउँदै अघि बढेका छाँै भन्नुभयो । ”तरकारीको आम्दानीबाटै जेठो छोरा दीपेन्दलाई्र एसएलसीसम्म चितवनमा र बिबिएस सदरमुकाम खलङ्गामा पढाए ।

अर्को छोरा कृष्ण चितवनमै ओभरसियर गरेर पाँच वर्ष कतारमा बसे । कोरोनाका कारण अहिले घर फर्किएको छ । दुई छोरीलाई पनि सँगसँगै पढाएको हुँ”, उहाँले भन्नुभयो । सानो क्षेत्रफलबाट सुरु गरेको तरकारी खेतीबाट सामन्त दाम्पत्यले अहिले करोडौँको सम्पत्ति जोड्न सफल भएका छन् ।

विसं २०४२ मा एसएलसी अनुत्तीर्ण भएपछि विक्रमको जीवनले फड्को लिएको हो । घरको आर्थिक अवस्था नाजुक भएका कारण थप पढाइ गरिएन् । बरु गाउँमा तरकारी लगाउन थाले विगत सम्झँदै विक्रमले भन्नुभयो, “०४२ सालमा गाउँ नजिकैबाट जानकीसँग विवाह भयो । विवाह भएपछि तरकारी खेतीसँगै किसानी काममा जोडिए दुवै जना । श्रीमान् श्रीमती मिलेर तरकारी खेती, भैँसी, गाई र बाख्रासँगसँगै पाल्न सुरु गरे ।”

श्रीमान्ले तरकारी खेतीको तालिम लिँदै गए र श्रीमतीलाई घरमा सिकाउन थाले । श्रीमान्को सीपको प्रयोगले आफू पनि तरकारी खेतीमा जम्न सकेको जानकीले बताउनुभयो । “सुरुमा यति विकट ठाउँमा तरकारी उत्पादन गरेर आम्दानी होला जस्तो लाग्दैन थियो,” उहाँले भन्नुभयो, “यो डाँडामा तरकारी लगाएर कहाँ बिक्री होला, कसले खाला यत्रो तरकारी सोचिन्थ्यो तर विक्रमको हिम्मत कहिल्यै पछि परेन ।” हुनत् जानकीले पनि कक्षा ७ सम्मको पढाइ गरेका छन् । दुवैले अलिअलि व्यापार व्यवसायमा दिमाग लगाइसकेका थिए । “अन्नबाली लगाउँदा सात÷आठ महिनाभन्दा बढी नपुग्ने ? त्योभन्दा श्रीमान्ले तरकारी खेती नै गरौँ भनेपछि व्यावसायिक रुपमै तकारीमा होमियौँ”, उहाँले भन्नुभयो ।

गाउँको पूरै अग्र्यानिक तरकारी भएर पनि उहाँको बारीसम्म तरकारी हेर्न, अवलोकन गर्न जानेको भीड लाग्छ । जिल्लाका न्यायाधीश, सिडियो, सुरक्षा अधिकारी, सरकारी कार्यालय, गैससकर्मीदेखि राजनीतिक दलका प्रमुख नेता सामन्तको तरकारी बारी हेर्न वर्षमा एकदुईपटक पुगेकै हुन्छन् । उहाँले गाउँमा पुग्ने पाहुनालाई आतिथ्य गराउने र अग्र्यानिक खाना खुवाएर पठाउने, व्यवसायको सफलताबारे सुनाउने गर्नुहुन्छ । “मैल एसएलसी कटाएको भए जागिर खान्थे होला, जागिर अहिलेको जस्तो सम्पत्ति र मानसम्मान पाउँदैन थिए होला”, विक्रमले भन्नुभयो, “मैले जुन पेसा अँगाले यसले मलाई आत्मसन्तुष्टि दिलाएको छ ।”

यति ओकालो बाटो हिँडेर मेरो बारीसम्म आएर अवलोकन गर्छन् हाकिमहरु । लगातार तीनपटक राष्ट्रपति कृषक पुरस्कार पाएको छु । जिल्लाका सबै ठाउँ पुगेर तरकारी लगाउन सिकाएको छु । अगुवा कृषकको उपाधि पाएको छु । योभन्दा हाम्रो परिवारका लागि आत्मसम्मान के हुन्छ र ? सुरुमा केही कठिनाइ भए पनि अहिले मिहिनेतले सफलता दिलाएको छ । खेतमा हाल्ने मल घरमै उत्पादन गर्छन् । गाईभैँसी पालेका छन् । आधुनिक गोठ बनाएर दैनिक ४० लिटर गौत सङ्कलन गरेर मलका रुपमा प्रयोग हुन्छ । विषादी शू्न्य छ । दैनिक पाँच केजी युरिया बराबरको गौतबाट मल उत्पादन हुन्छ । गोभी, भन्टा, टमटार, खुर्सानी, प्याज, तीतेकरेला, फर्सी, लौका, रायो तरकारीदेखि हरेक प्रकारका बेर्ना उत्पादन हुन्छ, उहाँका बारीमा ।

घरमै बसेर व्यवसाय सञ्चालन गरेकामा ती दम्पत्ति खुसी छन् । “सडकको मात्रै पहुँच पुग्ने हो भने हामीले धेरै मिहिनेत गर्नुपर्दैन । सुरुमा धेरै मिहिनेत गर्नु परे पनि अहिले भने हामी सन्तुष्ट छौँ”, उहाँले भन्नुभयो, “हामीले लगाएको तरकारी देखेर अहिले गाउँमा १०÷१५ परिवारले व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेका छन् । गाउँभरिका १२० घरधुरीमध्ये एक सय घरधुरीले आफूलाई खान तरकारी लगाउन थालेका छन् ।”

उहाँका अनुसार माटोको परीक्षण हुन नसक्दा अहिले विगतको भन्दा उत्पादनमा केही ह्रास आएको छ । जलवायु परिवर्तनको असर पनि हुन सक्छ । असिनापानीले तरकारी खेती र बेर्ना समयसमयमा नष्ट हुने गर्छ । अहिले उत्पादन कम भए पनि उत्पादन क्षेत्र बढाउँदै लगेका छौँ । घरका लागि अन्न थोरै मात्र लगाउँछौँ । “हामी पूर्णरुपमा तरकारी र किसानी पेसामा छौँ तर किसान पेन्सन लागू नहुँमा मारमा छौँ”, उहाँले भन्नुभयो, “काम गर्ने उमेरसम्म काम गर्ने हो, बुढेसकालमा पेन्सन पनि भइदियो भने पहिचान पनि हुने र सहरा पनि हुने थियो होला !”

उहाँले भन्नुभयो, “विकट ठाउँमा बसेका छौँ । सडक पु¥याउनुपर्छ । आधुनिक खेती प्रविधि र तालिम दिनुपर्छ । तीन तहको सरकार छ तर गरेर खानेलाई कुनै निकायले सहयोग गर्दैनन् । थोरै अनुदान पाउन सके अझै व्यवसाय अगाडि बढाउन मद्दत पुग्ने थियो । हामीले गरेको व्यवसाय अरूले पनि सिकून् भन्ने चाहना छ ।”

‘तरकारी खेती विस्तार गर्छौं’

तरकारी खेतीमै रमाएका बिक्रम र जानकी फेरि पनि तरकारी व्यवसाय विस्तारमा जुटेका छन् । तरकारीको बेर्ना जिल्लाभरि पुग्ने गरी उत्पादन थालेका छौँ । “हामीले तरकारीबाट पहिचान बनायौँ तर हाम्रा भावी पुस्तालाई पनि यो व्यवसाय अग्रसर गराउनु जरुरी छ,” विक्रमले भन्नुभयो, “अहिले हामीले यो व्यवसाय सम्हाल्दै गए भावी पुस्ताले पनि व्यवसाय सम्हाल्छन कि ?”

सहयोगी निकाय भेटिएन

विसं २०४२देखि तरकारी खेती सुरु गरेका विक्रम सामन्त परिवार व्यावसायिक खेती अगाडि बढाउन कुनै पनि निकायबाट पछिल्लो समय सहयोग पाउन नसकेको गुनासो गर्छन् । तत्कालीन कृषि विकास कार्यालय हुँदा थोरै सहयोग मिल्थ्यो । पछिल्लो समय सङ्घीयतामा देश गइसकेपछि हामी किसानले सहयोग पाएका छैनाँै ।

“स्थानीय सरकारबाट एक पाकेट तरकारीको बीउसमेत सहयोग पाएको छैन”, उहाँले भन्नुभयो, “प्रदेश सरकारबाट आउने अनुदान पहुँचका भरमा वितरण भइराखेका देखका छौँ । मैले पटक पटक प्रस्ताव हाले तर अनुदान सहयोग पाउन सकेनौँ ।” उहाँका अनुसार अहिले पनि महाकाली नगरपालिकामा सहयोगका लागि प्रस्ताव पठाएको छु । मलाई स्प्रिङ, सिँचाइ हाइटेक प्रविधिको पोली हाउस लगायतको खाँचो छ । “प्रस्ताव स्वीकृत हुन्छ कि हँुदैन, अहिलेसम्म जानकारी छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म व्यक्तिगत लगानीमै तरकारी उत्पादन र बजारीकरण गरेका छौँ । प्रविधिमा सहयोग भयो भने जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन सक्छौँ ।”

तरकारीसँगै माहुरी उत्पादन गर्ने योजना

व्यावसायिक तरकारी, बीउ बेर्ना उत्पादन, गाई, भँैसी र बाख्रासँगै पालेका विक्रम र जानकी सामन्त अब माहुरीपालन व्यवसाय पनि सँगै अघि बढाउने योजनामा छन् । एक महिनाभित्रै चार सय माहुरी घार ल्याएर माहुरीपालन गर्ने योजना बनाएका हुन् । “डडेल्धुराबाट माहुरीसहितको घार ल्याउनुपर्नेछ”, उहाँले भन्नुभयो, “माहुरीका लागि चिउरी प्रशस्त छ, अब यो व्यवसाय पनि अघि बढाउँछु ।” महुरीको महको माग पनि बढ्दो भएका कारण यो व्यवसाय अँगाल्न लागेको उहाँको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.