Advertisement

वैदेशिक लगानीका लागि वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ ट्प्रठ : प्रधानमन्त्री देउवा

0 315

Advertisement

२३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा उपयुक्त वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित लगानी बोर्डको दशौँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसमेत गर्नुभयो ।

नेपालले लिएको दीगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

उहाँले वैदेशिक लगानीको पहिचान र खोजी गरी नेपालमा लगानी गर्न सकिने बताउनुभएको छ । सम्मेलनमार्फत प्रत्यक्ष लगानीको पहिचान गरेर नेपाल भित्र्याउन सकिनेमा आफू आशावादी रहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले सरकारी निकाय, निजी क्षेत्रलगायतको सहकार्यमा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सङ्घीय नेपालको संरचना साझेदारीमा मात्रै विकास सम्भव हुने विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “राजनीतिक परिवर्तनपछि अब आर्थिक विकासमा मुलुक केन्द्रित भएको छ ।”

ठूला र महत्वपूर्ण राष्ट्रिय परियोजना पनि सार्वजनिक, निजी साझेदारीमा अघि बढाउनुपर्ने महसुस सरकारले गरेको प्रधानमन्त्रीको भनाइ थियो । त्यसका लागि नेपाल सरकारकोतर्फबाट आवश्यक सहयोग र समन्वय हुने उहाँले बताउनुभयो । आपसी साझेदारीबाट नै त्यस्ता परियोजनाको व्यवस्थापन गर्न सकिनेमा उहाँको जोड थियो ।

नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले त्यसका लागि नेपालले दिगो विकास लक्ष्यको अवधारणालाई पूर्णरुपमा पालना गरेर अघि बढिरहेको छ भन्नुभयो । उहाँले उक्त लक्ष्य पूरा गर्न नेपालले आर्थिक वृद्धिमा रहेको दूरी हटाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रधानमन्त्री देउवाले मुलुकको विकासका लागि निजी क्षेत्रको लगानी परिचालन गर्नुपर्ने र त्यसका लागि सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कोभिड–१९ महामारीका कारण लगानीको वातावरण बनाउनु र त्यसको सही सदुपयोग गर्नु चुनौतीपूर्ण विषय रहेको पनि उहाँले बताउनुभयो । तथापि वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन नीतिगतरुपमै अघि बढेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो । कठिन परिस्थितिमा पनि विभिन्न उद्योगले आपसी सहकार्य गरेर काम गरिरहेको भन्दै उहाँले त्यसको प्रशंसा गर्नुभयो ।

समारोहमा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण बन्दै गएको र त्यसका लागि आवश्यक वातावरण तयार पार्न सरकार तयार छ भन्नुभयो । अर्थमन्त्री शर्माले लगानीका दृष्टिकोणले पहिलो दशकमा महत्वपूर्ण आधार तयार भएको जानकारी दिँदै अबको १० वर्षमा अपेक्षा पूरा गर्नेस्तरको लगानी गर्न आवश्यक हुने उल्लेख गर्नुभयो ।

उहाँले लगानी भित्र्याउने क्रममा आइपर्ने समस्या समाधानमा सहजीकरण हुने आश्वासन पनि दिनुभयो । “ऐन नियम बनेका छन्, त्यसलाई व्यवहारमा सहजीकरण गर्नु जरुरी छ, त्यसतर्फ हाम्रो ध्यान जान्छ”, मन्त्री शर्माले भन्नुभयो ।

पर्याप्त लगानी भइनसकेको सन्दर्भमा समीक्षासहित समस्या पहिचान गरी लगानीको वातावरण बनाउनुपर्नेमा मन्त्री शर्माको जोड थियो । “लगानीकर्ता बोर्डको ढोकाबाट प्रवेश गर्दै गर्दा लगानी गर्ने विश्वास दिलाउन जरुरी छ”, अर्थमन्त्री शर्माले थप्नुभयो ।

स्रोत र साधनको प्रचुरता हुँदाहुँदै जनताको विकास आकांक्षासँग तालमेल मिलाउन धेरै ठूलो मेहेनतको जरुरी रहेको औँल्याउँदै उहाँले त्यसतर्फ लगानी बोर्डको ध्यान जाने विश्वास व्यक्त गर्नुभयो । लगानीलाई सहजीकरण गर्न निजी, सरकारी साझेदारीका साथै नागरिकलाई समेत जोड्नुपर्ने उहाँले बताउनुभयो ।

व्यापारघाटा अन्त्य गर्दै मुलुकमा समृद्धि हासिल गर्ने सन्दर्भमा आफ्नो पूँजी लगानीले धेरै ढिला हुने हुँदा वैदेशिक लगानी भित्र्याउनुपरेकाले त्यसमा निजी क्षेत्रलाईसमेत प्रोत्साहन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले नेपालको विकासका लागि महत्वपूर्ण परियोजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता मुलुकमा रहेको जानकारी दिनुभयो । उहाँले अहिले जम्मा एक हजार ३०० सय ८३ मेगावाटमात्र उत्पादन भइरहेको बताउनुभयो ।

उर्जामन्त्री भुसालले सरकारले २०३० भित्र कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको र जलविद्युत् क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिनुभयो । आगामी तीन, पाँच र १० वर्षभित्र क्रमशः तीन, पाँच हुँदै १५ हजार मेगावाटसम्मको विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उहाँको भनाइ थियो ।

उहाँले सार्वजनिक, निजी साझेदारीको अवधारणाअन्तर्गत लघु, मध्यम र ठूला जलविद्युत् परियोजना सञ्चालन गर्ने जानकारी दिनुभयो । एउटा प्रदेशमा एउटा सोलार हाइड्रो परियोजना निर्माणको योजना अघि सारिएको उहाँको भनाइ थियो । जसबाट दुई हजार मेगावाट विद्युत् उत्पादन हुनेछ ।

विद्युत् उत्पादनका लागि प्रसारण पूर्वाधार अहिलेको महत्वपूर्ण आवश्यकता रहेको औँल्याउँदै उहाँले विदेशमा विद्युत् व्यापारका लागिसमेत विद्युत् प्रसारण लाइनको विकास र विस्तारको पहल भइरहेको जानकारी दिनुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सिमेन्ट र विद्युत् उत्पादनलाई बढावा दिइरहेको जानकारी गराउँदै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेको बताउनुभयो ।

नेपाल लगानीमैत्री देश रहेको औँल्याउँदै उहाँले विभिन्न परियोजनामा विदेशी लगानीसहित काम भइरहेको जानकारी दिनुभयो । उहाँले सबैको सहभागिता र बोर्डको निर्देशन व्यवस्थापनमा थप सफलता हासिल गर्न सकिने प्रष्ट पार्दै लगानी बोर्ड एक्लैले केही गर्न नसक्ने बताउनुभयो ।

नेपालको आर्थिक विकास र समृद्धिका लागि सार्वजनिक निजी साझेदारीको अवधारणाको विकास गरिएको पनि उहाँले बताउनुभयो । निजी लगानीको परिचालनसँगै ठूला परियोजनामा निजी सार्वजनिक लगानीको दायरा बढाउनु जरुरी रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार ऊर्जा, सम्पर्क सञ्जाल, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री र वित्तीय क्षेत्रमा प्रशस्त लगानीको अवसर रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.