Advertisement

युरोकप फुटबल : नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश

0 812

Advertisement

१४ असार, एजेन्सी । उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएको डच टोलीलाई २-० ले पराजित गर्दै चेक राउन्ड अफ १६ चरण पार गर्न सफल भएको हो ।

पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्यान्ड्सले दोस्रो हाफको सुरुवातमै डिफेन्डर म्याथिस डी लिग्टको साथ गुमाएको थियो । डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो । अब चेकले सेमिफाइनल प्रवेशका निम्ति डेनमार्कसँग खेल्नेछ ।

खेलको आठौं मिनेटमा नेदरल्यान्ड्सले गोलको सुन्दर अवसर सिर्जना गरेको थियो । कर्नरमा म्यथिस डी लिग्टको हेडरले पोस्टको दिशा लिन नसकेपछि उक्त बलमा मेम्फिस डिपाएले गरेको प्रहार बाहिरियो । १६ औं मिनेटमा डोनी मालेनको प्रहारलाई गोलरक्षक टोमस भाच्लिकले बचाउँदै कर्नर दिएका थिए । जवाफी कर्नरमा पनि उनी नै बाधक बने ।

२२ औं मिनेटमा कप्तान टोमस सुचेकको हेडर थोरैले बाहिरिंदा चेकले अग्रता लिन सकेन । दायाँ विंगबाट सेभ्चिकले गरेको क्रसमा सुचेकको डाइभिङ हेडरमा गोलरक्षक बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २८ औं मिनेटमा प्याट्रिक सिकको प्रहार डे रुनलाई लाग्दै गोलरक्षक मार्टेन स्टेकेलेनबर्गले सहजै बचाए ।

३८ औं मिनेटमा चेकले अघि बढ्ने सुवर्ण अवसर खेर फाल्यो । एन्टोनिन बाराकले पेनाल्टी क्षेत्र भित्रबाट पोस्टमा प्रहार डिफेन्डर डी लिग्टले छेक्दा खेल गोलरहित नै रहयो । काउन्टर अट्याकमा राम्रो मुभ बनाएको चेकका लागि मासोपुस्तको पासमा बाराक गोल गर्न चुकेका थिए । लगत्तै अर्कोतर्फ डम्फ्राइजको लो क्रसमा मालेन बलसम्म पुग्न सकेनन् ।

दोस्रो हाफको सुरुवातमा नै डच टोलीले दुई अवसर गुमायो । डम्फ्राइजको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका मालेनले बलसम्म पुग्न सकेनन् । त्यसको केहि मिनेटमा नै डिपाएको चलाखीपूर्ण फ्लिकमा मालेनले दुई डिफेन्डरलाई बिट गरेपछि वन भर्सेस वनमा गोलरक्षक भाच्लिकलाई झुक्याउन असफल रहे ।

५५ औं मिनेटमा नेदरल्यान्ड्स १० खेलाडीमा सिमित भयो। टोलीका मुख्य डिफेन्डर म्याथिस डी लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए । उनले लडेपछि सिकलाई पेनाल्टी क्षेत्रभित्र बलसम्म पुग्न नदिने प्रयास गर्दा हातले बल रोकेका थिए ।

६५ औं मिनेटमा डम्फ्राइजले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ब्लक गर्दै खेल गोलरहित राखे । कादेर्बेकले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई उनले पोस्टतर्फ जानबाट रोकेका थिए ।

६८ औं मिनेटमा चेकले टोमस होलेसको गोलमा अग्रता लियो । कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत सहजै गोल गर्दै अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा प्याट्रिक सिकले चेकको अग्रता दोब्बर पारे । होलेसले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको पासलाई सिकले पहिलो टचमा नै गोल गर्दै चेकलाई क्वाटरफाइनल नजिक पुर्याएका थिए । उनको जारी प्रतियोगितामा यो व्यक्तिगत चौथो गोल पनि थियो ।

चेकले अब क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । आज हुने राउन्ड अफ १६ को खेलमा साविक विजेता पोर्चुगल र बेल्जियम खेल्दैछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.