नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख पाउने
१० बैशाख, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख पाउने भएका छन् ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको विजेताले ३५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले १५ लाख पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् ।
त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल भोलि (शनिबार) हुनेछ । काठमाडौं र ललितपुरबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।
यो पनि पढ्नुहोस्: