Advertisement

वैदेशिक रोजगारले निम्त्याएको असरबारे चिन्ता

0 126

Advertisement

०३ पुष, नवलपुर । वैदेशिक रोजगारका कारण समाजमा उत्पन्न हुने नकारात्मक असरबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा शुक्रबार भएको कार्यक्रममा वैदेशिक रोजगारले विप्रेषण (रेमिट्यान्स), सीप र अनुभव भित्र्याए पनि सामाजिक असर पारिरहेको उनीहरुले बताएका छन् ।

सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक रितुराम सोतीले वैदेशिक रोजगारका कारण परिवार तथा बालबच्चाबाट टाढा हुने, बालबच्चा र वृद्धा सदस्यको हेरचाहमा कमी, पारिवारिक बेमेल, विखण्डन, छोडपत्र र सामाजिक लाञ्छना, मानसिक तनावजस्ता समस्या निम्तिएको बताउनुभयो । वैदेशिक रोजगारीका कारण ऋण, ठगी, कारागार, शोषण, अलपत्र, अङ्गभङ्ग र मृत्युसम्मका घटना भएका प्रशस्त उदाहरण रहेको जनाउँदै सोतीले यसलाई न्यूनीकरण गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।

हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)को आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक समस्याबारे कार्यपत्र प्रस्तुत गर्दै सोतीले वैदेशिक रोजगारीका कारण सामाजिक विकृति बढ्दै गएको बताउनुभयो ।

त्यस्तै, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले वैदेशिक रोजगारीले आर्थिक अवस्था सबल बनाए पनि सामाजिक लागत एवं विकृति निम्त्याएको बताउनुभयो । उहाँले त्यस्ता घटना कम गर्नतर्फ समाजमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारबाट पाएको सीप, अनुभव र रेमिट्यान्सको सही सदुपयोग गर्नुपर्ने भन्दै आलेले शिक्षा नै समुन्नत समाजका लागि मागदर्शन भएकाले सबैलाई वैदेशिक रोगजारीबारे सही जानकारी दिनुपर्ने बताउनुभयो ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले अहिले चेतनास्तर वृद्धि हुँदै गएको बताउँदै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको सुधार गर्दै गइयो भने लैङ्गिक विभेद एवं लाञ्छना कम हुने बताउनुभयो ।

हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले समाज विस्तारै परिवर्तन हुँदै गइरहेको बताउँदै सबैको सहयोगले सभ्य र सुसज्जित समाजको निर्माणमा जुट्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण गर्दै हिकोडेफका परामर्शदाता रञ्जना लम्सालले वैदेशिक रोजगारबारे परामर्श एवं सूचनाका लागि सम्पर्क गर्न आग्रह गर्नुभयो ।

डिसेम्बर १८ अर्थात् आज पुस ३ गते ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार, मर्यादित श्रम रोजगारको आधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईदैछ ।

यसैबीच आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपुरले शैक्षिक सामग्री वितरण गरेको छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एवं सम्पर्कविहीन परिवारका बालबालिकाको अध्ययनमा सहयोगका लागि शैक्षिक सामग्री वितरण गरिएको मञ्चका जिल्ला अध्यक्ष युवलाल तिवारीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको पूर्वसन्ध्यामा शुक्रबार कावासोतीमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा १० जनालाई पोसाक, झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो । आप्रवासी कामदार हकहित संरक्षण मञ्चले यसअघि रु एक अभियानअन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको मञ्चकी जिल्ला उपाध्यक्ष बालकुमारी जिसीले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.