Advertisement

दत्तात्रेय को हो? धार्मिक महत्व कस्तो रहेको छ!

0 747

Advertisement

०२ पाैष, काठमाडाैं । मिती २०७८ साल पुस ३ गते शनिबार मार्गशुक्ल चतुर्दशी तिथी प्रात:६ / ५६ बजेसम्म त्यस उप्रान्त पूर्णिमा तिथी आरम्भ भएको हुनाले यो दिन पूर्णिमाव्रको साथै दत्तात्रेय जयन्ती भएकोले हार्दिक शुभकामना व्यक्त गर्दछु।

सनातन धर्मान्तर्गत त्रिदेव ब्रह्मा, विष्णु र महेशद्वारा प्रचलित विचारधाराको सम्मिश्रण गर्न भगवान् दत्तात्रेयले जन्म लिएका हुन्, अतः यिनलाई त्रिदेवको एकीकृत स्वरूप पनि मानिन्छ।त्यस्तै दत्तात्रेयलाई शैवमार्गीहरू भगवान् शिवको अवतार हो भन्दछन् भने वैष्णवहरू भगवान् विष्णुको अंशावतार मान्दछन्।ब्रह्माजीका मानसपुत्र महर्षि अत्रि यिनका पिता हुन् र कर्दम ऋषिकी कन्या र साङ्ख्यशास्त्रका प्रवक्ता कपिलदेवकी दिदी सती अनुसूया यिनकी माता हुन्। श्रीमद्भागवतमा महर्षि अत्रि तथा माता अनुसूयाका सुपुत्रका रूपमा त्रिदेव(ब्रह्मा, विष्णु र महादेव)को अंशद्वारा तीनजना छोरा जन्मिएको प्रसङ्ग प्राप्त हुन्छ।पुराणरु बमोजिम यिनका तीनवटा मुख, छवटा हात भएको त्रिदेवमयस्वरूप छ।चित्रमा यिनका पछाडि एउटा गाई र यिनका अगाडि चारवटा कुकुर देखिन्छ। डुमरीको रुखको छेउमा यिनको निवास भनिएको छ।विभिन्न मठ, आश्रम र मन्दिरमा यिनको चित्रमा वर्णित प्रतिमा र विग्रहको दर्शन गर्न सकिन्छ।

दत्तात्रेय नाथ सम्प्रदायको नवनाथ परम्परामा अग्रज आचार्य हुन्।अनि यिनी रसेश्वर सम्प्रदायका प्रवर्तक हुन् भन्ने चलन पनि छ। भगवान् दत्तात्रेयबाट वेद र तन्त्रमार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको थियो। ब्रह्माण्डपुराणमा वर्णन गरिएको विवरणअनुसार सत्ययुगमा गुरुशिष्यमाझमा हुने उपदेश-परम्परा क्षीण हुँदै गएको र श्रुतिहरू लोप हुन लागेको अवस्थामा विलक्षण स्मरणशक्तिका माध्यमबाट यस परम्परालाई पुनर्स्थापना गर्न एवं वैदिक धर्मलाई पुनर्जीवित तुल्याउन भगवान् विष्णुले दत्तात्रेयका रूपमा अवतार लिनुभएको हो। कथन बमोजिम ब्रह्मा, विष्णु र महेशका पत्नीहरू क्रमशः सरस्वती, लक्ष्मी र पार्वतीले नारदका माध्यमबाट सतीसाध्वीका रूपमा सर्वश्रेष्ठ मानिएकी अनुसूयाको अनुपम सतीत्वको प्रशंसा सुनेकाले ती साध्वीसित ईर्ष्या गर्दै ती देवीहरूले आ-आफ्ना पतिहरूलाई सती अनुसूयाको सतीत्व डगाउन उनको आश्रममा पठाएका थिए। ब्रह्मा, विष्णु र महेश तिनैजना जोगीको भेष बनाएर अनुसूयाका पति ऋषि अत्रिको आश्रममा पुगे र तिनले अनुसूयासँग शरीरका समस्त वस्त्र फुकालेर नग्नावस्थामा भिक्षा दिएमात्र स्वीकार गर्ने बताए।सतीशिरोमणि ऋषिपत्नी अनसूयाले आफुमा रहेको पतिव्रत्य धर्मको अमोघ शक्तिका प्रभावले ती साधुवेशमा उपस्थित भएका त्रिदेव (ब्रह्मा, विष्णु तथा महेश)को आशय थाहा पाइन् र तिनको आग्रहलाई तार्किक ढंगले सम्पादन गर्न ती तिनैजनालाई ‘नवजात शिशु’ बनाएर वात्सल्य भाव प्रदान गरी नग्नावस्थामा रहेर स्तनपान गराइन् र लामो समयसम्म तिनैजना देवतालाई सन्ततिवत् पालन पोषणसमेत गरिन्।

पछि सरस्वती, लक्ष्मी र पार्वतीमा हीनताबोध भयो। तीनैजना देवीहरूले अनुसुयासँग माफी माग्नु पर्यो अनि मात्र ब्रह्मा, विष्णु र महेश्वरले नवजात शिशुको स्वरूप त्यागेर आफ्नो वास्तविक रूपमा परिणत हुनपाए।तिनैजना देवताले अनुसूयाको मातृत्वभावलाई स्वीकार गरी तिनका कोखबाट जन्म लिने वाचा पनि गरे। फलस्वरूप ती त्रिदेवमध्ये ब्रह्माको अंशबाट रजोगुण प्रधान ‘सोम’को, विष्णुको अंशबाट सत्त्वगुण प्रधान ‘दत्त’को र शङ्करको अंशबाट तमोगुण प्रधान ‘दुर्वासा’को जन्म भयो। विष्णुले अनुसूयालाई वर प्रदान गर्दा ‘अहं तुभ्यंमयादत्त’ भनेका हुनाले यिनको अंशबाट प्रादुर्भूत शिशुको नाम ‘दत्त’ रहन गयो।अत्रि मुनिको ‘पुत्र’ भएर जन्मिएका कारणले यिनलाई ‘आत्रेय’ भन्ने वंशोपाधि पनि प्राप्त भयो। त्यसैले ‘दत्त’ र ‘आत्रेय’को योगबाट ‘दत्तात्रेय’ नाम रहन गएको हो।

गवान दत्तात्रेयको जयन्ती मार्गशीर्ष महिनामा मनाउने चलन छ।दत्तात्रेयलाई ईश्वर र गुरु दुवै रूप समाहित भएको व्यक्तित्वका रूपमा लिइन्छ, त्यसैले उनलाई ‘परब्रह्ममूर्ति सद्गुरु’ र ‘श्रीगुरुदेवदत्त’ पनि भनिन्छं।उनलाई गुरूपरम्पराका आदिगुरु, साधक, योगी र वैज्ञानिक मानिन्छ। सनातन धर्मका सिद्धान्त र मान्यताबमोजिम दत्तात्रेयले पारद देखि व्योमयान उड्डयनसम्मको शक्तिलाई समेत नियन्त्रणमा लिएका थिए रे।त्यस्तै उनले चिकित्साशास्त्रका क्षेत्रमा क्रान्तिकारी अन्वेषण गरेका थिए।

भगवान दत्तात्रेयले जीवनमा धेरै व्यक्तित्वहरूसित शिक्षा ग्रहण गरे।दत्तात्रेयले मानवेतर अन्यान्य पशुपन्छीको जीवन र तिनका कृयाकलापबाट पनि ज्ञान आर्जन गरे। उनको विचार के छ भने जसबाट जति गुणहरू ग्रहण गरी प्रयोग गरिन्छ, ती व्यक्ति र वस्तुलाई गुणप्रदाता मानेर आफ्नो गुरु मान्न सकिन्छ। त्यसैले दत्तात्रेयका २४ जना गुरु रहेको प्रसङ्गलाई श्रीमद्भागवतादि पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ , ती गुरुहरू हुन्- पृथ्वी, पानी, आगो, हावा, आकाश, चंद्रमा, सूर्य, परेवा, अजिङ्गर(सर्प), समुद्र, फट्याङ्ग्रा, भँवरो, मौरी, हात्ती, मृग, माछो, पिङ्गला(वेश्या), कुररपक्षी, नवजात बालक, कुमारी केटी, सर्प, सिकारी, माकुरो र धमिरो।

उनका तीनजना प्रमुख शिष्य थिए र तिनै जना विभिन्न स्थानका राजा थिए।ती मध्ये दुई जना क्षत्रीय थिए भने एकजना असुर जातिका थिए। उनकै शिष्यहरूमध्ये एकजना भगवान् परशुराम पनि हुन् भन्ने भनाइ छ।भारतीय राज्य त्रिपुरामा वैष्णव, शैव र शाक्त गरी तीनवटा मुख्यौख्य सम्प्रदायको सङ्गमस्थलका रूपमा यिनले एउटा शिक्षाकेन्द्र स्थापना गरेका थिए।परम्परारूपी त्रिवेणीको अनौठो सङ्गम भएका कारणले प्रतीकात्मक रूपमा यिनका तीनवटा टाउका थिए भनिएको हो भन्ने मान्यता छ।पुराणमा उल्लेख भएअनुसार दत्तात्रेयले परशुरामलाई श्रीविद्या नामक मन्त्र प्रदान गरेका हुन्।त्यस्तै भगवान् शिवका पुत्र कार्तिकेयलाई यिनले अनेकौं विद्याहरू प्रदान गरेका थिए, अनि भक्त प्रह्लादलाई अनाशक्ति योगको उपदेश दिएर उनलाई श्रेष्ठ राजा बन्ने क्षमता समेत प्रदान गरेका थिए।मुनि साङ्कृतिलाई अवधूत मार्गको, कार्तवीर्यार्जुनलाई तन्त्रविद्याको र नागार्जुनलाई रसायन विद्याको ज्ञान यिनकै कृपाबाट प्राप्त भएको हो।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.