१५ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर तेहरानमाथि दबाब बढाउँदै ‘समय घर्किँदै गएको’ चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति र नौसैनिक बेडा (आर्माडा) को तीव्र परिचालनबीच ट्रम्पले इरानलाई वार्ताको टेबुलमा आउन वा गम्भीर सैन्य परिणाम भोग्न तयार रहन धम्की दिएका हुन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले एक विशाल अमेरिकी नौसैनिक टोली ‘शक्ति, उत्साह र उद्देश्यका साथ’ इरानतर्फ अघि बढिरहेको बताएका छन् । यो सैन्य उपस्थिति भेनेजुएलाको सत्ता परिवर्तनका बेला पठाइएको बलभन्दा पनि ठूलो भएको दाबी गर्दै उनले भनेका छन्, ‘आशा छ इरान चाँडै वार्तामा आउनेछ र एक निष्पक्ष सम्झौता गर्नेछ- परमाणु हतियार रहित इरान नै हाम्रो सर्त हो ।’ उनले थपे, ‘हाम्रो सैन्य बल आवश्यक परेमा तीव्र गति र हिंसाका साथ मिसन पूरा गर्न सक्षम छ ।’
इरानको जवाफ: ‘हाम्रो औँला ट्रिगरमा छ’
ट्रम्पको धम्कीको कडा प्रतिवाद गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्ना सशस्त्र बलहरू ‘ट्रिगरमा औँला राखेर’ बसेको बताएका छन् । उनले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल र शक्तिशाली’ जवाफ दिने चेतावनी दिएका छन् । यद्यपि, अराघचीले इरान सधैँ बराबरीको हैसियत र दबाबमुक्त वातावरणमा ‘न्यायोचित परमाणु सम्झौता’ का लागि तयार रहेको पनि स्पष्ट पारेका छन् । उनले इरानको परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको र परमाणु हतियार निर्माण गर्ने कुनै सोच नरहेको दाबी पुनः दोहोर्याएका छन् ।
आन्तरिक संकटमा इरानी शासन
इरानभित्र अहिले आर्थिक संकट र जनविद्रोहका कारण शासन व्यवस्था नै संकटमा परेको विश्लेषण गरिएको छ । इरानी मुद्राको भारी अवमूल्यनपछि सुरु भएको प्रदर्शन अहिले धार्मिक नेतृत्वको वैधतामाथिको प्रश्नमा परिणत भएको छ । प्रदर्शनकारीमाथि भएको दमनका विवरणहरू झन् भयावह छन् ।
अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’का अनुसार डिसेम्बर अन्त्यदेखि सुरु भएको प्रदर्शनमा हालसम्म ६,३०१ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ, जसमा ५,९२५ प्रदर्शनकारी रहेका छन् । इन्टरनेट बन्द गरिएका कारण रिपोर्ट हुन नसकेका थप १७,००० मृत्युको विवरणबारे अनुसन्धान भइरहेको छ । नर्वेस्थित ‘इरान ह्युमन राइट्स’ले भने मृतकको संख्या २५,००० नाघ्न सक्ने चेतावनी दिएको छ ।
यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी शासन इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गरेका छन् । सिनेटको वैदेशिक सम्बन्ध समितिमा बोल्दै उनले भने, ‘इरानी सरकारसँग प्रदर्शनकारीको मुख्य माग (ध्वस्त अर्थतन्त्रको सुधार) सम्बोधन गर्ने कुनै उपाय छैन ।’
गत जुनमा इरान र इजरायलबीच भएको १२ दिने युद्धका क्रममा अमेरिकाले इरानी परमाणु केन्द्रहरूमा ‘मिडनाइट ह्यामर’ अपरेशन अन्तर्गत आक्रमण गरेको थियो । ट्रम्पले उक्त आक्रमणको स्मरण गराउँदै अबको हमला ‘त्योभन्दा निकै खराब’ हुने चेतावनी दिएका छन् ।
बिबिसी भेरिफाईका अनुसार भूउपग्रह तस्बिरहरूले जोर्डनको मुवाफक एयर बेसमा कम्तीमा १५ वटा अमेरिकी लडाकु विमानहरू अवतरण गरेको पुष्टि गरेका छन् । यस्तै, कतार र डिएगो गार्सियामा पनि कार्गो र सैन्य विमानहरूको चहलपहल बढेको छ । अमेरिकी विमान वाहक जहाज ‘युएसएस अब्राहम लिंकन’ को नेतृत्वमा एक विशाल आर्माडा खाडी क्षेत्रमा पुगिसकेको रक्षा अधिकारीहरूले पुष्टि गरेका छन् ।
के नयाँ सम्झौता सम्भव छ?
सन् २०१८ मा ट्रम्पले इरानसँगको २०१५ को परमाणु सम्झौताबाट हात झिकेपछि दुई देशबीचको सम्बन्ध निरन्तर बिग्रँदै गएको छ । इरानका उप-विदेशमन्त्री काजेम घारिबाबादीले हाल अमेरिकासँग कुनै औपचारिक वार्ता नभइरहेको तर सन्देशहरूको आदानप्रदान भने भइरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय समुदायले खाडीमा बढ्दो यो सैन्य तनावले अर्को ठूलो युद्धको रूप लिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ट्रम्पले इरानलाई ‘परमाणु हतियार त्याग, क्षेप्यास्त्र कार्यक्रममा नियन्त्रण र प्रोक्सी समूहहरूलाई समर्थन बन्द’ गर्नुपर्ने सर्त राखेका छन्, जसलाई इरानले आफ्नो सार्वभौमिकतामाथिको प्रहार मान्दै आएको छ ।


+ There are no comments
Add yours