आकस्मिक सेवा सुधार्न निर्देशन

२३ असाेज, काठमाडौँ । वीर अस्पतालको आकस्मिक कक्षमा बिरामीले घन्टौँसम्म उपचारका लागि कुरेर उपचार नपाएको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चासो व्यक्त गर्दै सेवा सुधार्न अस्पताल प्रशासनलाई निर्देशन दिएको छ ।

गोरखापत्र दैनिकमा बुधबार प्रकाशित ‘घन्टौँ कुर्दा पनि मिलेन आकस्मिक सेवा’ शीर्षकको समाचारप्रति प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीलाई बोलाएर आकस्मिक उपचारसेवाको अवस्था सुधार्न निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयमा प्रतिष्ठानका उपकुलपति प्राडा विवेक आचार्य, निर्देशक डा. विकास नेपाललगायतका पदाधिकारीलाई बोलाएर आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीले घन्टौँसम्म बस्दा पनि उपचार नपाएर अन्य अस्पताल जानुपर्ने अवस्था किन भयो भन्ने विषयमा जानकारी लिएको थियो । गोरखापत्रमा समाचार प्रकाशित भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि वीर अस्पतालका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर आकस्मिक सेवाको अवस्थाबारे छलफल गरेको थियो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले आकस्मिक कक्षमा उपचार नपाएको विषयमा प्रधानमन्त्री कार्यालयमा समेत छलफल भएको जानकारी दिँदै मन्त्रालयले पनि अस्पतालका पदाधिकारीलाई बोलाएर सेवा सुधारका विषयमा छलफल गरेको बताउनुभयो । सचिव डा. देवकोटाले आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीलाई कुनै पनि बहानामा उपचारबाट वञ्चित गर्न नहुने निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले आकस्मिक सेवामा आउने बिरामीको उपचारलाई प्राथमिकतामा राखेर तत्काल सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी गराउनुभयो । मन्त्रालयले आकस्मिक उपचारका लागि आउने बिरामीलाई सहज रूपमा सेवा उपलब्ध गराउन छुट्टै काउन्टरको व्यवस्था गर्नसमेत अस्पताल प्रशासनलाई निर्देशन दिएको छ । छलफलमा वीर अस्पतालका पदाधिकारीले सम्बन्धित विशेषज्ञ चिकित्सक आउनेबेला बिरामी अस्पतालबाट बाहिरिएको बताएका थिए । अस्पताल प्रशासनले आकस्मिक कक्षमा त्यस दिन भिडभाड बढी हुनुका साथै दूरसञ्चारको तार चुडिएर सर्भरमा समस्या आएका कारण सेवा प्रवाहमा केही समस्या उत्पन्न भएको जानकारी गराएको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा आचार्यले अस्पतालका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा बोलाएर उक्त विषयमा छलफल गराएको जानकारी दिनुभयो । आकस्मिक कक्षमा यसअघि भन्दा धेरै सुधार गरिएको जानकारी दिँदै उहाँले पछिल्लो घटनाबाट पाठ सिक्दै आकस्मिक सेवामा आउने बिरामीलाई उपचार नपाई फर्किनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीर अस्पतालका निर्देशक डा. नेपालले आकस्मिक कक्षमा सेवा सुधार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक कक्षमा आउने बिरामीका लागि छुट्टै टोकनको व्यवस्था गरिएको छ । उहाँले सफ्टवेयरमा समेत सुधार गरी बिरामी आकस्मिक कक्षमा पुग्नेबित्तिकै जुन काउन्टर खाली छ, त्यहीँबाट टिकट प्राप्त गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यसअघि सर्लाहीको हरिवनका हेमसागर सुवेदी वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुग्नुभएको थियो । लामो समयसम्म उपचार नपाएपछि उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको र त्यहाँ तत्काल एपेन्डिक्ससम्बन्धी शल्यक्रिया गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours