०९ असाेज, काठमाडौँ । यस साताको अन्तिम दिन बिहीबारको शेयर बजार सामान्य घटेर बन्द भएको छ भने कारोबार रकममा कमी आएको छ । दशैँ नजिकिएसँगै शेयर कारोबार सुस्ताउन थालेको हो । दशैं अगाडि अब असोज १२ गते आइतबार एक दिन मात्र शेयर कारोबार खुला रहनेछ ।
यतिबेला किनबेच भएको शेयरको पैसा दशैं अघि नपाउने भएकाले र दशैको रौनक बढ्दै गएकाले शेयर लगानीकर्ताको रुची घटेको देखिन्छ । जसले गर्दा पछिल्ला केहि दिन यता कारोबार घटेको छ । अर्कातर्फ दशैपछि बजार बढ्ने अपेक्षा लगानीकर्तामा छ । सरकारले बजार सुधारका लागि सुझाब कार्यदल बनाएर काम गरेकाले बजार सुधारका लागि सरकारबाट केही न केही पहल हुने उनीहरुको विश्वास छ ।
बिहीबार नेप्से परिसूचक २.३५ अंक घटेर २६५२.०० विन्दुमा झरेको छ आजको कारोबार रकम ३ अर्बमा सीमित भएको छ । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । आज ३२७ स्टकको ३७ हजार ५६२ पटकको कारोबारमा ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँबराबरको ७९ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ ।
हिमस्टार उर्जा कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सिटि होटलको शेयरमूल्य यस दिन सर्वाधिक ७.५५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमाको सबैभन्दा धेरै ३० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।


+ There are no comments
Add yours