ट्रम्पमाथि खनिँदै ओबामाले भने, ‘इरान युद्धले तेलदेखि उपभोग्य वस्तुसम्मको मूल्य बढायो’

०८ कार्तिक, काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले इरान युद्ध थोपरेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् ।

उनले इरान युद्धका लागि ट्रम्पको आलोचना गर्दै यसले तेल, डिजेल र दैनिक उपभोग्य वस्तुको मूल्य बढाएको आरोप ओबामाले लगाएका छन्।

अमेरिकाको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै ओहायोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओबामाले इरानसँगको युद्धलाई मूल्यवृद्धिको प्रमुख कारणका रूपमा प्रस्तुत गरेका हुन्।

‘तेलको मूल्य बढ्नुको कारण यही हो। डिजेलको मूल्य बढ्नुको कारण पनि यही हो। लगभग सबै वस्तुको मूल्य बढ्नुको कारण यही हो,’ ओबामाले भने।

उनले इरानसँगको तनावलाई कूटनीतिक माध्यमबाट व्यवस्थापन गर्न सकिने आफ्नो प्रशासनको अनुभवसमेत स्मरण गराए।

सन् २०१५ मा आफ्नो नेतृत्वमा भएको इरान आणविक सम्झौताले तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न सहयोग गरेको उनको दाबी थियो।

‘इरानसँग आणविक हतियार थिएनन्, किनभने मैले यस्तो सम्झौता गरेको थिएँ, जसले इरानलाई आणविक हतियार बनाउनबाट रोकिरहेको थियो। त्यसका लागि मैले क्षेप्यास्त्र प्रहार गर्नुपरेन। कूटनीतिमा संलग्न भए पुग्यो,’ ओबामाले भने।

अहिले इरानले विश्व बजारमा तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्यमा प्रभावकारी नियन्त्रण वा अवरोध गर्ने क्षमता हासिल गरेको उनले बताए । यसले विश्व ऊर्जा बजारमा अनिश्चितता बढाएको उनको भनाइ थियो।

ट्रम्पले किन तोडेका थिए आणविक सम्झौतार ?

ओबामा प्रशासनको पहलमा सन् २०१५ मा इरान र विश्वका प्रमुख शक्तिबीच संयुक्त व्यापक कार्ययोजना ९जेसीपीओए० नामक आणविक सम्झौता भएको थियो।

सम्झौताअनुसार इरानले युरेनियम प्रशोधनमा सीमा स्वीकार गर्ने र आफ्नो आणविक कार्यक्रमको अन्तर्राष्ट्रिय निरीक्षण हुन दिने सहमति गरेको थियो। त्यसको बदलामा इरानमाथिका केही आर्थिक प्रतिबन्ध खुकुलो पार्ने व्यवस्था गरिएको थियो।

तर ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा अमेरिकालाई उक्त सम्झौताबाट अलग गराए र इरानमाथि प्रतिबन्ध पुनः कडा बनाए।

ट्रम्प प्रशासनले सम्झौता इरानको आणविक कार्यक्रम र क्षेत्रीय गतिविधि नियन्त्रण गर्न पर्याप्त नभएको तर्क गर्दै आएको थियो।

होर्मुज किन महत्त्वपूर्ण ?

होर्मुज जलडमरूमध्य विश्वको ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो। खाडी क्षेत्रका प्रमुख तेल उत्पादक देशबाट विश्व बजारमा जाने ठूलो परिमाणको कच्चा तेल र पेट्रोलियम पदार्थ यही मार्ग हुँदै ढुवानी हुन्छ।

यस क्षेत्रमा युद्ध, सैन्य तनाव वा जहाज आवागमनमा अवरोध उत्पन्न हुँदा अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने र मूल्य बढ्ने जोखिम रहन्छ।

तेलको मूल्य बढ्दा यातायात, ढुवानी, उत्पादन र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको लागतमा समेत असर पर्न सक्छ।

ओबामाको पछिल्लो अभिव्यक्ति ट्रम्प प्रशासनको इरान नीतिमाथिको राजनीतिक आलोचनाका रूपमा आएको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours