०२ असाेज, काठमाडौँ । गत भदौ १० गते आएको विनासकारी भोटेकोशी बाढीका कारण विस्थापित भएका प्रभावितहरू आश्रयस्थल छाडेर अस्थायी बसोबासतर्फ लाग्न थालेका छन्। होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन्।
बाढी आएलगत्तै सरकारले उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने कामलाई प्राथमिकता दिएको थियो। त्यसपछि खोज तथा उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टर व्यवस्थापनमा जोड दिइएको थियो।
प्रभावितको सङ्ख्या घटेर ८ सय ३२ मा
भदौ १२ गते नुवाकोटका १२ स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकामा भदौ २२ गते यो सङ्ख्या २८ पुगेको थियो। सो दिन २ हजार ६ सय ३७ जना प्रभावित आश्रयस्थलमा रहेकामा अहिले घटेर ८ सय ३२ मा झरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले दिए।
होल्डिङ सेन्टर छाडेर प्रभावित अस्थायी बसोबासको बन्दोबस्तमा जुट्न थालेका छन्। बेपत्ता भएकाहरूको खोजी जारी रहेकै बीच आफन्त नभेटिएपछि अन्तिम संस्कारका लागि मानिसहरू जान थालेकाले पनि सङ्ख्या घटेको हो।
विदुर नगरपालिकाको राहत प्याकेज
विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ। नगरपालिकाले कोठा भाडाबापत मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख राजन श्रेष्ठले बताए।
सङ्घीय सरकारले पनि प्रतिपरिवार मासिक न्यूनतम १५ हजार रुपैयाँ दिने घोषणा गरेकाले दोहोरोपन नहोस् भनेर भाडाबापतको रकम भने दिन बाँकी छ। सरकारी घोषणासँगै प्रभावितहरूले पनि होल्डिङ सेन्टर छाडेर अस्थायी बसोबासको प्रबन्ध मिलाउन थालेका छन्।
३१ प्रतिशत प्रभावित अस्थायी आवासको पर्खाइमा
उपयुक्त स्थानमा कोठा नपाउने वा कोठामा बस्न नसक्ने प्रभावितका लागि सरकारले अस्थायी संरचना निर्माण गर्ने तयारी गरेको छ। सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले प्रश्नावलीमार्फत २ हजार २७ परिवारसँग विवरण सङ्कलन गरेको छ।
आयोजना प्रमुख शशेन्द्र घिमिरेका अनुसार विवरण दिनेमध्ये ३१ प्रतिशत प्रभावितले सरकारले निर्माण गर्ने अस्थायी आवासमा बस्न चाहेको बताए। भोटेकोशी बाढीपछि नुवाकोटमा बसोबास गरिरहेका अधिकांश प्रभावितसँग आफ्नै नाममा सुरक्षित जग्गा नभएकाले सरकारले अस्थायी संरचना बनाइदिए सहज हुने बताएका छन्।


+ There are no comments
Add yours