आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

०२ असाेज, काठमाडौँ । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

२४ कात्तिक १९७२ सालमा काठमाडौंको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

२००७ साल अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

२०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताएका थिए ।

२०२५ सालमा बीपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरे । २०३३ सालमा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours