२४ भदाै, काठमाडाैँ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयर गिभर) का रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन मागेको छ । विभागका अनुसार नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलले एक हजार ४५४ जना नेपाली सहायक श्रमिकका लागि पुनः आवेदन मागेको हो ।
इजरायलले तेस्रो चरणमा दुई हजार तीन सय जना केयर गिभरमा काम गर्ने सहायक श्रमिकको माग गरेकोमा गएको असारमा नेपालस्थित इजरायली दूतावासले चिट्ठाबाट ८३६ जना छनोट गरेको थियो । विभागका प्रवक्ता बिन्दा आचार्यले यसअघि इजरायल सरकारबाट माग हुन आएको सङ्ख्यामा एक हजार ४६४ जना अपुग भएपछि विभागले इजरायलको केयर गिभरमा काम गर्न जानेका लागि पुनः आवेदन माग भएको जानकारी गराउनुभयो । उहाँका अनुसार मागमध्ये एक हजार १२२ जना महिला र ३३२ जना पुरुष छनोट गरिने छ ।
आवेदन भर्न इच्छुकले २५ वर्षदेखि ४५ वर्षसम्मका उम्मेदवारले २३ गते राति १२ बजेदेखि २६ गते १२ बजेसम्म आवेदन दिन सक्ने व्यवस्था गरेको विभागले जनाएको छ । विभागका अनुसार छनोट भएका नेपाली नागरिकले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा वा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक श्रमिकका रूपमा काम गर्नुपर्ने छ ।
सम्झौता अनुसार प्रारम्भिक करार अवधि एक वर्षको हुने छ र रोजगारदाताले चाहेमा थप गर्दै बढीमा पाँच वर्षसम्मको अधिकतम अवधि रहने सुविधा छ ।
नेपाल र इजरायल सरकारबिच २०७७ साल असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा सम्झौता भएको थियो । हालको युवा, श्रम तथा रोजगार मन्त्रालय र साबिकको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली दक्ष श्रमिक पठाउनेसम्बन्धी निर्देशिका, २०७८ जारी गरी सो अनुसार इजरायलमा श्रमिक पठाउँदै आएको छ ।


+ There are no comments
Add yours