१० कार्तिक, काठमाडौँ । आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै चुस्त सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार परिसर र मातहतका कार्यालयहरूबाट यथेष्ट जनशक्ति खटाएर सुरक्षा मिलाइएको हो।

जसअन्तर्गत त्रिवि मैदानको मुख्य प्रवेशद्वारमा ७० जना, दोस्रो गेटमा २०६ जना, तेस्रो गेटमा २११ जना र चौथो गेटमा २०६ जना प्रहरी तैनाथ गरिएका छन्। यसका साथै सादा पोसाकमा ४० जना, पार्किङ स्थलमा १५ जना र अन्य क्षेत्रमा समेत बाँकी प्रहरी जनशक्ति परिचालन गरिएको छ।
आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिता अवधिभर खेलाडी, दर्शक तथा सरोकारवालाको सुरक्षा सुनिश्चित गर्न र खेल गतिविधिलाई व्यवस्थित एवं मर्यादित बनाउन उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।


+ There are no comments
Add yours