एनपिएल खेल्न काठमाडौं आएका पाकिस्तानी कप्तान दुई दिनमै फर्कंदै, के हो मुख्य विवाद?

०९ कार्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न काठमाडौं आइपुगेका पाकिस्तानको टी–२० टोलीका कप्तान साहिबजादा फरहान स्वदेश फर्कने भएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनलाई फिर्ता बोलाएपछि कर्णाली याक्सबाट खेल्ने तयारीमा रहेका फरहान आजै पाकिस्तान फर्कने तयारीमा छन्।

कर्णाली याक्सका एक अफिसियलका अनुसार फरहानलाई पिसबीले इमेलमार्फत फिर्ता बोलाएको हो। उनी दुई दिनअघि मात्रै एनपिएल खेल्न नेपाल आइपुगेका थिए।

पिसिबीले फरहानसहित एनपिएलमा सहभागी हुने पाकिस्तानी खेलाडीलाई प्रतियोगिता खेल्न आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिन अस्वीकार गरेपछि उनीहरूको सहभागिता अन्योलमा परेको थियो।

यसअघि पिसिबीले एनओसीका लागि प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर मागेको समाचार सार्वजनिक भएको थियो। उक्त रकम कर्णाली याक्स र फरहानका एजेन्टले आधा–आधा बेहोर्ने सहमति भएको बताइएको थियो।

तर, श्रीलंकाविरुद्धको एकदिवसीय शृंखलाका लागि पाकिस्तानी टोलीमा समावेश गरिएको भन्दै पिसिबीले इमेल पठाएपछि फरहान स्वदेश फर्कन लागेका हुन्।

कर्णाली याक्सका अफिसियलका अनुसार श्रीलंकाविरुद्धको खेलपछि फरहान पुनः नेपाल फर्कने सम्भावना पनि छ। त्यसका लागि पिसिबीसँग निरन्तर छलफल गरिनेछ।

हुसेन तलातलाई नेपालमै राख्ने प्रयास

फरहान फर्कने तयारीमा रहे पनि कर्णाली याक्सले अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई भने फिर्ता पठाउन चाहेको छैन। तलातको एनपिएल सहभागिताबारे पिसिबीसँग संवाद भइरहेको कर्णालीका अफिसियलले बताएका छन्।

पिसिबीले पाकिस्तानी खेलाडीलाई एनओसी नदिने निर्णय गरेपछि एनपिएलमा उनीहरूको सहभागिताबारे प्रश्न उठेको थियो। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि एनओसीबिना विदेशी खेलाडीले प्रतियोगिता खेल्न नपाउने स्पष्ट पारेका थिए।

एनओसी रोक्नुको कारणबारे शुल्कको चर्चा रहे पनि पिसिबीले लिखित रूपमा २५ हजार डलर मागेको हो वा होइन भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

एनपिएल आजदेखि सम्म कठमाडौंमा सञ्चालन हुँदैछ। प्रतियोगितामा सहभागी हुन फरहानसहितका पाकिस्तानी खेलाडी अनुबन्ध भएका थिए। तर, पिसिबीको निर्णयले उनीहरूको सहभागितामा अनिश्चितता थपेको छ।

फरहान श्रीलंकाविरुद्धको खेलपछि नेपाल फर्कन पाउने वा नपाउने भन्ने विषय भने पिसिबीसँगको छलफलपछि मात्रै स्पष्ट हुनेछ।

को-को छन् एनपिएल खेल्ने पाकिस्तानी खेलाडी?

एनपिएलमा सहभागी हुने पाकिस्तानी खेलाडीको सूचीमा पाकिस्तानका टी-२० कप्तान साहिबजादा फरहान र तलातसहित हैदर अली, हुनेन शाह, इफ्तिखार अहमद, हसन अली र उसामा मिर छन्।

यीमध्ये कुनै पनि खेलाडी एनपिएल सञ्चालन हुने मितिसँग जुध्ने पाकिस्तानको राष्ट्रिय टोलीको कार्यक्रममा समावेश छैनन्।

टी-२० लिग खेल्न पाउने नयाँ व्यवस्थाको अवस्था के छ?

यसै वर्ष पिसिबीले केन्द्रीय सम्झौताको नयाँ संरचना सार्वजनिक गरेको थियो। उक्त संरचनामा एकदिवसीय र टी-२० तथा टेस्ट क्रिकेटका खेलाडीलाई छुट्टाछुट्टै वर्गमा राखिएको थियो।

त्यसमा ‘फर्म्याट ट्र्याक डी’ नामको श्रेणी पनि समावेश थियो, जसअन्तर्गतका खेलाडीलाई टी-२० विशेषज्ञ मानिने व्यवस्था थियो। सैद्धान्तिक रूपमा यस श्रेणीका खेलाडीले पिसिबीले तोकेको अन्तर्राष्ट्रिय जिम्मेवारीसँग नजुध्ने गरी आफूले चाहेका विभिन्न टी-२० लिग खेल्न पाउने अपेक्षा गरिएको थियो।

तर, पिसिबीले अहिलेसम्म कुन खेलाडी कुन श्रेणीमा पर्छन् भन्ने सार्वजनिक गरेको छैन। नयाँ सम्झौता संरचना पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ वा छैन भन्ने पनि स्पष्ट छैन।

एनपिएल खेल्न लागेका कुनै पनि पाकिस्तानी खेलाडी अहिले पाकिस्तानको टेस्ट वा एकदिवसीय टोलीको योजनामा छैनन्। त्यसैले अन्तर्राष्ट्रिय खेल तालिकासँग जुधेको विषयभन्दा पनि एनओसी रोक्नुको वास्तविक कारण र शुल्कसम्बन्धी चर्चाले अहिले उनीहरूको सहभागितालाई अन्योलमा पारेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours