सुरुङदेखि दुर्गम बस्ती र नदी किनारसम्म २३ हजारभन्दा बढी जनशक्ति परिचालित, पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, तीन शव फेला, हवाई माध्यमबाट तीन हजार ९३५ जनाको उद्धार
१९ भदौ, काठमाडौँ । भोटेकोशी हिमनदीले त्रिशूली कोरिडोरसम्म सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि राज्यले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको छ ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, प्राविधिक तथा स्वदेशी विदेशी विशेषज्ञसहित २३ हजारभन्दा बढी जनशक्ति प्रभावित क्षेत्रमा परिचालित छन् । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वसम्म सुरक्षा तथा उद्धार टोलीले जमिन र हवाई माध्यमबाट खोज तथा उद्धार जारी छ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल बिहीबार त्रिशूली क्षेत्र तथा सुरुङमा भइरहेको संयुक्त खोज तथा उद्धारको स्थलगत निरीक्षण गरी सबै निकायबिच प्रभावकारी समन्वय र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले सुरुङभित्र रहेका सम्भावित व्यक्तिको उद्धारका लागि अवरोध हटाउने काम निरन्तर भइरहेको बताउनुभयो । “सुरुङभित्रको जीवन उद्धारका लागि हाम्रो प्रयास निरन्तर जारी छ । फेला नपारुन्जेल खोज तथा उद्धार कार्य जारी रहने छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा भने उद्धार टोलीले महत्वपूर्ण प्रगति गरेको छ । नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले पाँच वटा एक्साभेटर प्रयोग गरी सुरुङको आउटलेटमा थुप्रिएको लेदो र माटो हटाएको छ ।
बाढीका कारण मानिस फसेको हुन सक्ने जलविद्युत् आयोजनाका सुरुङलाई उच्च प्राथमिकतामा राखिएको छ । लाङटाङ हाइड्रो, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ र माथिल्लो त्रिशूली–१ लगायतका पाँच आयोजनाका सुरुङमा उद्धार टोली प्रवेश गरी खोजी गरिरहेको छ । सुरुङभित्र थुप्रिएको लेदो, ढुङ्गा, बालुवा र जमेको पानी हटाउँदै उद्धारकर्मी सम्भावित स्थानसम्म पुग्ने प्रयासमा छन् ।
चार हजारको हवाई उद्धार
बाढीले सडक तथा स्थलमार्ग अवरुद्ध भएका कारण हवाई उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनासहित १५ वटा हेलिकोप्टर परिचालन गरी प्रभावित क्षेत्रबाट नागरिकको उद्धार, शव व्यवस्थापन तथा राहत र उद्धार सामग्री ओसारपसार भइरहेको छ । नेपाली सेनाले बिहीबार साँझ ७ बजेसम्म थप १३ जनाको हवाई उद्धार गरेको छ । सेनाका अनुसार हालसम्म २७३ जना विदेशी नागरिकसहित तीन हजार ९३५ जनाको हवाई माध्यमबाट उद्धार गरिएको छ । बाढीपछि उद्धार, सुरक्षा, शव व्यवस्थापन र
राहतका लागि नेपाली सेनाले ठुलो जनशक्ति परिचालन गरेको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वसम्म नौ हजार तीन सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन् । सैनिक टोलीले प्रभावित जङ्गल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै सम्भावित प्रभावितको खोजी गर्नुका साथै स्थानीयलाई सुरक्षा प्रत्याभूति दिइरहेको छ । चिकित्सक अधिकृतसहितको टोलीले प्रभावित बस्ती तथा होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा र सङ्क्रमण रोकथामसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
डिएनए सङ्कलन सुरु
बाढीमा परी सम्पर्कविहीन भएका तथा पहिचान खुल्न नसकेका शवको पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षण प्रक्रिया अगाडि बढाएको छ । नेपाल प्रहरी अस्पतालका अनुसार बिहीबारसम्म एक हजार १४३ शव र ६५१ आफन्त गरी एक हजार ७९४ जनाको डिएनए नमुना सङ्कलन गरिएको छ । सङ्कलित नमुनालाई शव तथा मानव अवशेषबाट सङ्कलित डिएनएसँग तुलना गरी पहिचान गरिने छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले सम्पर्कविहीन व्यक्तिका बावु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्ने बताउनुभयो । नमुना नेपाल प्रहरी अस्पताल, महाराजगन्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा दिन सकिने व्यवस्था गरिएको छ ।
यातायात पुनस्र्थापना प्रयास
बाढीले सडक तथा पुल क्षतिग्रस्त बनाएपछि उद्धार तथा राहत सामग्री पुर्याउन कठिनाइ भएको अवस्थामा यातायात सम्पर्क पुनस्र्थापनाको काम पनि सँगसँगै अघि बढाइएको नेपाली सेनाले जनाएको छ ।
देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङतर्फका ५५ जना खटिएका छन् । उनीहरूले पुल जडानका लागि ‘बेस’ निर्माण गरिरहेका छन् । गजुरीमा रहेको एक्रो ब्रिज त्रिशूलीतर्फ लैजाने काम भइरहेको जनाइएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा राहत तथा उद्धार र व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेको बताउनुभयो ।
थप कर्मचारी पठाइँदै
मन्त्रालयले बाढीका कारण सृजित विपत् व्यवस्थापन कार्यका लागि थप कर्मचारी बाढी प्रभावित क्षेत्रका स्थानीय तहमा खटाएको छ । विपत् व्यवस्थापनमा सहजीकरण र समन्वय गर्न विभिन्न निकायमा कार्यरत कर्मचारीलाई विपत् न्यूनीकरण व्यवस्थापन ऐन अनुसार विपत् क्षेत्रमा खटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विपत्, राहत, उद्धार प्रतिकार्यमा गाउँपालिका र नगरपालिकामा उपसचिवस्तरका कर्मचारी खटाएको हो ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ गरी १५ वटा स्थानीय तहमा प्रशासन र राजस्व सेवाका गरी ३० जना उपसचिव र आवश्यकताका आधारमा खटनपटन गर्न सकिने गरी नौ जना शाखा अधिकृतलाई वैकल्पिक कर्मचारीका रूपमा खटाइएको छ ।
मन्त्रालयका उपसचिव झविन्द्र खनालले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापना कार्यलाई सहयोग गर्ने गरी मन्त्रालयले ३९ जना थप कर्मचारी बाढी प्रभावित क्षेत्रमा खटाइएको बताउनुभयो । सरकारले यसअघि नै उक्त पाँच जिल्लाका १५ वटा स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सोही अनुसार राहत, उद्धार र पुनस्र्थापनाको कार्य अगाडि बढाइसकेको छ ।


+ There are no comments
Add yours