०१ भदौ, काठमाडौँ । खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले आज भदौ १ देखि ग्यास उद्योगका आधिकारिक डिलर तथा बिक्रेतामार्फत नियमित बिक्री–वितरण सुरु गरेको छ। आपूर्ति प्रणालीमा देखिएको अव्यवस्था हटाउन निगमले डिलरमार्फत वितरणमा कडाइ गर्नुका साथै बिक्रीको दैनिक विवरण अनिवार्य गरेको छ।
निगमका अनुसार सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेता तथा वितरकमार्फत मात्रै ग्यास बिक्री हुनेछ। उद्योगले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई उपलब्ध गराउनुपर्नेछ।
बिक्रेता तथा वितरकले पनि दैनिक बिक्री भएको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसमेतको विवरण सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन निगममा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
निगमले अत्यावश्यक घरेलु प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई बिक्रीमा प्राथमिकता दिन उद्योग तथा बिक्रेतालाई निर्देशन दिएको छ। ग्यासको ढुवानी तथा वितरणमा सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत सहजीकरण गर्न आग्रह गरिएको छ।
बिक्री–वितरणको अनुगमनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोली परिचालन गरिने भएको छ। नजिकको बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक भएका उपभोक्ताले निगमको क्विक रेस्पोन्स टिममा सम्पर्क गर्न सक्नेछन्। क्यूआरटीका नम्बर ९८५१४५५१२४ र ९८५१४५५१२८ छन्।
नेपाल आयल निगमका अनुसार साउनमा ५४ हजार ५ सय ५ टन एलपी ग्यास आयात भएको छ। यो एक महिनामा भएको हालसम्मकै उच्च आयात हो। उक्त ग्यासबाट ३८ लाख ३८ हजार ४ सय १० सिलिन्डर भरेर बजार पठाइएको निगमको तथ्यांक छ। सामान्य अवस्थामा मुलुकभर मासिक करिब ३० लाख सिलिन्डर ग्यास खपत हुने गर्छ।


+ There are no comments
Add yours