संरक्षणको पर्खाइमा फर्पिङ (तस्बिरहरू)

०१ भदौ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४१औँ वार्षिकोत्सव मनाइरहँदा नेपालको विद्युत् विकासको इतिहास भने एक शताब्दीभन्दा लामो यात्रासँग जोडिएको छ । नेपालमा आधुनिक विद्युत् उत्पादनको सुरुआत गराउने फर्पिङ जलविद्युत् आयोजना अहिले भने संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

दक्षिणकाली नगरपालिका–१ फर्पिङमा रहेको फर्पिङ जलविद्युत् केन्द्र नेपालको पहिलो तथा दक्षिण एसियाकै दोस्रो जलविद्युत् आयोजना मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको पहलमा निर्माण सुरु गरिएको आयोजना विसं १९६८ जेठ ९ गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।

करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनामा २५०–२५० किलोवाट क्षमताका दुई टर्बाइन जडान गरिएको थियो । ती दुई टर्बाइनबाट कुल ५०० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । त्यतिबेला सडक तथा आधुनिक यातायातको सुविधा नभएकाले आयोजनाका लागि आवश्यक उपकरण बेलायत र युरोपबाट कलकत्ता हुँदै नेपाल ल्याएर भरिया, खच्चड र डोकोमार्फत फर्पिङ पुर्‍याइएको थियो ।

तीनवटा साना खोल्सा तथा मुहानको पानी संकलन गरी विद्युत् उत्पादन गरिएको थियो। उत्पादन भएको विद्युत् तत्कालीन दरबार, राणा परिवार, सरकारी कार्यालय तथा काठमाडौंका केही क्षेत्रमा वितरण गरिएको थियो । फर्पिङबाट उत्पादन भएको विद्युत्लाई त्यसबेला ‘चन्द्रज्योति’ नाम दिइएको थियो ।

छिमेकी भारतमा सन् १८९७ मै दार्जिलिङको सिद्रापोङ जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको थियो। त्यसको केही वर्षपछि नेपालमा फर्पिङ आयोजना सञ्चालनमा आएको थियो। सीमित स्रोत र प्रविधिका बीच निर्माण भएको यो आयोजना नेपालको आधुनिक ऊर्जा विकासको पहिलो आधार बनेको थियो ।

समयक्रमसँगै नेपालमा विद्युत् उत्पादनको क्षमता निरन्तर बढ्दै गयो। कुलेखानी, त्रिशूली, देवीघाट, मर्स्याङ्दी, कालीगण्डकी ‘ए’, मध्य मर्स्याङ्दी हुँदै माथिल्लो तामाकोशीसम्म आइपुग्दा नेपालको विद्युत् प्रणालीले ठूलो फड्को मारेको छ।

हाल नेपालमा नेपाल विद्युत् प्राधिकरण, त्यसका सहायक कम्पनी तथा निजी क्षेत्रबाट ठूलो परिमाणमा विद्युत् उत्पादन भइरहेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पछिल्ला विवरणअनुसार २०५ वटा जलविद्युत् आयोजनाबाट करिब ३ हजार ७६३ मेगावाट र २५ वटा सौर्य आयोजनाबाट करिब १४२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। उद्योगका सह–उत्पादनसमेत जोड्दा सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता करिब ३ हजार ९११ मेगावाट पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीमार्फत मात्रै माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन, चिलिमे र माथिल्लो साञ्जेन गरी ६४६.४ मेगावाट क्षमता राष्ट्रिय प्रणालीमा जोडिएको छ। तीमध्ये ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी हाल सञ्चालनमा रहेको नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।

यसरी ५०० किलोवाटबाट सुरु भएको नेपालको विद्युत् यात्रा अहिले हजारौँ मेगावाटको क्षमतामा पुगेको छ। वर्षायाममा नेपालले भारततर्फ विद्युत् निर्यातसमेत गर्न थालेको छ। तर, नेपालको ऊर्जा यात्राको पहिलो पाइला भने संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ।

शतवार्षिकी स्मारकसमेत जीर्ण

फर्पिङ जलविद्युत् केन्द्र सञ्चालनमा आएको सय वर्ष पूरा भएको अवसरमा विसं २०६७ मा शतवार्षिकी महोत्सव आयोजना गरिएको थियो । सोही क्रममा केन्द्र परिसरमा शतवार्षिकी स्मारक निर्माण गरिएको थियो ।

फर्पिङलाई ऊर्जा संग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना त्यसबेलादेखि नै अघि सारिँदै आएको छ । तर अहिले शतवार्षिकी स्मारक क्षेत्र नै संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

स्मारक वरपर झारपात र घाँस बढेका छन्। स्मारकसम्म पुग्ने बाटोसमेत घाँसले ढाकिएको अवस्था छ। पर्यटक तथा अध्ययनकर्ताका लागि आकर्षणको केन्द्र बन्नुपर्ने ऐतिहासिक स्थल अहिले उचित संरक्षण र सरसफाइको पर्खाइमा रहेको देखिन्छ।

केन्द्र परिसरमा रहेका तत्कालीन प्रशासनिक तथा आवासीय भवन, गोदाम, घोडा तबेलालगायत ऐतिहासिक संरचनासमेत जीर्ण बन्दै गएका छन् । कतिपय संरचनाका इँटा तथा भग्नावशेष छरपस्ट अवस्थामा छन् । पुराना मेसिन तथा टर्बाइन भने तुलनात्मक रूपमा सुरक्षित अवस्थामा रहेका छन् ।

विद्युत् उत्पादन बन्द, खानेपानीमा प्रयोग

फर्पिङ जलविद्युत् केन्द्रबाट अहिले नियमित विद्युत् उत्पादन भइरहेको छैन । विद्युत् उत्पादनका लागि प्रयोग हुने पानी पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा खानेपानीका रूपमा प्रयोग हुन थालेपछि विद्युत् उत्पादन रोकिएको हो ।

केन्द्रको पानी भैंसेपाटी, खोकना, बुङमती, छम्पी, जावलाखेल, कुपण्डोल, कुमारीपाटीलगायत क्षेत्रमा वितरण हुँदै आएको छ ।

विद्युत् उत्पादन बन्द भए पनि फर्पिङमा रहेका पुराना टर्बाइन, जेनेरेटर, नियन्त्रण प्रणालीलगायत उपकरणले नेपालको प्रारम्भिक विद्युत् प्रविधिको इतिहास बोकेका छन्। त्यसैले फर्पिङलाई बन्द विद्युत् आयोजना मात्र नभई नेपालको ऊर्जा विकासको महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले फर्पिङलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। आयोजनाको स्वामित्वमा रहेको करिब ३२४ रोपनी जग्गालाई उपयोग गरी हरियाली पार्क, पुस्तकालय, बाल उद्यान तथा रेस्टुरेन्टलगायत संरचना निर्माण गर्ने गुरुयोजनासमेत अघि बढाइएको छ ।

तर गुरुयोजनाको कार्यान्वयन अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको ‘डाइमन्ड जुब्ली पार्क’ समेत यही क्षेत्रको सम्भावनासँग जोडिएको छ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक विद्युत् गृह, पुराना मेसिन तथा जलाशयलाई एकीकृत गरी व्यवस्थित रूपमा विकास गर्न सके फर्पिङ काठमाडौं उपत्यकाको महत्वपूर्ण ऊर्जा–पर्यटन गन्तव्य बन्न सक्ने देखिन्छ।

एक शताब्दीभन्दा लामो समयअघि ५०० किलोवाट विद्युत् उत्पादन गरेर फर्पिङले नेपालमा आधुनिक ऊर्जा विकासको ढोका खोलेको थियो। त्यही सुरुआतबाट अघि बढेको नेपालको विद्युत् क्षेत्र आज हजारौँ मेगावाट उत्पादन क्षमतासम्म आइपुगेको छ।

तर हजारौँ मेगावाट विद्युत् उत्पादन गर्ने चरणमा पुगिसक्दा नेपालको ऊर्जा यात्राको पहिलो अध्याय नै संरक्षणविहीन बन्नु विडम्बनापूर्ण देखिएको छ।

फर्पिङका पुराना मेसिन, जलाशय, पाइपलाइन, प्रशासनिक भवन, आवासीय संरचना तथा शतवार्षिकी स्मारकलाई एकीकृत रूपमा संरक्षण गर्न सके यसले नयाँ पुस्तालाई नेपालको विद्युत् विकासको इतिहास बुझाउने महत्वपूर्ण माध्यम बन्न सक्छ।

नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सव मनाइरहँदा फर्पिङले नेपालको ऊर्जा विकाससँग जोडिएको एउटा महत्वपूर्ण प्रश्नसमेत उठाएको छ—हजारौँ मेगावाट विद्युत् उत्पादन गर्ने आधारशिला बनेको ५०० किलोवाटको पहिलो विद्युत् गृहलाई हामीले कति सुरक्षित राख्न सकेका छौँ?

फर्पिङ अहिले विद्युत् उत्पादनको सक्रिय केन्द्र नरहे पनि नेपालको ऊर्जा इतिहासको पहिलो उज्यालो बोकेको जीवित सम्पदा हो। त्यसैले यसको संरक्षण एउटा पुरानो विद्युत् गृह जोगाउने विषय मात्र नभई नेपालको आधुनिक ऊर्जा यात्राको इतिहास सुरक्षित राख्ने महत्वपूर्ण जिम्मेवारीसमेत हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours