१५ असाेज, काठमाडौँ । दक्षिण कोरियाले अमेरिकामा करिब २०० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गर्ने तयारी गरेको छ। अमेरिकी ऊर्जा क्षेत्रका परियोजनामा ठूलो लगानी गर्ने योजनाअन्तर्गत अलास्काको लामो समयदेखि चर्चामा रहेको एलएनजी परियोजनामा मात्रै ५४ अर्ब डलर लगानी गर्ने तयारी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा दक्षिण कोरियाको लगानीसम्बन्धी घोषणा गर्ने अपेक्षा गरिएको छ। ब्लूमबर्गका अनुसार दक्षिण कोरियाको प्रस्तावित लगानी ऊर्जा क्षेत्रसहित अमेरिकाका विभिन्न परियोजनामा जानेछ।
५४ अर्ब डलर लगानीको प्रस्ताव अलास्का नर्थ स्लोपबाट प्राकृतिक ग्यास उत्पादन गरी एन्कोरेज नजिकैको तरलीकरण केन्द्रसम्म पुर्याउने परियोजनासँग सम्बन्धित छ। परियोजनाअन्तर्गत करिब ८०० माइल लामो पाइपलाइन निर्माण गरी ग्यास तरलीकरणपछि एसियाली बजारमा निर्यात गर्ने योजना छ।
अलास्का राज्यको परियोजनामा २५ प्रतिशत हिस्सा रहेको छ भने बाँकी हिस्सा परियोजना विकासकर्ता ग्लेनफार्न ग्रुपको स्वामित्वमा रहेको बताइएको छ। परियोजना अघि बढे पनि सबैभन्दा छिटो सन् २०३० सम्म मात्रै एलएनजी बजारमा आउन सक्ने अनुमान गरिएको छ।
यसअघि पनि अलास्कामा यस्तो परियोजना अघि बढाउने प्रयास भएको थियो। तर उच्च लागत र एलएनजीको सम्भावित बजार मागबारे प्रश्न उठेपछि परियोजना अगाडि बढ्न सकेको थिएन।
ब्लूमबर्गले विषयसँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाले अमेरिकामा कुल २०० अर्ब डलर लगानी घोषणा गर्ने अपेक्षा गरिएको जनाएको छ। यो लगानी दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने र अमेरिकी ऊर्जा खरिद बढाउने प्रतिबद्धताको हिस्सा हो।
उक्त प्रतिबद्धता सन् २०२५ जुलाईमा ट्रम्पसँग भएको व्यापार सम्झौतासँग जोडिएको छ। सम्झौताअनुसार दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा १५ प्रतिशत भन्सार शुल्क कायम गरिएको थियो।
दक्षिण कोरियाले अमेरिकाका आठवटा आणविक ऊर्जा संयन्त्रमा समेत लगानी गर्ने अपेक्षा गरिएको वाल स्ट्रिट जर्नलले यसै महिनाको सुरुमा जनाएको थियो।


+ There are no comments
Add yours